- ५५ मतदान अधिकृत नियन्त्रणमा, निर्वाचन तालिम स्थगित
- सेना परिचालन
- सेनाद्वारा पत्रकारलाई अवरोध
- राजपाको आन्दोलनमा राष्ट्रिय झन्डा
- प्रहरी र राजपा कार्यकर्ताबीच झडप
सप्तरी, ३१ जेष्ठ । संविधान संशोधन नगरी स्थानीय निकायको चुनाव गर्न लागेको भन्दै मंगलबारबाट राष्ट्रिय जनता पार्टी नेपालले सुरु गरको आम हड्तालको दिन प्रतिदिन तनावपूर्ण बन्दै गएको छ ।
५५ मतदान अधिकृत नियन्त्रणमा, निर्वाचन तालिम स्थगित


जिल्ला निर्वाचन कार्यालय सप्तरी प्रमुख महेशकुमार ठाकुरका अनुसार बुधबार हुने भनिएको सहायक मतदान अधिकृतहरुको तालिम राजपाको अवरोधका कारण अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जानकारी दिए । राजपा कार्यकर्ताले कपिलदेव यादव, केजुलाल चौधरी, रविन्द्र साह, अरुणकुमार दास र वैद्यनाथ साह, विन्दु खंगलगायत ५५ जनालाई महेन्द्र क्याम्पस परिसरमै नाराबाजीका बीच घेरा हालेर राखेका थिए ।
संविधान संशोधन, जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या निर्धारण, मधेस आन्दोलनका क्रममा मारिएकाहरुलाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार व्यवस्था सरकारले नगरेको भन्दै राजपा निर्वाचनविरोधी आन्दोलनमा छ ।
सेना परिचालन
तराईका विभन्न जिल्लामा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुको निर्वाचनविरोधी गतिविधि बढ्न थालेपछि नेपाली सेनाले आफ्नो उपस्थिति बढाउन थालेको छ । सप्तरी सदरमुकाम राजविराजमा राजपाले बुधबार सहायक मतदान अधिकृतहरुको तालिम बिथोलेपछि सो स्थानमा नेपाली सेनाको टोली पुगेको छ । स्थानीय प्रशासनले सेना खटाएकोबारे औपचारिक रुपमा केही बताएको छैन ।
राजविराजमा खटिएका सेनाले स्थानीय सञ्चारकर्मीहरुलाई फोटो खिच्न रोक लगाएको छ । राजपा कार्यकर्ताहरुले निर्वाचन तालिमका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा रहेको तालिम स्थल जाँदै गरेको सहायक मतदान अधिकृतहरुलाई जबर्जस्ती नियन्त्रणमा लिँदै घेराहाली क्याम्पसको मुलगेटमा आफूसँगै धर्नाका बसाएका थिए । सो क्रममा नेपाल र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिका बीच झण्डै ५० को संख्यामा नेपाली सेनाको टोली पुगेको थियो ।
त्यस्तै महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले ट्यांकसहितको गस्ती थालेको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टीको दोस्रो दिनको बन्दका क्रममा नेपाली सेना ट्यांकसहित जलेश्वरमा देखिएको हो ।
नेपाली सेनाले आन्दोलनको समयमा अप्रिया घटना नहोस् भनी ट्यांकसहित गस्ती थालेको सेनाका अधिकारीले अनौपचारिक रुपमा बताएका छन् । सेनाको ट्यांकर देखेर जलेश्वरका वासिन्दाहरु त्रसित भएका छन् । यसअघिको मधेश आन्दोलनको क्रममा जलेश्वरमा सुरक्षाकर्मीले आठ जना भन्दा बढी मधेशीको गोली हानी हत्या गरेको थियो ।
यता राजपाले गरेको बन्दमा कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले प्रत्येक चौकमा ठूलो संख्यामा प्रहरी तैनात गरेको छ । महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले चाहिने जति संख्यामा प्रहरी खटिएको बताउँदै केही घटना बाहेक बन्द शान्तिपूर्ण रहेको प्रतिक्रिया दिए ।
सेनाद्वारा पत्रकारलाई अवरोध
सप्तरीको राजविराजमा नेपाली सेनाको फोटो खिच्ने क्रममा सेनाले फोटो नखिच्न भनेको थिए । फोटो खिच्दै गरेका पत्रकारहरुलाई डयुटीमा आएका सेनाले भने, ‘हाम्रो फोटो खिच्न पाइन्न ।’ सञ्चारकर्मीहरुले सार्वजनिकस्थलमा सुरक्षाकर्मीको फोटो लिन पाउनु आफूहरुको पेसागत कार्य भएकोले फोटो खिच्न रोक लगाउनु प्रेस स्वतन्त्रताविपरीत हुने फोटो खिच्न नपाउने सेनाको कुराको प्रतिवाद गरेका थिए । १० मिनेटसम्म नेपाली सेनाको उक्त टोली निर्वाचन तालिम स्थल महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको उत्तरी भागमा रहेर फर्केको थियो ।

नेपाल पत्रकार महासंघ सप्तरीले सञ्चारकर्मीहरुलाई पटक पटक फोटो खिच्न रोक लगाउने नेपाली सेनाको कार्यप्रति आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खडगाले सार्वजनिकस्थलमा सूचना संकलनका क्रममा फोटो खिच्न पाउनु पत्रकारको पेसागत अधिकार भएको र त्यसमा रोक लगाउने कार्य प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिकै प्रहार भएको बताए । उनले पत्रकारहरुलाई निर्वाध सूचना संकलन, सम्प्रेषण र तस्बिर लिने वातावरण सृजना गरिदिन सरकारसँग माग गरे ।
राजपाको आन्दोलनमा राष्ट्रिय झन्डा

प्रहरी र राजपा कार्यकर्ताबीच झडप, दुई घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहामा प्रहरी र राजपा नेपालका कार्यकर्ताबीच झडप भएको छ । झडपमा प्रहरीको कुटाईबाट राजपाका दुई जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरुमा खडग नगरपालिका–२ का शुभकलाल महतो र विशेश्वर महतो रहेको इलाका प्रहरी कार्यालय कडोरवनाका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवले जानकारी दिए ।

