भाइको हत्या गर्ने दाज–भाउजू जेल चलान

प्रकाशित समय 6:17:00 PM
लहान, १ जेष्ठ ।  आफ्नै घरमा सुतिरहेको भाइको हत्या गरेको आरोपमा प्रहरीले मृतकका दाजु भाउजुलाई पक्राउ गरी चलाएको कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि सिरहा कारागार चलान गरिएको छ।
सिरहाको मिर्चैया नगरपालिका ८, फूलबरीया मझाउका २७ वर्षीय प्रदीप रायको हत्याको अभियोगमा दाजु ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीया निरोदेवी रायलाई पुर्पक्षका लागि आइतबार कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले जानकारी दिए।
राय दम्पतीलाई प्रहरीले प्रदीपको हत्याको आरोपमा वैशाख ७ गते पक्राउ गरेको थियो। राजधानी काठमाडौंस्थित गौशालामा पछिल्लो १५ वर्षदेखि वैदेशिक रोजगारीमा जानेहरुका लागि प्रतिज्ञा म्यानपावर ऐजेन्सी सञ्चालन गर्दै आएका राय फागुन १७ गते राती साढे नौ बजेतिर घर पुगेर खाना खाएर करिब १० बजेतिर सुतेका थिए।
घरमा खाना खाएर कोठामा सुतेको दुई घण्टा नबित्दै प्रदीप सुतेको कोठामा पेट्रोल खन्याएर आगो लगाउँदा जलेर उनको मृत्यु भएको अवस्थामा भेटिएको थियो। स्थानीय गाउँलेहरुका अनुसार मृतक प्रदिप साथीको भतिजको विहेको निम्तो मान्न काठमाडौबाट घर आएका थिए।
घटनापछि हत्यामा संलग्न अपराधी पत्ता लगाउन पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगर, केन्द्रीय अनुसन्धान ब्युरो र स्थानीय प्रहरी खटिएका थिए।  अनुसन्धानको क्रममा प्रदीपका आफ्नै दाजु फुलगेन र भाउजु निरोदेवीको योजनामा हत्या भएको देखिएपछि दुवैलाई घरबाट नै पक्राउ गरी अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिएको प्रहरी नायव उपरीक्षक बज्राचार्यले जानकारी दिए।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »