डा हरिवंश झाले मिथिला चित्रकला प्रकृतिमा आधारित भएकाले यसलाई विश्व बजारमा प्रवद्र्धनका लागि सरकारी प्रयासको आवश्यकतामा जोड दिँदै व्यक्तिगत रूपले कतिपय कलाकारले मिथिला चित्रकलामार्फत सन्तोषजनक आयआर्जन गरे पनि समग्रमा यसप्रति समर्पित कलाकारको आर्थिक पक्ष निकै कमजोर रहेको बताए । प्रा डा भोगेन्द्र झाले मिथिला चित्रकलालाई सरकारी संरक्षण, कच्चा पदार्थमा सरकारी सहुलियत र कलाकारको अधिक सहभागिताका लागि रोजगार एवम् अवसरको व्यवस्थापनको खाँचो औँल्याए ।
कलाकर्मी सुनिल मल्लिकले मिथिला चित्रकलामा लागेकाहरूको सीपलाई उचित सम्मान प्राप्त नभएका कारण तिनको जीवनस्तर कहालीलाग्दो भएको बताए ।
कलाकार सुधीरा, सुनयना, इन्दुले पारिवारिक अनेक समस्या भए पनि मिथिला चित्रकलामा जीवन समर्पण गरेको तर नयाँ पुस्तामा भने यस कलाप्रतिको विमुखताले चिन्ता लागेको धारणा राखे । अध्येता चित्रकला झा, अतुल ठाकुर र वसन्त ठाकुरले यसको बजारीकरण र उद्यमशीलताको विकासका लागि उपायको पहिचानको प्रयास गर्नु आवश्यक छ भने ।
