सिरहामा कानुन विपरित संचालन रहेका

प्रकाशित समय 9:07:00 PM

निजी विद्यालयमाथि थाल्यो कारवाही

शम्भु यादव
लहान, ९ जेष्ठ । सिरहामा नियम विपरित अवैध रुपमा वर्षौ देखि संचालनमा रहेको निजी विद्यालयहरुमाथि जिल्ला शिक्षा कार्यालयले छानवीन गरी कारवाही प्रक्रिया अगाडी बढाएका छन् । कतिपय नाम चलेका निजी विद्यालयहरुले कम कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सम्म संचालन गरेको रहस्य खुलेका छन् ।
दर्ता विना नै विद्यालय संचालन गरेकाहरुले अर्को कुनै निजी विद्यालय तथा सामुदायिक विद्यालयबाट विद्यार्थीहरुलाई परीक्षामा सहभागी गराउँदै आएका छन् । अनुमति विना संचालन रहेको कक्षामा पढ्ने विद्यार्थीहरुलाई कोचिङ्गमा पढाउँदै गरेको भनेर झुक्याउने प्रयास पनि निजी विद्यालयहरुले गर्दै आइरहेका छन् । उनीहरुको लागि विद्यालयहरुले छुटै रजिष्टर पनि राखिएको भेटिएका छन् ।
लहान रेन्बो इन्टरनेशनल बोर्डिङ्ग स्कुल कक्षा १० सम्म संचालन रहेका छन् । तर, शिक्षा कार्यालयमा दर्ता छैन् । यस्तै, सिरहा नगरपालिका भुलावहीका शुभकामना स्कुल कक्षा ५ सम्म, लक्ष्मीपुर प्र.म.का जिवन ज्याती, गोल्डेन फयुचर कक्षा १० सम्म दर्ता विना संचालनमा रहेको भेटिएका छन् ।
फ्रेन्डस एजुकेशनल सिरहा कक्षा ३, मेरी चिल्ड्रेन सुकचैना कक्षा ५, क्रिएटिभ स्कुल छपराडी कक्षा ८, न्यु सगरमाथा स्कुल मौवाही शिक्षा कार्यालयमा दर्ता रहेका छैनन् । एशियन गुरुकुल एकेडमी लहान वडा नम्बर २१ का कक्षा ५, न्यु शिशु निकेतन लहान–२३ का कक्षा ७, वि.एस. मिथिलेश आवसीय बोर्डिङ्ग स्कुल भगवानपुर– २ का कक्षा ३, राजदेवी शिक्षा दिप पाठशाला भगवानपुर–४का कक्षा ७ तथा मुनलाइट इग्लिस बोर्डिङ्ग स्कुल ठाढी बजारको कक्षा ५, सिक्रौन ३ का ब्राइट फयुचर कक्षा ५ सम्म अनुगमनको क्रममा संचालनमा भेटिएका छन् तर यी विद्यालयहरु शिक्षा कार्यालयमा दर्ता रहेका छैन् ।
अनुगमनका क्रममा दर्ता विना संचालनमा भेटिएका विद्यालयहरुलाई विद्यार्थी हाजिरी रजिष्टर, खातापाता कब्जा लिएको शिक्षा अधिकारी अरविन्द लाल कर्णले बताए । अवैध भेटिएका विद्यालयहरुलाई तुरुन्त बन्द गर्ने निर्देशन दिएको उनले सुनाए । शिक्षा कार्यालयका तथ्याकं अनुसार सिरहामा २ सय ८३ विद्यालय दर्तामा रहेका छन् । दर्ता विना सयौँ विद्यालय यहाँ संचालनमा छन् ।
यस्ता विद्यालयहरुले पहिलो पटकको निर्देशन अटेर गरे स्थानीय प्रशासन ऐन अन्तर्गत २५ हजार जरिवाना हुनेछ । दोस्रो पटकमा १ लाख जरिवाना र ६ महिना कैद तथा तेस्रो पटकका सम्पति जफत सम्म हुने सक्ने शिक्षा अधिकारी कर्णले सुनाए ।
अनुमति विना थप कक्षामा पढाउँदै
लहानका आस्था पाठशाला कक्षा ५ सम्मको अनुपति लिएर कक्षा ९ सम्म पढाउँदै आएका छन् । यस्तै, सिरहा इन्टरनेशनल कक्षा ६ दर्ता छ तर, कक्षा १० सम्म संचालनमा भेटिएका छन् । आस्था पाठशालाले अनुमति नभई सनराईज बोर्डिङ्गको कक्षा ५ सम्मको अनुमतिले संचालन रहेको बुझिएका छन् ।
सुखीपुर नगरपालिकाका आर्दश पाठशाला कक्षा ५ सम्म अनुमति पाएका छन् । तर, सो विद्यालयमा कक्षा १० सम्मका शिक्षण हुने गरेका छन् । यस्तो विद्यालय पनि सिरहामा धेरै छन् ।
श्रीराम जानकी बोर्डिङ्ग स्कुल कक्षा २ सम्म अनुमति प्राप्त छ तर, कक्षा ६ सम्म पढाई भइरहेका छन् । कक्षा ३ का लागि शिक्षा कार्यालयमा अनुमति माँग गरेका छन् । शिक्षा कार्यालयले सबै निजी विद्यालयहरुको विवरण मागेका थिए । त्यसको लागि यो विद्यालयले कक्षा ४,५ र ६ का विद्यार्थीहरुलाई ब्राइट फयुचर स्कुल लहानबाट विवरण भरेर पेस गरेको विद्यालयका एक शिक्षकले बताएका छन् ।
लहान–१ का नेशनल काठमाण्डौँ कक्षा १ को अनुमति पाएका छन् तर कक्षा ७ सम्म संचालनमा रहेका छन् । पुर्वाञ्चल वक्सफोर्डको अनुमति कक्षा १, संचालन कक्षा ५, ब्राइट फयुचर अनुमति १, संचालनमा कक्षा ५, लाली गुराँस एकेडमी अनुमति कक्षा २, संचालनमा कक्षा ६, लहान–२१ का भवानीपुर ग्यालेक्सी पब्लिक स्कुल अनुमति कक्षा २, संचालनमा कक्षा ५, भानु मेमोरियल एकेडमी इटहर्वा–२, अनुमति कक्षा १, संचालनमा कक्षा ६, माँ भगवती ग्लोबल भगवानपुरका अनुमति कक्षा ५, संचालनमा कक्षा ७, बाला सुन्दरी बोर्डिङ्ग अनुमति कक्षा १, संचालनमा कक्षा ६ सम्म रहेका छन् । यस विद्यालयले विरगंजका ग्रिण ल्याण्ड स्कुलबाट अनुमति विनाको संचालनमा रहेको विद्यार्थीहरुको विवरण भर्ने गरेका छन् ।
लहानका गुरुकुल पाठशाला कक्षा ८, लोटस युनिक बोर्डिङ्ग स्कुल कक्षा ८, ग्लोबल एकेडमी कक्षा ६ अनुमति विना नै कक्षा १० सम्म संचालन रहेका छन् । यी विद्यालयका विद्यार्थीहरु एसइइ परीक्षामा पनि सहभागी भएका थिए । यस्तै लहान अस्पताल चौकका सगरमाथा एजुकेशनल एकेडमी अनुमति नै नलिई कक्षा १० सम्म संचालनमा रहेका छन् ।
आस्था पाठशालाले यस वर्ष कक्षा ८ को जिल्ला स्तरीय परिक्षामा राम महन्थी यादव जनता माध्यमिक विद्यालय सितापुर प्र.ध.बाट सहभागी गराएका छन् । यस्ता धेरै यहाँका निजी स्कुलका प्रिन्सिपलहरुले सामुदायिक विद्यालयका प्रअलाई रकम दिएर आफ्नो विद्यार्थीहरुलाई परीक्षामा सहभागी गराउँदै आइरहेका छन् ।
स्रोतका अनुसार यस वर्ष कक्षा ८ को परीक्षामा आस्था पाठशालाका शिवराम यादव, रुपेश यादव, मन्दिप यादव, रामपुकार दास, राजाराम यादव, संजय महरा, राखी दास, रेखा महरा, हरेकृष्ण यादव तथा शंकरलगायतका विद्यार्थीहरुलाई सहभागी गराएका छन् ।
यता, राम महन्थी विद्यालयका प्रधानाध्यापक सन्नउल्ला खाँका अनुसार आफ्नो विद्यालयमा कुनै निजी विद्यालयको विद्यार्थीहरुलाई परीक्षामा सहभागी नगराएको दावी गरेका छन् । यस वर्षको कक्षा ८ को परीक्षामा १ सय ३५ विद्यार्थी आफ्नो विद्यालयको रहेको उनले जानकारी गराए ।
आइतवार शिक्षा अधिकारी कर्ण यस विद्यालयमा पुग्दा कक्षा ८को रजिष्टरमा १ सय ३० विद्यार्थीको नामाकंन भएको देखिएका थिए भने ७३ जना विद्यार्थी पढ्न आएका थिए ।
दर्तावालालाई अप्ठयारो
दर्ता भई नियम कानुन अनुसार संचालन रहेका निजी विद्यालयहरुलाई अवैध विद्यालयमा विद्यार्थीहरु पढ्न गइरहँदा अप्ठयारो हुने गरेका छन् । दर्तावाला विद्यालयले प्रत्येक तिन महिनामा आम्दानीको एक प्रतिशत कर तिर्नु पर्छ । साथै सेवा शुल्क, पारिश्रमिक शुल्कलगायत तिर्नु परेको न्यु मनकामना बोर्डिङ्ग स्कुलका प्रिन्सिपल तथा प्यावसन सिरहाका सचिव उमेश यादवले सुनाए । दर्ता नरहेका विद्यालयहरुलाई यस्तो रकमहरु तिर्नु पर्दैन् । त्यसैले शिक्षा कार्यालयले थालेको कारवाही प्रशंसनिय रहेको उनले भने ।
दर्ता विनाका विद्यालयका प्रिन्सिपलहरुले एकातिर सरकारको कर छली गरिरहेको छ भने अर्कातिर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको प्यावसन सचिव यादवले बताए । त्यस्ता स्कुलहरुले विद्यार्थीहरुलाई पास भएर अर्को विद्यालयमा नामाकंनको लागि जाँदा ‘सर्टिफिकेट’ दिन सक्दैन् । त्यसपछि विद्यार्थीहरुलाई पनि समस्या हुने गरेको उनले सुनाए । अवैध विद्यालयहरुमाथि कारवाही बढाए प्यावसन सहयोग गर्न तयार रहेको उनले बताए । लहानमा एमाले तथा कार्याकर्ताहरुको साह प्रति आक्रोश बढेका छन् ।













सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »