पानी नपर्दा धनुषा र महोत्तरीमा सुक्न थाले धानका बिउ

प्रकाशित समय 8:25:00 PM
जनकपुर, १६ असार । औपचारिक कार्यक्रम गरी बिहीबार धान दिवस मनाए पनि तराई मधेशका जिल्लामा समयमा पानी नपरेका कारण बिउ ब्याडमै सुक्न थालेको छ । पानी नपरेका कारण खेतमा धुलो उड्ने गरेको छ । माघदेखि जेठसम्म अधिकांश जमिन बाँझै छोडेका असारमा समेत वर्षा हुने छाँटकाँट नदेखेपछि कृषक चिन्तित छन् ।
रोपाइँको चटारो हुनुुपर्ने बेलामा समेत पानी अभावमा रोपाइँ गर्नै नपाइने  चिन्ता बढेको जनकपुर उपमहानगरपालिकाका किसान लालबाबु यादवले बताए । ‘आधा असार बितिसक्यो तर पानीको अतोपत्तो छैन’,उनले भने, ढिलो गरी धान रोप्यो भने रोग लागेर बाली नै घट्छ ।’ जिल्ला कृषि विकास कार्यालयका अनुसार धनुषामा कुल १ लाख १९ हजार हेक्टरमध्ये ७६ हजार हेक्टर जमिन खेतीयोग्य रहेको छ। त्यसमध्ये सिंचाइको सुविधा र साधनस्रोत भएका किसानले १५ देखि २० हजार हेक्टरमा जेनतेन रोपाइँ गरिरहे पनि अकाशे पानीको भरमा खेती हुने ५६ हजार हेक्टर जमिनका लागि छरिएको बीउ समेत ब्याडमै सुक्न थालेको छ ।
पानी अभावका कारण बीउ नै सुकन थालेपछि उपजमा कमि हुने निश्चित रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरको अनुमान छ । उनले भने, ‘केही दिन पछि पानी परे पनि खडेरीका कारण रोपाइँको बेला बीउको अभाव हुनेछ ।’   समयमा पानी नपरेकाले उत्पादनमा समेत ह्रास आउने खतराले किसानहरू चिन्तित बनेका हुन् । सरकारले सिंचाइ र कृषिजन्य सामग्रीको उत्पादन बढाउन बर्सेनी करोडौं रुपैयाँ खर्चिने गरेको भए पनि लक्षित वर्गसम्म नपुग्दा किसानहरु मर्कामा परेका हुन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »