सुरक्षा समितिको बैठक सकिए लगत्तै शक्तिशाली बम विष्फोट

प्रकाशित समय 6:27:00 PM
राजविराज, २९ बैशाख । जिल्ला सुरक्षा समिति सप्तरीको बैठक सकिए लगत्तै राजविराज ८ स्थित नापी कार्यालयमा शुक्रबार अपरान्ह शक्तिशाली बम विष्फोट भएको छ। कार्यालय बन्द भएको मौका छोपी अपरान्ह चार बजे कार्यालयस्थित ग्यारेजमा प्रेसर कुकर बम बिस्फोट हुँदा एउटा साइकल क्षति भएको प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिनुभयो। बमबाट मानवीय क्षति भने भएको छैन्।
सुरक्षा समितिको बैठकले प्रत्येक कार्यालय र संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीलाई पालो पहरा दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनु भयो। सुरक्षा समितिको निर्णयलगत्तै कार्यालयमा पालो पहरा दिए पनि सशस्त्र समूहले मौका छोपेर बम बिस्फोट गराएको बताउँदै प्रहरी उपरीक्षक द्विवेदीले सुरक्षा व्यवस्थालाई कडा बनाइने बताउनु भयो। उता बिस्फोटको जिम्मेवारी अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ।
सरकारी कार्यालय, विद्यालय, घर र पसलसम्ममा बम फेला पर्ने क्रम बढेपछि सुरक्षा संवेदनशीलताप्रति ध्यान दिन सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले आग्रह गर्नुभयो। यसअघि वैशाख ४ गते राजविराज ७ गजेन्द्र चोकस्थित रोशन इम्पोरियममा चैत २२ गते राजविराज ३ र राजविराज ८ स्थित व्यापारीको घरको ढोकामा सकेट बम फेला परेको थियो।
राजविराज ९ स्थित पिस जोन मोडल सेकेण्ड्री स्कुल अगाडि फागुन १७ गते सकेट बम फेला परेलगत्तै फागुन १८ गते राजविराज ५ स्थित लक्ष्मी इङ्गलिस बोर्डिङ्ग स्कुल अगाडि सकेट बम फेला परेको थियो। त्यसअघि माघ ७ गते राजविराज ७ स्थित व्यावसायी फुसराज दुगडको घरको मुख्य प्रवेशद्वारमा सकेट बम फेला परेको थियो।
यद्यपी यसअघि फेला परेका बम नेपाली सेनाको टोलीले निस्क्रिय पार्दै आएको थियो। तर शुक्रबार ठूलो आवाजका साथ शक्तिशाली बम विष्फोट भएपछि व्यापारी तथा नगरवासी आतंकित बनेका छन्। कार्यालय र पसलहरुमा बम राख्ने गरेको पाइएपछि सदरमुकाम राजविराजका लागि सुरक्षा चुनौती थपिँदै गएको छ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »