जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहाको विष्णुपुर गाउँपालिका– ५ का ३४ वर्षका शत्रुधन यादवको शव भेटिएको हो । सिरहा सदरमकुमास्थित वडा प्रहरी कार्यालय सिरहा (ख) बाट खटिएको प्रहरीको गस्ती टोलीले बुधबार बिहान हत्या गरेर फालेको अवस्थामा उक्त शव भेटेपछि घटनास्थल प्रकृति मुचुल्का उठाएर शव जिल्ला अस्पताल सिरहाको शवगृहमा ल्याएको छ।
आफन्तबाटै हत्या को आशंका विष्णुपुर गाउँपालिका– ५ थलहा कटहाका मानशिव यादवका छोरा शत्रुघ्नको शव सिरहा नगरपालिका– ६ बसबिट्टामा उनकी कान्छी श्रीमतीको माइतीदेखि दक्षिणतिर पर्ने रमौल गाउँ नजिकै भेटिएको हो। प्रहरीले हत्यामा आफन्तकै संलग्नता रहेको हुन सक्ने आशंकाको आधारमा मृतककी कान्छी श्रीमती शुभकला यादवलाई माइतीबाटै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।
मृतककी श्रीमती पछिल्लो एक हप्तादेखि माइतीमै बसिरहेको पाइएकाले मृतक श्रीमती भेट्न ससुराली आएको समयमा हत्या भएको हुन सक्ने आशंका गरिएको छ। प्रहरीका अनुसार उनकी जेठी श्रीमती गाउँकै पुरानो घरमा बस्दै आएकी छन्।
