तराईमा चुनावको भन्दा खुला दिसामुक्त घोषणाको रौनक

प्रकाशित समय 8:28:00 PM


प्रसन्न तामाङ
काठमाडौ, २ जेष्ठ । आइतबार प्रदेश नं. ३, ४ र ६ का २ सय ८३ स्थानीय तहको चुनाव भइरहेका बेला धनुषाको लक्ष्मीपूर गाउँपालिकामा भने धुमधामका साथ खुला दिसामु्क्त घोषणा कार्यक्रम भइरहेको थियो । चुनाव भइरहेका २ सय ८३ तहका मतदाता लाइन लागेर भोट हाल्न गइरहेका बेला साबिकको लक्ष्मीपुर बगेबाका बासिन्दा भने नयाँ–नयाँ कपडामा ठाँटिएर आफ्नो भेषभूषा सहित गाउँ खुलादिसामुक्त भएको सन्देश फैलाउदै थिए ।
गाविसका पदाधिकारीलाई मात्र होइन, धनुषाका सांसद महेन्द्र कुमार यादवलाई पनि चुनावको चटारो थिएन । सांसद यादव लक्ष्मीपुर बगेबा गाविस खुला दिसामु्क्त घोषणा समारोहका प्रमुख अतिथि हुनुहुन्थ्यो ।
उता सप्तरीको बोदेबारसाइ नगरपालिकाको वडा नं. ३ मा पनि उस्तै उत्साह थियो । टोल टोलबाट प्लेकार्ड र व्यानर सहित निस्केका विभिन्न संघसंस्थामा आवद्ध गाउँले आफ्नो वडालाई खुला दिसामुक्त गर्दै थिए । देशका तीन वटा प्रदेशमा चुनावी उत्सव भइरहँदा साबिकको मानराजा गाविसले भने जिल्लाको ४७ औं खुला दिसामुक्त गाविस घोषणा गरेर महोत्सव नै मनाए ।
सरसफाइमा पछाडि परेको भनेर चिनिएका मध्य र पूर्वी तराइका जिल्लामा यत्तिबेला सरसफाइको अभूतपूर्व प्रगति भइरहेको छ । आन्दोलन, चुनाव जस्ता कुनै पक्षको पर्वाह नगरी सरसफाइका लागि गाउँवस्ती जुरुक्कै उठेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख अनिल केसरीले बताउनुभयो ।
‘सरसफाइका लागि एउटा माहौल बन्नुपर्छ त्यो माहौल अहिले तराइका जिल्लाहरुमा बनिरहेको छ, यदि कुनै कामको हतारो छ भने त्यो चर्पी बनाउनकै हतारो छ’ उहाँले भन्नुभयो ‘अहिलेसम्म चुनावले पनि प्रभावित बनाएको छैन यो अभियानलाई, अबको चुनावले के गर्छ थाहा छैन, तराईमा दिनहुँजसो खुला दिसामु्क्त हुदैछन्’ उहाँले भन्नुभयो ।
तराईमा दिनैपिच्छे खुलादिसामुक्त घोषणा
तराईका गाउँपलिकाका वडा तथा साविकको गाविस दिनैपिच्छे खुला दिसामुक्त हुने क्रममा छन् । सिरहाको धनगढीमाइ नगरपालिका १३, शुक्रबारदेखि खुला दिसामुक्त वडा बनेको छ भने सिरहाकै साबिकको लक्ष्मीपूर गाविस तथा हालको विष्णुपुर गाउँपालिका वडा नं. ५ लाई पनि शनिबार खुला दिसामु्क्त घोषणा गरिएको छ । यस्तै सप्तरीको साबिकको बरसाइन गाविस हाल तिलाठी कोइलाडी गाउँपालिका ५ शुक्रबार देखि नै खुला दिसामुक्त वडा बनेको छ । बाँकेको डडुवा गाउँपालिका २ लाई पनि शनिबार खुला दिसामुक्त तथा पूर्ण सरसफाइ वडा घोषणा गरिएको छ । साबिकको बेतहनि गाविसलाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइ वडा एकैसाथ घोषणा गरिएको हो । बेतहनि बाँकेको ३३ औं खुलादिसामुक्त गाविस हो ।
सरसफाइ गुरुयोजना २०६८ अनुसार देशलाई नै खुलादिसामुक्त घोषणा गर्ने मिति नजिकिदै जाँदा तराईमा सरसफाइ अभियानले तीब्रता पाएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले बताउनुभयो । ‘अहिले दिनुहँ खुला दिसामुक्त हुने क्रममा छन, कुनै दिन त दुईचार वटा वडाको एकैदिन कार्यक्रम परेको छ’ डिभिजन प्रमुख कुशवाहाले बताउनुभयो ।
सन् २०१७ भित्र सबै नेपालीको घरमा आधारभूत तहको सरसफाइ सुविधा र खानेपानी उपलब्ध गराउने सरकारको वाचा छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »