हावाहुरीका कारण आगलागी पीडित भोकै, बिरामी पर्ने पिरलो

प्रकाशित समय 6:04:00 PM
 सिरहा, ४ बैशाख । सिरहाको सखुवानन्कारकट्टी  गाउँपालिका ४ सिमराहास्थित दलित बस्तीका आगलागी पीडितलाई विभिन्न संघसंस्थाले राहत उपलव्ध गराउन थालेका छन् । तर, स्थायी बसोबासका लागि व्यवस्था नहुँदा थप पीडामा आगलागी पीडित छन् ।
शनिवारको हावाहुरीसँगै वर्षात हुँदा पानीले राहतमा उपलव्ध खाद्यान्न समेत भिजेपछि आगलागी पीडित दुई दिन भोकैं बस्न बाध्य भए ।
‘दाल, चामल, तरकारी सबैथोक राहत पाएका थियौं, शनिबार बिहान १० बजेदेखिको हावाहुरी र पानीले पाकेको खाना खान सकेनौं भने कतिपयले पकाएर खान सकेनन’, आगलगागी पीडित बद्री मण्डल खंगले भने, ‘खाना पकाउने ठाउँ अभावसँगै पकाउने इन्धन दाउरा समेत नभएको र झिंगटी समेत पानीले रुझ्दा  भोकै बस्न बाध्य भयौं ।’
शनिबार बिहानैदेखि हावाहुरीसँगै दिनभरजसो वर्षात भएपछि आगलागी पीडितलाई बासको समस्या भएको छ । हावाहुरीले रेडक्रसलगायत बिभिन्न संघसंस्थाले बितरण गरेको त्रिपालको टहरा समेत उजाडिदिएको छ । ‘त्रिपाल बेरेर टहरा बनाएका थियौं, त्यो समेत हावाहुरीले उजाडेको छ’,  अग्नीपीडित हरेराम मण्डलले भने ‘त्रिपाल पनि उजाडिएको र ओसिलो ठाउँ अभावमा रात काट्न समेत सकेका छैनौं ।’
आगलागी पीडितले तत्काल अस्थायी बसोबासका लागि छाप्रो हाल्न जस्तापाता, बाँस उपलव्ध गराईदिए आफैहरु घर बनाउन सक्रिय हुने बताएका छन् । ‘बाँस र जस्तापाता उपलव्ध गराईदिएपनि तत्काल अस्थायी हामी आफै खटेर बनाउँथ्यौं’ हरेरामले भने । बर्षाले बस्तीका बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या देखिन थालेको छ ।
शनिबारको हावाहुरी, वर्षा र भोकै बस्नुपरेपछि आगलागी पीडितमा स्वास्थ्य समस्या देखापर्ने चिन्ता थपिएको छ । वस्ती पुगेका मानव अधिकारकर्मी सुनिल साहले आगलागी पीडितमा हावाहुरी, वर्षा र भोकै बस्नुपर्ने अवस्था देखिएको र उनीहरुको स्वास्थ्य समस्या देखापर्न थालेको जानकारी दिए ।
‘बस्तीका आगलागी पीडितमा झाडा पखाला र बच्चामा ज्वरो देखिएको छ’, उनले भने, ‘जनस्वास्थ्य कार्यालयले समयमैं स्वास्थ्य शिविर राख्न जरुरी छ बस्तीमा शिविर अहिलेसम्म पुगेको छैन ।’ आगलागी हुनुभन्दा अघिदेखि ज्वरो र निमोनियाबाट पीडित रीतादेवीकी २ महिने दुधे बालक ओपिन र जानकीदेवीकी एक महिने दुधे बालक श्रवणमा समस्या देखिएको छ । सिरहास्थित मानव अधिकार सञ्जालले दुबै दुधे बालकको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार व्यवस्था मिलाएको उनले जानकारी दिए । बस्तीका केही वृद्धवृद्धामा झाडापखालाको समस्या सुरु भइसकेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »