प्रधानाध्यापकहरुको लापरवाही सिरहाका विद्यार्थीले पाठ्पुस्तक पाएनन

प्रकाशित समय 6:38:00 PM
रामभरोसि यादब
सिरहा, ५ जेष्ठ । सिरहा नयाँ शैक्षिक सत्र सुरुभएको महिनादिन पुग्नलाग्दा पनि विद्यार्थीको हातमा पुस्तक नपरेपछि उनीहरु निरास बनेका छन् । समयमै विद्यार्थीले पुस्तक नपाउने गुनासो बढेपछि जिल्ला शिक्षा कार्यालय सिरहाले यो पटक गत फागुन मसान्तमै पुस्तकको लागि निकासा दिएपनि जनकल्याण अधारभुत विद्यालय सुखिपुर न.पा.–६ प्रधानाध्यापक छिवछ कामतीले अझै पुस्तक गरिद गरेका छैनन् ।
‘विभिन्न कामहरुका कारणले अझै पुस्तक खरिद गर्न सकिएको थिएन,’ उनले भने, ‘विद्यालयको काम, भर्ना अभियान र अन्य व्यक्तिगत कारणले पुस्तक खरिद गर्न सकिएको छैन । हिजै पुस्तक पसलेलाई पुस्तकको अर्डर गरेको छु, अहिले सेटै पुस्तक नभएकोले ल्याएको छैन, चाँडै ल्याउँछु ।’ प्रधानाध्यपक कामतीले विद्यालयको निर्माण कार्य र अरुपनि कामहरुको कारण पुस्तक ल्याउन ढिलाई भएको बताए ।
उनले चाँडै पुस्तक ल्याएर विद्यार्थीको हात हातमा पु¥याउने बचनबद्धता गरे । कक्षा ५ सम्म पढाई हुने यस विद्यालयमा एकसय ८५ जना विद्यार्थी रहेको विद्यार्थी हाजिरी रजिष्टरमा छ । हामी पुग्दा मुस्किलले २५ जना विद्यार्थीहरु उपस्थित रहेको थियो । जनजागृति आधारभुत विद्यालय सुखिपुर न.पा.–१० का प्रधानाध्यापक अनौठी मुखियाले आफ्ना विद्यार्थीहरुलाई आजसम्म पनि पाठ्यपुस्तक दिएका छैनन् । प्रअ मुखियाले आफूले पाठ्यपुस्तकको अर्डर दिएपनि सेटै नपाएकोले नलिएको भन्दै पन्छिए ।
विद्यालयमा नभेटिएका उनले फोनमै ‘मेरो पुस्तक खरिद गर्नेमात्र काम हुन्छ ? मेरो अरुपनि काम छ, त्यसैले पुस्तक खरिद गर्न ढिलो भएको हो । अब चाँडै पुस्तक ल्याएर दिन्छु ।’ प्रअ मुखिया नियमित विद्यालय पनि नआउने स्थानीयको भनाई रहेको छ । विद्यालयकै अभिभावक वीरेन्द्र प्रसाद यादवले प्रअ नियमित नआएको विद्यालयको शैक्षिक अवस्था दिनदिनै विग्रदै गएको बताए ।
उनका अनुसार राहत शिक्षकले पनि नियमित कक्षा नगरेपछि कार्यालय सहयोगी रामएकवाल यादवले विद्यार्थीलाई कक्षा कोठामा अलमल्याएर राख्ने काम गरेको बताए । कार्यालाय सहयोगी यादवले शिक्षकहरु नियमित नआएपछि आफूले जानेको विद्यार्थीहरुलाई सिकाउने गरेको बताए ।
त्यसैगरी, श्रमिक आधारभुत विद्यालय गोलबजार न.पा.–४ का विद्यार्थीले पनि पाठ्यपुस्तक पाएका छैनन् । यो विद्यालयमा प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष बीचको टकरावका कारण पुस्तक खरिद नभएको बुझिएको छ । प्रअले पुस्तक खरिदको लागि रकम निकासा गर्न अध्यक्षसँग पटक–पटक अनुरोध गर्दा पनि अध्यक्षले सहमति नजनाएको बताइएको छ ।
सामुदायिक विद्यालयहरुमा विशेषगरी गरिव तथा दलितका बालबच्चाहरु पढ्ने भएकाले प्रअहरुले अटेर गरेरै पुस्तक खरिद नगरेको स्थानीय अभिभावकहरुको भनाई रहेको छ । जनजागृत आधारभुत विद्यालयका व्यवस्थापन समितिका सदस्य समेत रहेका बोयलाल यादवले शिक्षकहरुले अभिभावकलाई निमुखा सम्झेर नै अझैसम्म पुस्तक वितरण नगरेको गुनासो गरे ।
जिल्ला शिक्षा कार्यालयले यस वर्ष नयाँ शैक्षिक सत्र शुरु भएकै दिनदेखि विद्यार्थीलाई नयाँ पुस्तक दिएर विद्यालयमा स्वागत गर्ने लक्ष्य अनुसार शैक्षिकशत्र सुरुहुनुभन्दा दुई महिना अघि नै पुस्तकको लागि निकासा दिएको जिल्ला शिक्षा अधिकारी अरविन्द्रलाल कणले जानकारी दिए ।
उनले यो पटक हामी सवै विद्यार्थीलाई नयाँ सेटमै पुस्तक दिएर विद्यालय खुलेकै दिनबाट पुस्तक दिन्छौं भनेपनि अझै विद्यालयसम्म पुस्तक पुग्न सकेको छैन । शिक्षा अधिकारी कर्णले अझै पनि पुस्तक समेत खरिद नगर्ने शिक्षकरुलाई तुरुन्त स्पष्टिकरण सोधी आवश्यक कार्वाही गर्ने बताए ।
जिल्ला शिक्षा कार्यालय सिरहाले दिएको जानकारीअनुसार अहिले सिरहामा चार सय पैतिस सामुदायिक विद्यालयहरु छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »