मलेसियामा प्रेम गरेर नेपालमा अधिकारको लडाइँ लड्दै इन्डोनेशियाली मूलकी सञ्जना

प्रकाशित समय 6:45:00 PM
गोविन्द महतो 
जनकपुर, ५ जेष्ठ । इन्डोनेसियाली मूलकी एक ४५ वर्षीया महिला तितिक इस्तियानी (सञ्जना चौधरी) न्यायको खोजीमा भौतारिरहेकी छिन्। सासु सरस्वती चौधरी र नन्दले घर निकाला गरेको इस्तियानी (सञ्जाना चौधरी) बताउँछिन्। उनको न्याय दिलाइदिनका लागि मानव अधिकारकर्मी, प्रहरीदेखि पत्रकारको ढोका ढकढक्याएकी छिन्।
को हुन तितिक इस्तियानी ?
तितिक इस्तियानी इन्डोनेशियाली हुन्। मलेसियामा रोजगारी गर्ने क्रममा उनले नेपालका सञ्जिव चौधरीलाई भेटेकी थिइन्। उनीहरुले १० वर्षअघि मलेसियामै प्रेम विवाह गरे। त्यसपछि सप्तरी हरिहरपुर–२ का सञ्जिवले मुस्लिम धर्म अपनाए। मुस्लिम रीतिरिवाज अनुसार इन्डोनेशियामा दोस्रोपटक विहे भयो। सञ्जिवले नाम परिवर्तन गरेर ’अब्दुल मोहम्मद’ राखे। १ वर्षपछि छोरी जन्मिइन्। त्यसपछि सञ्जिव रोजगारीका लागि फेरि मलेसिया फर्किए। मलेसियाबाट नेपाल आए।
इस्तियानी पनि इन्डोनेशियाबाट नेपाल आइन्। इन्डोनेशियामा गरेको विवाहले मान्यता नपाएपछि नेपालमा फेरि उनीहरुले विवाह दर्ता गर्नुप¥यो। इस्तियानीको नाममा सञ्जना पनि थपियो । उनले तितिक इस्तियानी (सञ्जना चौधरी) नामबाट नागरिकता लिइन् ।  २०६६ साल जेठ २० गते विवाह दर्ता भएपछि सञ्जनाले छोरीको जन्मदर्ता पनि बनाइन्।
त्यसपछिका चार वर्ष राम्रैसँग बिते। ससुरासा नकुल बिरामी परेपछि पति सञ्जिवले नकुलले मालपोत कार्यालयमा गर्दै गएको काम गन थाले। केही समयपछि इस्तियानीका ससुरा नकुलको स्वास्थ्य ठिक भयो। बाबुको स्वास्थ्यमा सुधार आएपछि सञ्जिवले मालपोतमा काम गर्न छाडे।
सम्बन्धमा दरार
’सञ्जिव घर आउन छाडे। उनी बाहिरै रमाउन थाले। त्यसपछि सम्बन्धमा बिग्रन थाल्यो,’ इस्तियानीले भनिन,’ मलाई धेरै दुख दिन थाले। मैले छोरी लिएर जान्छु भन्दा २ छोरी लिएर जान दिएनन,’ इस्तियानीले गुनासो गरिन्।
श्रीमानको पक्ष लिदैं सासु र नन्दले जबर्जस्ती घरबाट निकालेको इस्तियानीको आरोप छ। उनले त्यसपछि प्रहरी र प्रशासन धाउँदैमा धेरै समय बिताइन्। अहिले एक समाजिक संस्थाले उनलाई अधिकार दिलाउन पहल गरिरहेको छ।
इस्तियानी अर्थात सञ्जनाकी छोरी स्वस्तिका १० वर्षकी छन्। कान्छी विनिता चौधरी ८ वर्षकी लागिन् । दुबैजना जनकपुरको एक बोर्डिङ्ग स्कुलमा अध्ययनरत छन् । यसरी आमाको मायाले छोराछोरीलाई घेट्न प्रत्येक दिन छोरीलाई भेटन विद्यालय पुग्छिन, दुबै छोरीलाई टिफिन खुवाउँछिन् र पुनः उनी बस्ने गरेकी भाडाको कोठामा फर्किन्छिन्।
जनकपुरको शिवचोक स्थित जानकी इलेक्ट्रोनिक्समा कार्यरत सञ्जिवसँग भने इस्तियानीको बोलचाल समेत छैन्। उनले इस्तियानीलाई स्विकार गर्न मानेनन्। सञ्जनाले इन्डोनेसियाको काठमाडौंस्थित वाणिज्य दूतावास तथा दिल्लीस्थित दूतावासमा यस घटनाबारे कुरा राखिन्। दूतावासले सहानुभूती देखाए पनि नेपाली नागरिक भइसकेको अवस्थामा इन्डोनेसियाली सरकारले कुनै पहल गर्न नसक्ने जानकारी गरायो।
ससुरा नकुल चौधरीले सञ्जिव र सञ्जनाबीचको सम्बन्ध मिलाउनका लागि पहल गरेपनि सासु र नन्दले अपहेलना गरेको सञ्जनाको आरोप छ। उनले कानूनी लडाँइ लड्नका लागि पैसा नभएका कारण कानूनी बाटो रोज्न नसकेको बताइन्। धनुषा नापी कार्यालयमा कार्यरत ससुरा नकुलले भने दुबै छोरालाई अंश बाँडिसकेको अवस्थामा आफूले केही गर्न नसक्ने बताउँछन्।
तितिया इस्तियानी (सञ्जना) का दुबै छोरी, श्रीमान् सञ्जिवसँगै बस्छन्। ससुरा पक्षले दुईवर्ष अघि घरबाट निकालेपनि २ छोरी पाउने आशमै जनकपुरमा भौतारिदै आएको इस्तियानी(सञ्जना) बताउँछिन्।
अहिले जनकपुर क्याम्पस चोकमा कोठा भाडा लिएर बस्दै आएकी इन्डोनेसियाली मूलकी नेपाली इस्तियानी (सञ्जना) इन्डोनेशियास्थित माइतीबाट आमाले पठाएको रकमले दैनिक जोहो गर्दै आएको बताउँछिन्। फरर्र नेपाली र अंग्रेजी बोल्न जान्ने इस्तियानी (सञ्जना) अहिले चिन्तामा डुबेकी छिन्।
अधिकारकर्मीको पहल
तितिया इस्तियानी (सञ्जना) लाई जनकपुरको केही महिला पत्रकार तथा अधिकारकर्मीको पहलमा गत बुधवार उनको घरमा लगेर छाडिए पनि भोलिपल्टै उनका श्रीमान् र देवरले घरबाट निकाला गरे। ससुरा नकुलले सञ्जनालाई घरमै बस्नका लागि सहयोग गर्ने वचन दिएका थिए। तर श्रीमान् र देवरले घर निकाला गरेको सञ्जना बताउँछिन्। अहिले उनी पुनः जनकपुरका महिला मानव अधिकारकर्मी तथा पत्रकारहरुलाई आफुलाई न्याय दिलाईदिन भौतारिदै छिन्।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »