पैतालिस चोरले गरे पेशा परिवर्तन, छ्यालीस हजार भए सचेत

प्रकाशित समय 8:32:00 PM
विराटनगर, २८ वैशाख । मोरङमा प्रहरीले चलाएको अभियानबाट प्रभावित भएर जिल्लाको सीमा क्षेत्रमा चोरी, तस्करीमा संलग्न रहेका ४५ जनाले पेशा परिवर्तन गरी सामान्य व्यवसाय सुरु गरेका छन्।
२०७२ साल फागुनदेखि प्रहरीले सुरु गरेको काउन्सिलिङ तथा सचेतना अभियानबाट प्रभावित भएर ४५ जनाले चोरी गर्ने पेशा छाडेका हुन्। १४ महिनामा प्रहरीले लागूऔषध सेवनकर्ता, भन्सार छली गर्ने, मापसे गर्ने, सीमानाकाबाट उद्धार गरिएका तथा विभिन्न अपराधमा संलग्न १२ हजार ३ सय ३० जनालाई छुट्टै काउन्सिलिङ गरेको थियो।
‘४५ जनाले विगतदेखि गर्दै आएको चोरी तस्करी पेशा छाडेर चिया पसल, ठेलामा कपडा पसल, सिटी रिक्सा संचालनलगायतका काम गर्न थालेका छन,’ मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले भने, ‘यो सकारात्मक कुरा हो।’ प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन। ‘फलानो मान्छे चोरीमा संलग्न थियो अहिले छोड्यो भनेर भन्नु हुँदैन,’ एसपी भण्डारीले भने, ‘विगतको गलत कामका कारण समाजमा नराम्रो भन्नु हुँदैन सुध्रिने मौका दिनुपर्छ।’
२०७२ फागुनमा मोरङ सरुवा भएर आएसँगै भण्डारीले लागू औषध नियन्त्रण, दुर्घटना नियन्त्रण तथा चोरी तस्करी नियन्त्रण गर्ने उद्देश्यले १ हजार ४ सय ८४ स्थानमा कार्यक्रम गरी ४६ हजार ३ सय २६ जनालाई सचेत गराएको थियो। ‘मानिस किन अपराध गर्न बाध्य हुन्छ भन्ने कुराको अनुसन्धान गरी त्यस्तो अपराध रोक्नका लागि के गर्नुपर्छ भन्ने कुरा बुझाउन हामीले कार्यक्रम गरेका हौं,’ भण्डारीले भने, ‘अपराधरहित समाज निर्माण गर्ने हाम्रो उद्देश्य हो।’ यस कार्यक्रम अन्तर्गत प्रहरीले विभिन्न स्कुल तथा कलेजमा प्रहरी मेरो साथी, प्रहरीसँग एक दिन लगायत सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो। अपराधमा संलग्नहरु १७ देखि ३० वर्षका युवा जिल्लामा हुने अधिकांश अपराधिक घटनामा १७ देखि ३० वर्षसम्मका युवाको संलग्नता रहेको प्रहरीले जनाएको छ। ‘युवाहरु मादक पदार्थ र लागुऔषध सेवन गरी पहिलेको सानो घटनालाई निउ बनाएर आवेगमा आउने र हत्यालगायतका अपराध गर्ने गरेको पाइयो,’ एसपी भण्डारीले भने, ‘यस खालको घटना अन्त्य गराउन युवाहरुलाई कुलतबाट मुक्त गर्नु आवश्यक छ।’ मादक पदार्थ सेवन गर्ने ८ सय पक्राउ २०७२ फागुनदेखि मापसे गरी होहल्ला गर्ने ८ सय ९ जनालाई पक्राउ गरी कारबाही गरिएको भण्डारीले बताए।
उनका अनुसार ती व्यक्तिहरुबाट प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत ८ लाख ९ हजार रुपैयाँ जरिवाना समेत असुल गरेको छ। यस्तै यस आर्थिक वर्षको चैत मसान्तसम्ममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५ सय ८७ जना मानिसलाई ट्राफिक प्रहरीले कारबाही गरी ५ लाख ८७ हजार रुपैयाँ जरिवाना असुल गरेको छ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »