
अझ कञ्चन ऋषिदेवका बुबा खटनाले त आमालाई मात्र होइन दाजुभाइलाई पनि पञ्जाब लैजानुभएको छ । उमेर समेत कति भयो थाहा नपाउने कञ्चनले भन्नुभयो, छोरी जति हामी घरमा छौँ । कञ्चनकी दिदी राधिकाले भन्नुभयो, “हजुरआमा बुढी र बिरामी हुनुहुन्छ, बुबाले हामी तीनजनालाई छोडेर गएको पाँच वर्ष भयो । कहिलेकाहीँ फोन गर्नुहुन्छ । खर्च पठाउनु हुन्न ।”
उहाँले बाबुको ब्यबहारप्रति दुःख प्रकट गर्नुभयो । बनौल र सोमबारे क्षेत्रका बालिकाको दिन नै गुइँठा बनाउने तथा झिँझा र गोबर खोज्दै बित्ने गर्छ । बनौल र सोमबारे क्षेत्रका अल्पसङ्ख्यक सीमान्तकृत मुसहर जातिमा स्वास्थ्यसम्बन्धी चेतना झनै शून्य छ । प्रत्येक युवाका सरदर पाँचजना छोरी छन् ।
माटो काट्ने, पुर्ने, बाँध बाँध्ने र कृषिसम्बन्धी परम्परागत पेसा सङ्कटमा पर्दै गएपछि उहाँहरू पछिल्लो १० वर्षयता भारतको पञ्जाब र हरियाणामा काम गर्न जाने गर्नुभएको छ । यही हप्ता पञ्जाब जाने तयारी गरिरहेका बुधन ऋषिदेवले भन्नुभयो, “आफ्नो माटो छैन, परिवार ठूलो भयो, खान लगाउन दिनै प¥यो ।”
