मधेसमा राजपा र फोरमबिच नै मुठभेडको खतरा, दुरी बढ्दै

प्रकाशित समय 8:18:00 PM
   जनकपुर, ३१ जेष्ठ । स्थानीय तहको दोश्रो चरणको चुनावलाई लिएर मधेसवादी दलबिच मै दुरी बढ्न थालेको छ । विगतदेखि नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एवं संघीय गठबन्धनमा एकवद्ध भएर आन्दोलनको कार्यक्रम गर्दै आएको संघीय समाजवादी फोरम र ६ वटा दल एकीकृत भएको राजपा नेपालबिच चुनावकै विषयलाई लिएर मतान्तर बढ्न थालेको हो ।
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति लगायतका दलभन्दा राजपा संघीय समाजवादी फोरममाथि आक्रामक छन् । संविधानमा प्राप्त उपलब्धिलाई जोगाउन भनेर अन्तमा चुनावमा भाग लिएका संघीय समाजवादी फोरम नेपाल र विना संविधान संशोधन चुनाव हुन नदिने भन्दै त्यसलाई विथोल्न आन्दोलनमा उत्रेका राजपा नेपालका नेता कार्यकर्ता एक अर्काप्रति आक्रामक समेत बन्न थालेका छन् ।
राजपा नेपालले आह्वान गरेको तराई मधेस बन्दको दोश्रो दिन बुधबार जनकपुरको पिडारीचोकमा रहेको संघीय समाजवादी फोरमको प्रदेश नं. २ को कार्यालयमा राजपा नेपालले ढुंगामुढा गरेपछि दुवै पार्टीका नेताकार्यकर्ताबिच झडपको स्थिति सृजना भएको थियो ।
दोश्रो चरणको चुनावको लागि उम्मेदवार चयन गर्न फोरमका नेता कार्यकर्ता पार्टी कार्यालय भित्र छलफलमा भएका बेला राजपाका नेता कार्यकर्ताले प्रदर्शन गर्दै पार्टी कार्यालय घेराउ गरेपछि तनाव उत्पन्न भएको थियो । प्रहरीले कडा सुरक्षा दिएपछि दुई तर्फी झडप हुनबाट रोकियो । फोरमका अध्यक्ष उपेन्द्र यादव चुनावमा भाग लिएर मधेसी जनतालाई धोका दिएको र उनको बर्तमान अभिव्यक्ति मधेसी जनतामाथिको बज्रपात भएकाले विरोध गर्दै पार्टी कार्यालय घेराउ गर्न पुगेको रजपाका नेताहरुले बताएका छन् ।
एकाएक ढुंगामुढा गर्दै पार्टी कार्यालय घेराउ गरेको भन्दै फोमका नेताकार्यकर्ता पनि आक्रोशित भई प्रतिकार गर्ने मुडमा पुगेका थिए । तर व्यापक मात्रामा प्रहरी परिचालन भएपछि बिचमै राजपाका नेताकार्यकर्ता आ–आफ्नो गन्तव्य लागे र अवस्था साम्य भएको थियो ।
बुधबार नै महोत्तरी जलेश्वरको खाराचोकमा रहेको संघीय समाजवादी फोरमको जिल्ला पार्टी कार्यालयमा राजपाका नेताकार्यकर्ताले तोडफोड गर्दै पार्टीको झण्डा जलाउनुको साथै बोर्डमा कालो पोतेका छन् । त्यहाँ फोरमका नेताकार्यकर्ता नभएका कारण केही हुन नसकेको स्थानीय बासिन्दा बताउँछन् । तर यस घटनाका विषयमा फोरम महोत्तरीका अध्यक्ष रामनरेश रायले आफूहरु कार्यालयमा नभएको बेला लुकेर तोडफोड गर्नु दुःखद भएको प्रतिक्रिया दिनुभयो । उहाँले आफूहरु पार्टी कार्यालयमा भएको भए प्रतिकार हुन सक्ने प्रतिक्रिया दिनुभयो ।
मंगलबार विरगञ्जको आदर्श नगरचोकमै रहेको संघीय समाजवादी फोरम नेपालको कार्यालयमा झुण्ड्याईएको व्यानर च्यात्नुको साथै तोडफोड गरेका थिए । विरगञ्जमा मंगलबार फोरम अध्यक्ष यादवको पुत्लासमेत राजपाले जलाएका थिए । गएको आइतबार मात्रै सर्लाहीको मधुवनगोठमा संघीय समाजवादी फोरमले आयोजना गरेको सभालाई अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्न आएको बेला राजपा नेपालका नेता कार्यकर्ता कालो झण्डा देखाउँदै विरोध र अवरोध गरेपछि झडपसमेत भएको थियो ।
यसरी नै तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा लगायतका जिल्लाहरुमा राजपाले फोरम नेपालको चुनावी तयारीमा अवरोध गर्दै आक्रमक बन्दा दुई पार्टीका नेता कार्यकर्ताबिच मुठभेडको खतरा बढ्दै गएको छ । फोरम अध्यक्ष उपेन्द्र यादवले पछिल्लो समय दिएको अभिव्यक्तिले समेत राजपाका नेताकार्यकर्ताहरुमा आक्रोश पलाउँदै गएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »