थारु आन्दोलनलाई अगाडि बढाउन सद्भावना र समाजवादीबीच एकीकरण

प्रकाशित समय 6:41:00 PM
काठमाडौं, ५ वैशाख । मधेश आन्दोलनसँगै थरुहट–थारुवान आन्दोलनलाई शसक्त रुपमा अगाडि बढाउन सद्भावना पार्टी र नागरिक समाजवादी पार्टीबीच एकीकरण भएको छ । राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी पुरानो मधेशवादी पार्टी हो भने राजकुमार लेखी अध्यक्ष रहेको नागरिक समाजवादी पार्टी थारु बाहुल्य भएको पार्टी हो । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि दुई पार्टी एकीकृत भएको हो ।
पार्टी एकीकरणका लागि दुबै पार्टीबीच दश बुँदे सम्झौता समेत भएको छ । उक्त सम्झौता अनुसार पार्टीले थारुहट प्रदेशका लागि संघर्ष गर्नुका साथै टिकापुर घटनामा पक्राउ परेका थारुहरुको रिहाईका लागि संघर्ष गर्नेछ । यसअघि पनि सद्भावना पार्टीले थारुहटको माग उठाउँदै आएको थियो ।
पार्टी एकीकरण कार्यक्रममा बोल्दै नेता राजकुमार लेखीले मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार थारु विरोधी रहेको आरोप लगाउँदै थारुको भावनालाई समेट्न नसकेको बताए । टिकापुर घटनामा थारुमाथि दमन हुँदा त्यसको मतियार गच्छदारसमेत रहेको आरोप लेखीले लगाए ।
उक्त कार्यक्रम मै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन सम्बन्धी अहिलेको प्रस्ताव मधेशी–थारु विरोधी रहेको जिकिर गर्दै दुई नम्बर प्रदेशलाई पनि समाप्त पार्ने षड्यन्त्र भइरहेको बताए । उनले थारुलाई अझ सशक्त रुपमा जागरुक गर्न आफुहरु लागि पर्ने विश्वास दिलाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »