के अब राजपा नेपाल बिना नै हुन्छ चुनाव ?

प्रकाशित समय 7:26:00 PM
काठमाडौ, २६ जेष्ठ । आफैले भोट हालेर बनाएको प्रधानमन्त्री शेरबहादुर देउवाले मधेशको माग तत्काल पूरा नगर्ने पक्षमा देखिएपछि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरु निराश बनेका छन् । संविधान संशोधन बाहेकका अन्य मागहरु पूरा गरि दिए चुनावमा जाने मनस्थिति बनाएका राजपा नेपालका नेताहरु निराश बन्दै आन्दोलनको तयारीमा जुटेका छन् । दोस्रो चरणको स्थानीय तहको चुनावपछि संविधान संशोधन हुने कुरामा राजपा नेपालका नेताहरु कन्भिन्स थिए तर त्यसबाहेकका मागहरु पूरा गरि दिएर चुनावको वतावरण बनाई दिनुपर्ने उनीहरुको चाहना थियो ।
के छ उनीहरुको माग ?
जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप गर्ने
आनदोलनका क्रममा मृत्यु भएकाको सहिद घोषणा गर्ने
आन्दोलनका क्रममा समातिएकालाई रिहा गर्ने
आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता गर्ने
आन्दोलनको क्रममा घाइते भएकालाई व्यवस्थापन गर्ने
आन्दोलनका क्रममा भएका धनजनको क्षतिको क्षतिपूर्ति
स्थानीय तहको संख्या थप गरेको छ तर सर्वोच्च अदालतले अन्तरिम आदेश गरेपछि त्यो विवादमा परेका छ । त्यस्तै मृतकलाई सहिद घोषणा गर्ने काम भएका छ तर मधेशी दलले आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा गर्न माग गरेको छ । आन्दोलनको क्रममा समातिएकालाई रिहा गर्ने विषयमा सरकारले कानुनमन्त्रीको संयोजकत्वमा एक छानविन समिति बनाएको छ तर अझै काम भएको छैन ।
आन्दोलनका क्रममा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता लिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ तर प्रतिपक्षी दलले त्यसप्रति आपत्ति जनाएपछि अहिले सो निर्णय विवादित अवास्थामा रहेको छ । आन्दोलनको क्रममा घाइते भएकाहरुमध्ये केहीले उपचार खर्च पाए पनि धेरैले नपाएको दावी मधेशवादी दलको रहेको छ । घाइतेहरुको अवस्था धरै नराम्रो छ तर सरकारले कुनै चासो नलिएको गुनासो उनीहरुको छ ।
आन्दालनका क्रममा क्षति भएकालाई क्षतिपूर्ति दिने मन्त्रीपरिषद्ले निर्णय गरेपनि पीडितको हातसम्म अझै नपुगेको मधेशीवादी दलको आरोप छ । असार २ गते स्थानीय तहको चुनावका लागि उम्मेदवारी दिने कार्यक्रम रहेको छ । त्यो दिन आउन आठ दिन मात्र बाँकी छ । अरु दलले आआफ्नो उम्मेदवार समेत गरिसकेको छ तर राजपाले अहिले त्यसको बारेमा सोचेको पनि छैन । राजपा नेपाल अझै आन्दोलनमै छ ।
देउवा प्रधानमन्त्री भएको चार दिन भइसक्यो तर यसमा विषयमा कुनै छलफल तथा जिज्ञासा समेत नराखेको राजपा नेपालका नेताहरुको गुनासो छ । प्रधानमन्त्री प्रचण्ड पनि मधेशी मोर्चासँग तीन बुँदे सम्झौता गरेर प्रधानमन्त्री बनेका थिए । उनी प्रधानमन्त्री बनेकै भोलीपल्ट मधेशी मोर्चाका नेताहरुलाई बोलाएर छलफल गरेका थिए र दोस्रो मन्त्रीपरिषद्को बैठकबाट घाइतेलाई उपचार खर्च दिने निर्णय गरेका थिए तर प्रधानमन्त्री देउवाले हालसम्म कुनै चासो नलिएको उनीहरुले गुनासो गरे ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘राज्यले हामीलाई चुनावबाट बन्चित गराई रहेका छन, हामी चुनावमा जानका लागि तयार छौ तर राज्यले त्यसको वतावरण बनाइरहेका छैन, संविधान संशोधन हाम्रो बटमलाईन हो यसभन्दा तल झर्न सकिदैन तर सरकारले गर्न सकिने अरु मुद्दाहरु छन् जसको बारेमा कुनै छलफल भइरहेको छैन ।’
अब आन्दोलनबाहेक आफूहरुसँग अरु कुनै विकल्प नरहेको बताउँदै उनले राजपा नेपालबाहेक यदि चुनाव भयो भने त्यो सफल नहुने जिकिर गरे । स्थानीय तह निर्वाचन ऐन संशोधन गरेको छ, त्यो आफूहरुको प्राथमिकताको विषय होइन, त्यसले चुनावको वतवारण बनाउन सक्दैन, ऐन संशोधन गर्नका लागि एक भएका दलहरु संविधान सशोधन गर्न किन मानिरहेका छैन भनि उनले प्रश्न गरे ।
जेष्ठ २३ गते प्रधानमन्त्री बनेका देउवाले एकदुई दिनमा केही गर्लान् भनेर जेष्ठ २५ गते सकिएको आन्दोलन कार्यक्रममा राजपा नेपालले त्यसैमा दुई दिन थपेको छ । त्यो थपेको आन्दोलनका कार्यक्रम पनि शनिबार सकिँदैछ । शनिबार नै बैठक बसेर सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको राजपा नेपालका महासचिव केशव झाले बताए ।
उनले भने, ‘असार १४ गते चुनावमा भाग लिने सम्भावना लगभग सकिएको छ, २८ गतेदेखि भीषण आन्दोलनको घोषणाका लागि शुक्रबारैदेखि तयारीमा जुटेका छौ ।’ झुलाउनेको एउटा सीमा हुन्छ, राजपा नेपाल चुनावमा भाग लिओस् भनेर स्थानीय तह निर्वाचन ऐन पास भयो तर आफूहरुले १० वर्षदेखि माग गर्दै आएको विषयमा कुनै चासो नलिएको उनले टिप्पणी गरे ।
उनले भने, कतै कुनामा अलि अलि चुनावमा जाने इच्छा थियो तर यो राज्यको रवैयाले अब त्यो पनि रहेन, अब हाम्रो माग पूरा गर्न शनिबारदेखि नै सरकारले शुरु गरेपनि असार २ गतेसम्म सम्भव छैन, संविधान संशोधनको कुरा त धेरै टाढाका कुरा हो ।’
स्थानीय तहको संख्या थपेको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको तर त्यसमा सरकारले भ्याकेट गर्ने भनिएको थियो तर अझै नगरेको उनले गुनासो गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »