मोर्चालाई चुनावमा बोलाउँदै रामचन्द्र, शशांक भन्छनः सार्न सकिन्छ

प्रकाशित समय 6:38:00 PM
विराटनगर, ५ वैशाख । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकमा निर्वाचनको वातावरण बन्दै गइरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग नेता पौडेलले हिमाल, पहाड र तराई सबैतिर निर्वाचनमय वातावरण भएकाले सबैलाई मिलाएर एकै चरणमा निर्वाचन गर्ने पक्षमा नेपाली काँग्रेसको रहेको बताए ।
लामो समयसम्म स्थानीय तहको निर्वाचन नहुँदा मुलुकले गति लिन नसकेको भन्दै नेता पौंडेलले अब कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने सुझाव दिए । मधेसी मोर्चालाई निर्वाचनमा सहभागी हुन आग्रह गर्दै पौडेलले भने, ‘आन्दोलनले समस्याको समाधान हँदैन, नेपाली जनताले निर्वाचन चाहेकाले जनताको भावना बुझेर मोर्चाले निर्वाचनमा सहभागी हुनुपर्दछ ।’
महामन्त्री शशांक कोइरालाले मधेसी मोर्चा निर्वाचनमा सहभागी हुन्छ भने हप्ता, दस दिन निर्वाचन सार्न सकिने सम्भावना सुनाए । स्थानीय तहको निर्वाचनलाई सार्थक बनाउन पनि मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्ने विषयमा जोड दिँदै महामन्त्री कोइरालाले हिमाल, पहाड र तराई–मधेस सबै जनताको भावनाअनुसार एकै चरणमा निर्वाचन हुनुपर्ने बताए ।
संविधान संशोधन प्रस्तावमा भएको असहमतिका बारेमा मोर्चासँग वार्ता गरेर तत्काल मुलुकलाई राजनीतिक निकास दिनुपर्ने धारणा प्रकट गर्दै कोइरालाले भने, ‘मोर्चाले पनि मुलुकलाई निकास दिन सीमांकनको विषयलाई स्थानीय निर्वाचनपछि आयोगमार्फत टुङ्गो लगाउने गरी सहमति खोज्नुपर्दछ ।’
तीनै तहको निर्वाचन समयमै गराउन समय छोटो भएपनि राजनीतिक दलहरूमा इच्छाशक्ति भए निर्वाचन सफल हुने विश्वास लिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »