प्रकाशित समय 6:52:00 PM

खरानीमा अन्न खोज्दै अग्निपीडित

गोलबजार, ३० चैत्र । सखुवानन्कारकट्टी गाउँपालिका–४ सखुवा सिमराकी रिता मण्डल छोराको उपचारपछि सोमबार दिउँसो जनकपुरबाट घर फर्केकी थिइन् । दुई महिने छोरा निमोनियाबाट ग्रसित थिए । उपचारपछि सात हजारको औषधि ल्याएकी थिइन् । तर, सोमबार साँझको आगलागीमा औषधि, अन्न र सिंगो घर खरानी भयो ।
रितालाई छोराको उपचारको चिन्ता छ । सखुवा सिमराका हरि मण्डलको घरबाट साढे ४ बजे आगलागी सुरु भएको थियो । एकैछिनमा सखुवा सिमरा टोल सखाप भयो । त्यहाँका ३० परिवारका करिब ५० घर खरानी भए ।
हरेराम मण्डलकी श्रीमती माधुरी मण्डलले हेर्दाहेर्दै आगोले गाउँ सखाप बनाएको बताइन् । उनले भनिन्, ‘छिमेकीको घरमा आगो लाग्यो । स्थानीय कराउन थाले । आगो निभाउन सबै जुट्नै लागेका थियौँ, हावाहुरीको तीव्र वेगले एकैछिनमा मेरो घरमा आगो सल्कियो ।’
दलित बस्तीका पीडितसँग जिउमा लगाएकोेबाहेक कुनै कपडा बाँकी छैन । मजदुरी गरेर घर भित्रयाएको धान, गहुँ सबै जलेर नष्ट भएको छ । पीडित धनमन्ती मण्डल मंगलबार दिउँसो आगोबाट बचेको गहुँ उठाउँदै थिइन् ।
आगलागीबाट करिब दुई करोडभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ । तर, आगलागी भएको दुई दिन बितिसक्दासमेत यकिन तथ्यांक प्रशासनले सार्वजनिक गर्न सकेको छैन । आगोले अधिकांश व्यक्तिले वैदेशिक रोजगारबाट कमाएर ल्याएको रकम जलेको छ ।
स्थानीय सीता मण्डलको घरमा रहेको एक लाख रुपैयाँ जल्यो । यस्तै, चौधरी मण्डलको पनि करिब चार लाख रुपैयाँ जल्यो । चौधरी भन्छन, ‘विदेशबाट कमाएर घर बनाउन रुपैयाँ ल्याएको थिएँ । आगोले सबै सपना चकनाचुर बनाइदियो ।’
आगोले जलेपछि चापाकलसमेत बिग्रिएको छ । बस्तीमा आगलागीपछि विद्युत् तार जलेर चुँडिएको छ । एमालेका स्थानीय नेता केदार यादवले भने, ‘आगलागीले सबैको जीवन अन्धकार भएको छ । झन् त्यसमा दुई दिनदेखि विद्युत् नभएर गाउँ अन्धकार छ ।’ उनले उक्त बस्तीमा तत्काल विद्युत् तार जोडेर अन्धकारमै बस्नुपर्ने अवस्था हटाउन सम्बन्धित निकायले चासो दिनुपर्ने बताए ।
सिरहाका प्रमुख जिल्ला अधिकारी तथा दैवी प्रकोप उद्धार समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ नेतृत्वको टोली निरीक्षणका लागि मंगलबार बिहान सो स्थान पुगेको थियो ।
श्रेष्ठले आगलागीपीडितलाई प्रतिपरिवार पाँच हजार रुपैयाँ, त्रिपाललगायतका सामग्री वितरण गरे । सोमबार आगलागीबाट करोडौँको क्षति भएपछि मंगलबार दिउँसो जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठक बसेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »