‘फाइबर झोला’ बाट मनग्गे आम्दानी

प्रकाशित समय 6:21:00 PM
सिरहा, १ जेष्ठ । नगर र बजार क्षेत्रमा प्लास्टिक झोला प्रतिबन्ध गरिएपछि सिरहाको ग्रामीण क्षेत्र बडहरामाल १ रतनपुरका महिला फाइबर झोला निर्माणमा जुटेका छन् । रतनपुरका २० महिला फाइबर झोला बनाउने तालिम लिएर यसको व्यवसायमा सक्रिय भएका छन् । ९० दिनको झोला बनाउने तालिमपछि उद्यमी बन्ने प्रयत्नमा लागेका महिलाले त्यसैबाट आम्दानी लिन थालेका छन् । प्लास्टिक झोलाको विकल्पमा फाइबरका १४ थरीका झोला बुनेर उनीहरूले बिक्री गरिरहेका छन् ।
महिलाहरूले लालीगुराँस, मखमली, सगरमाथा र फूलबारी गरी चारवटा समूह निर्माण गरी सामूहिक झोला उत्पादन गर्दै आएका छन् । ‘एउटा समूहमा पाँच महिला संयुक्त रूपमा काम गर्छौं,’ फूलबारी समूहकी अध्यक्ष सीता विकले भनिन, ‘झोला निर्माणका लागि चार समूहमा १२ वटा सिलाइ मेसिन राखी काम गरेका छौं ।’
महिलाद्वारा उत्पादित फाइबर झोला २० देखि १ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । ‘सामूहिक आम्दानी रकम बाँडफाँड गर्छौं,’ उनले भनिन, ‘फाइबर झोलाको बजारमा माग बढी छ, बिक्रीमा समस्या छैन ।’ घरको चुलोचौको पछिको समय सदुपयोग गर्दा रतनपुरका महिला बेफुर्स्दिला बनेको लालीगुराँस समूहकी अध्यक्ष राधिका धमलाले सुनाइन ।
‘बस्तीका २० महिला झोला बनाउन तल्लीन छन, यसबाट महिलाको आयसमेत वृद्धि भएको छ,’ उनले भनिन, ‘समूहका हरेक महिलाले मासिक १० हजार रुपैयाँसम्म आम्दानी गरेका छन् ।’ महिलाको आम्दानी वृद्धिसँगै उनीहरूले बस्तीमा मासिक बचत अभियान पनि सुरु गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले रतनपुरमा निःशुल्क सिलाइकटाइ तालिमको आयोजना गर्ने भएपछि महिलाहरूले सिलाइकटाइको साटो फाइबर झोला निर्माणको तालिम माग गरेका थिए । सगरमाथाको व्यापारिक केन्द्र लहान बजार सगरमाथा अञ्चलमै पहिलो, ‘प्लास्टिक झोलामुक्त’ सहर २०७१ जेठ २२ गते घोषणा भएपछि उनीहरूले फाइबर झोलाको माग राम्रो भएको भन्दै त्यसैको तालिम माग गरेका थिए ।
‘सगरमाथाकै व्यापारिक केन्द्र लहान नगरपािलकालगायत जिल्लामै प्लास्टिक झोला मुक्त अभियान चलेपछि फाइबर झोलाको माग बढेको थियो,’ राधिका धमलाले भनिन्, ‘व्यापारीले बाहिरबाट झोला सप्लाई गर्नुभन्दा हामी महिला आफैं झोला बनाएर बिक्री गर्ने सोचाइमा पुग्यौं, नभन्दै ९० दिनको तालिम लिएर बिक्री सुरु गरेका छौं ।’
सुरुवाती दिनमै महिलाद्वारा उत्पादित फाइबर झोलाले बजार राम्रो पाएपछि महिला सहभागिता बढाउन उनीहरू लागिपरेका छन् ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »