जनकपुरमा हुण्डी सञ्चालन गरेको आरोपमा ५५ लाख रुपैयाँसहित पाँच जना पक्राउ

प्रकाशित समय 8:28:00 PM
         
जनकपुर, ४ जेष्ठ । धनुषा प्रहरीले ५५ लाख रुपैयाँभन्दा धेरै नगदसहित ५ जनालाई हुण्डी कारोवार गरेको आरोपमा पक्रेको छ । ५५ लाख ३७ हजार २ सय नगद रुपैयाँसहित जनकपुरको भानुचोकबाट बुधबार राती उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मुख्य हुण्डी कारोबार सञ्चालक धनुषा रघुनाथपुर ४ का ३४ वर्षीय विष्णुदेव राउत, उनका दाई ३७ वर्षका महादेव राउत, धनुषा सबैला नगरपालिका २ का ४० वर्षका विन्देश्वर राउत, धनुषा एकराही १ बस्ने वर्ष २० का अरुण दास र धनुषा रघुनाथपुर ४ बस्ने वर्ष २० का रोशनकुमार महरा रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेका विष्णुदेवसँग  २६ लाख ६४ हजार २ सय , अरुणसित ११ लाख, रोशनसित १४ लाख र विन्देश्वरसँग ३ लाख ७३ हजार गरी जम्मा ५५ लाख ३७ हजार दुई सय रुपैयाँ बरामद गरेको धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट हुण्डी कारोबारमा संलग्न ५ थान ल्यापटप, १० थान मोवाइल र कागजातसमेत बरामद गरेको जनाएको छ । उनीहरु मलेसियाबाट हुने हुण्डी कारोबारमा संलग्न रहेको प्रहरी नायव उपरीक्षक यादवले बताउनुभयो । उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरलाई बुझाउने प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »