सप्तरीका सबै केन्द्र सुरक्षा ‘संवेदनशील’

प्रकाशित समय 10:05:00 AM
सप्तरी, २४ जेष्ठ । सप्तरीका सबै मतदान स्थल र मतदान केन्द्रलाई सुरक्षा निकायले सुरक्षाको दृष्टिले ’संवेदनशील’ मानेको छ । सीमा क्षेत्र र विगतमा अवाञ्छित गतिविधि भएका आधारमा सबै केन्द्र सुरक्षाका दृष्टिले संवेदनशील देखिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रलाई संवेदनशील र अति संवेदनशील गरी दुई भागमा वर्गीकरण गरिएको छ । दुई सय ६ मतदान स्थलको तीन सय २६ मतदान केन्द्र अति संवेदनशील र ८६ मतदान स्थलको एक सय ३५ मतदान केन्द्र संवेदनशील रहेको कार्यालयले जनाएको छ । सप्तरीमा कुल मतदान स्थल दुई सय ९२ र मतदान केन्द्र चार सय ६१ छन् ।
कार्यालयका अनुसार अति संवेदनशील मानिएका मतदान स्थलमा एउटा मतदान केन्द्र भएका ९०, दुई मतदान केन्द्र भएका एक सय १२ र तीन मतदान केन्द्र भएको चार मतदान स्थल छन् । यस्तै एउटा मतदान केन्द्र भएका ४२, दुई मतदान केन्द्र भएका ३९ र तीन मतदान केन्द्र भएका पाँच मतदान स्थल संवेदनशील रहेका छन् ।
निर्वाचनलाई लक्षित गरी दुई हजार ३३ नेपाल प्रहरी र दुई हजार दुई सय ७६ म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताउनुभयो । त्यस्तै सशस्त्र प्रहरी र नेपाली सेना पनि परिचालन गरिने जनाइएको छ । संवेदनशील जिल्लाका रूपमा रहेको सप्तरीमा १९ जना प्रहरी निरीक्षक तथा एक सय ४० जना प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी एक हजार एक सय ६४ जनशक्ति थप गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो । चुनावका लागि भनेर चार सय सुरक्षाकर्मी आइसकेको र चुनाव हुनु एक साताअघिसम्म थप सुरक्षा बलसमेत आइपुग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरी निरीक्षकको कमान्डमा नौवटा नगरपालिकामा १८ वटा तथा आठ गाउँपालिकामा एउटा गरी २६ वटा मोबाइल गाडीले गस्ती गर्नेछ ।
सशस्त्र समूहको चुनौती रहेको सप्तरीमा राजपा नेपालले निर्वाचनमा भाग नलिए चुनौती थपिने भएकाले केन्द्रहरूमा सुरक्षा व्यावस्था मजबुत पारिएको प्रजिअ कटवालले बताउनुभयो । जिल्लाका विकट मानिएका क्षेत्रसहित प्रमुख बजारका चोक र सीमानाका क्षेत्रमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी चेकजाँच र निगरानी बढाइएको उहाँले जानकारी दिनुभयो ।
नौ नगरपालिका र आठ गाउँपालिका रहेको सप्तरीमा आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एक साताअघि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर चार सय ६१ मतदान केन्द्रमा दुई हजार सात सय ५० जना कर्मचारी परिचालन गरिने छ । सप्तरीमा महिलातर्फ एक लाख ६० हजार ६ सय ८६, पुरुषतर्फ एक लाख ७० हजार सात सय ५५ र तेस्रोलिंगी २१ गरी कुल तीन लाख ३१ हजार चार सय ६२ मतदाता छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »