भोट माग्न आउछन, फर्केर आउदैनन

प्रकाशित समय 6:05:00 PM
सिरहा, १२ जेष्ठ । घामपानीलाई छेक्न नसक्ने भ्वाँगा परेको छाप्रोमा बिरामीले थलिएकी छिन् ६३ वर्षीया गौरी सदाय । बुहारी रेखा र छ जना लालाबालासहित साँघुरो छाप्रोमा कष्टपूर्ण जिन्दगी बाँच्दै आएकी गौरी शारीरिक रूपमा कमजोर भएकी छिन् । तर, आसन्न स्थानीय तहको निर्वाचनमा भोट खसाल्ने उनको हौसला भने अझै मजबुत छ ।
सखुवाननकारकट्टी–३ स्थित मुसहर बस्तीको जीर्ण छाप्रोको बरण्डामा ओछ्यान परेकी उनले भनिन, ‘मेरो मतले कैयन नेताको जीवनमा कायापलट भयो । तर, मेरो जीवनको कष्ट जस्ताको त्यस्तै छ।’ बिरामी भएर थलिएकी उनी भन्छिन, ‘चुनावसम्म बाँच्न पाए भोट खसाल्ने इच्छा छ ।’ पटक–पटक हामीलाई आश देखाएर भोट पाउने दल र नेतालाई यसपाली पाठ सिकाउने इच्छा व्यक्त गर्दै भनिन, ‘‘खाना र छानाको बन्दोबस्त मिलाइदिने उम्मेदवारलाई भोट हाल्छु, आश देखाउनेलाई होइन ।’
गौरी धेरै बेर बोल्न सक्दिनन् । ‘बिरामीले थलिएपछि सासुको ताकत भने गुम्दै गएको छ’, गौरीकी बुहारी रेखा भन्छिन, ‘‘बिरामी सासुलाई स्याहार्न घरमै बस्नुपर्दा भोकभोकै बस्नुपरेको छ ।’ सासु थलिएपछि गुजारा चलाउन कठिन भएको रेखा बताउँछिन् । ‘ज्याला मजदूरी गरेर परिवार धान्दै आएकी थिएँ’, उनी भन्छिन, ‘‘सासु थलिएपछि पैचौले छाक टार्दै आएका छौं । पैंचोेले पेट भर्नु की उपचार गराउनु?’
उनले कात्तिकबाट वृद्धभत्ता पनि पाएकी छैनन् । वृद्धभत्ता पाए उपचार गराएर तंग्रिने उनको लालसा छ । गाउँपालिकाका कर्मचारीले ‘रकम नआएको’ भन्दै हप्काएर फर्काउने गरेको गौरीको गुनासो छ । बिरामीका कारण शरीर निहुरिएर कुप्रो परिसकेको छ । लौरो टेकेर हिँड्न पनि निकै मुस्किल । बुहारीको आड लिएर हाकिमकहाँ पुग्दा हप्की खाएर फर्किनुपर्ने पीडा सुनाउँदै उनले भनिन, ‘‘गरिब त नेता बनाउने मात्र रहेछ, नेताले गरिबको दुःख कहिल्यै देख्दैन ।’
गौरी र रेखा मात्र होइन, मुसहर बस्तीका सबैको गुनासो उस्तै छ, ‘नेता सपना देखाएर भोट हत्याउँछन्न फर्केर आउँदैनन् । भोट माग्न नेता बस्ती आउँदा गुनासोको भारी बिसाएर मन हल्का गर्नुबाहेक विकल्प छैन उनीहरूसँग । कारण उनीहरू आफूलाई नेताका रैती र प्रजा ठान्छन् । नेपाल राष्ट्रिय मुसहर उत्थान समिति सिरहा क्षेत्र नम्बर २ अध्यक्ष दुःखी सदायसँग यो सम्वाददाताले यसपाली कस्तो उम्मेदवार छान्नुहुन्छ? प्रश्न गर्दा उनले सिधा जवाफ फर्काए, ‘‘हामी रैती हौं नेताले जसलाई भन्छ उसैलाई भोट हाल्छौ । रैतीले मालिकको मर्जीलाई बरखिलाप मत जाहेर गर्नै सक्दैन नी !’
बस्तीका दोरिक सदायले गरिब जनता जहिल्यै नेताबाट ठगिदैं आएको बताउँछन् । ‘कसैले चुनावी प्रतिबद्धता पूरा गर्दैनन’, उनी दुखेसो पोख्छन् । भोट माग्न आउँदा नेतासँग गुनासा राख्दा धेरै बोल्यौ भनेर हप्काएर चुप लगाउने गरेको उनको दुखेसो छ । नेताका सामुन्ने उनीहरू धक मानेर मधुरो स्वरमै बोल्नुपर्ने बाध्यता सुनाए। ’गरिब भएर धेरै बोल्नु पनि भएन नी’, उनले भने ।
मिर्जापुरको मुसहर बस्तीले पहिलो मधेस आन्दोलनमा प्रमोद सदायलाई गुमाए । मधेस आन्दोलनमा बलिदानी दिएका प्रमोदको बस्ती नमुना बनाउने उतीबेला मधेसी नेताले ढाडस दिएका थिए । तर, एक दशक बित्यो, बस्तीको हविगत ज्यूँकात्यूँ छ । सुकुम्बासी बस्तीका सर्वसाधारण ‘दिन खाएर रातको चिन्ता, रात खाए दिनको चिन्ता’ले पिरोलिएका छन् । उनीहरूको नेताप्रति सकारात्मक धारणा छैन । आफूहरूलाई ‘भोट ब्यांक’का रूपमा मात्र नेताले प्रयोग गर्दै आएको उनीहरूको बुझाई छ । तर, नेतासमक्ष उनीहरू असन्तुष्टि खुलेर राख्न सक्ने हिम्मत जुटाउन सकेका छैनन् ।
बस्तीका लक्ष्मण सदायले गुनासो राखे  २०६४ सालमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत पक्की घर निर्माणका लागि बस्ती छनोट भइसकेको थियो । तर, नेताहरूको स्वार्थले बस्तीमा कार्यक्रम लागू भएन् । यहाँको योजना काटेर नेताहरूले आफू अनुकूल क्षेत्रमा कार्यक्रम चलाए । उनले भने, ‘‘नेताहरूकै कारण हाम्रो पक्की घर सर्ने सपना तुहियो ।’ २०६४ को संविधानसभा निर्वाचनमा यो बस्तीका अधिकतर मतदाता मधेसी जनअधिकार फोरम नेपालका उम्मेदवारलाई मतदान गरेको दुःखीले सुनाए । मधेस आन्दोलनको रापताप ताजै थियो त्यो निर्वाचनमा । ‘पुराना दल र नेताबाट आजित मतदाता नयाँ दलका नयाँ अनुहारले आफूहरूको दुःख दूर गरिदेला कि भन्ने आशले मतदान गरेका थिए । तर, चुनाव जितेपछि नयाँ दलको प्रवृत्ति पनि पुरानौजस्तो देखियो’, बस्तीकी सुरजीदेवी सदायले भनिन् ।
यसपालीको निर्वाचनमा बस्तीका मतदाताले उम्मेदवारसँग घरको सर्त राख्ने योजना बनाएका छन् । ‘अब उधारो आश्वासनले हामी पग्लिनेबाला छैनौं’, सुरजी भन्छिन, ‘‘घरको सपना पूरा गर्नेलाई भोट हाल्छौं, सपना बाँड्नेलाई होइन ।’
नेपालको संविधान–२०७२ को भाग ३ मा व्यवस्था गरिएको मौलिक हक भित्रको धारा ३६ मा खाद्य सम्बन्धि हकले प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा हुने जीवनको जोखिमबाट सुरक्षित गर्ने व्यवस्था गरेको छ । त्यस्तै, धारा ४० मा दलितको हक सम्बन्धि व्यवस्थामा आवासविहीन दलितलाई कानुनबमोजिम बसोवासको व्यवस्था गर्ने भनिएको छ । त्यसैगरी धारा ४२ मा सामाजिक न्यायको हकअन्तर्गत आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुनेछ भनि उल्लेख गरिएको छ ।
यी मौलिक हकबाट यहाँका सुकुम्बासी मुसहर वञ्चित छन् । दलका नेताको बेपर्वाहले ‘मुसहर जन पेरवा धन मैथिली परातन उखान अहिलेसम्म चरितार्थ भइरहेको सामाजिक अभियन्ता सुनिलकुमार साह बताउँछन् । सखुवाननकारकट्टी गाउँपालिकामा मुसहरको निर्णायक मत छ । समुदायका अगुवा दुःखी भन्छन, ‘यहाँ मुसहरको करिब चार हजार मत छ। मुसहरकै मत निर्णायक हुँदै आएको उनले बताए । मिर्जापुरमा मुसहरको १ सय २ घरधुरी सुकुम्बासीका रूपमा बस्दै आएका छन् । उनीहरूको मत तीन सय रहेको दुःखीले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »