नियमविपरीतका विद्यालय कारबाहीमा

प्रकाशित समय 5:11:00 PM

बालबालिकाको भविष्यमाथि खेलबाड भएको शिक्षाको ठहर

गोलबजार, २० जेष्ठ । नियमविपरीत वर्षौंदेखि सञ्चालित संस्थागत विद्यालयलाई जिल्ला शिक्षाले अनुगमन गरी कारबाही सुरु गरेको छ । बजार र ग्रामीण क्षेत्रका टोलटोलमा बग्रेल्ती अवैध रूपमा संस्थागत विद्यालय खुल्ने क्रम बढेपछि शिक्षामा विकृति रोक्न शिक्षाले कारबाही थालेको हो ।
शिक्षा अधिकारी अरविन्दलाल कर्ण नेतृत्व टोलीले त्यस्ता विद्यालयको अनुगमन गरिरहेको छ । ९२ विद्यालय अनुगमनका क्रममा १३ संस्थागत विद्यालय अनुमतिबिना सञ्चालनमा रहेको फेला परेको थियो ।दर्ताबिनै सञ्चालित त्यस्ता विद्यालयले कुनै निजी तथा सामुदायिक विद्यालयबाट विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदै आएको भेटिएको छ । अनुमतिबिना सञ्चालित निजी विद्यालयले कक्षामा पढ्ने विद्यार्थीलाई कोचिङ कक्षाको नाममा झुक्याउने प्रयास गरेको र तिनले छुट्टै रजिस्टर राखी ठगी धन्दा गरेको अनुगमन क्रममा भेटिएको छ ।
ठाडी बजारको मुनलाइट इङलिस बोर्डिङ स्कुल कक्षा ५ सम्म सञ्चालित छ । तर, शिक्षामा दर्ता छैन । यस्तै सिरहाको ग्रामीण क्षेत्र सिक्रौन ३ का ब्राइट फ्युचर कक्षा ५ बीएस मिथिलेश आवासीय बोर्डिङ भगवानपुर २ का कक्षा ३, कक्षा ७ सम्म पठनपाठन गराउँदै आएको भगवानपुर ४ स्थित राजदेवी शिक्षादीप पाठशाला अनुगमन क्रममा सञ्चालनमा भेटिएका छन् । यी विद्यालय शिक्षामा दर्ता छैनन् ।
यस्तै, सिरहा नगरपालिका भलुवाहीका शुभकामना स्कुल कक्षा ५ सम्म, लक्ष्मीपुर प्रमका जीवन ज्योति, गोल्डेन फ्युचर कक्षा १० सम्म दर्ता्बिना सञ्चालनमा रहेको भेटिएका छन् । फ्रेन्ड्स एजुकेसनल सिरहा कक्षा ३, मेरी चिल्ड्रेन सुकचैना कक्षा ५, क्रिएटिभ स्कुल छपराडी कक्षा ८, न्यु सगरमाथा स्कुल मौवाही शिक्षामा दर्ता छैनन् । एसियन गुरुकुल एकेडमी लहान २१ कक्षा ५, न्यु शिशु निकेतन लहान २३ कक्षा ७, लहान रेन्बो इन्टरनेसनल बोर्डिङ स्कुल कक्षा १० सम्म बिनादर्ता चलाइएका छन् ।
अनुगमनमा दर्ता्बिना सञ्चालनमा भेटिएका विद्यालयलाई विद्यार्थी हाजिरी रजिस्टर, खातापाता कब्जा लिएको शिक्षा अधिकारी कर्णले बताए । ‘अवैध भेटिएका विद्यालयलाई तुरुन्त बन्द गर्ने निर्देशन दिएका छौं,’ उनले भने, ‘अभिभावकलाई ढाँटी चर्को रकम असुली गर्दै आएका र बालबालिकाको भविष्यमाथि खेलबाड गर्ने विद्यालय सञ्चालकलाई अटेर गरे कारबाहीको दायरामा ल्याउँछौं ।’
उनका अनुसार अनुमति नलिई अवैध सञ्चालित विद्यालयले पहिलोपटकको निर्देशन अटेर गरे स्थानीय प्रशासन ऐनअन्तर्गत २५ हजार जरिवाना हुनेछ । दोस्रो पटकमा १ लाख जरिवाना र ६ महिना कैद तथा तेस्रो पटकमा सम्पत्ति जफत हुने प्रावधान छ ।
अनुमतिबिना कक्षा थप्दै
कतिपय नाम चलेका निजी विद्यालयले कम कक्षाको अनुमति लिएर माथिल्लो सञ्चालन गरेको पाइएको छ । आदर्श पाठशाला कक्षा ५ सम्म अनुमति पाएका छन् । तर, उक्त विद्यालयमा कक्षा १० चलाइएको अनुगमनमा फेला परेको हो । जिशिअ कर्णले यस्ता विद्यालय पनि सिरहामा धेरै रहेको सुनाए ।
‘यस्ता धेरै यहाँका निजी स्कुलका प्रिन्सिपलहरूले सामुदायिक विद्यालयका प्रअलाई प्रभावमा पारेर आफ्ना विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदै आएको पायौं,’ उनले भने, ‘त्यस्ताको हाजिरी रजिस्टर जफत गरेका छौं, सामुदायिक विद्यालयमा विद्यार्थीको नाम टायल गरी नाम मिलेमा यसमा संलग्न निजी र सामुदायिक विद्यालय दुवैलाई कारबाहीको दायरामा ल्याउँछु ।’
यता, निजी विद्यालयको संगठन प्याब्सनले गैरकानुनी रूपमा सञ्चालित विद्यालयलाई कारबाही माग गरेको छ । प्याब्सन सिरहाका सचिव उमेश यादवले अवैध विद्यालयमा विद्यार्थी पढ्न गइरहँदा दर्ता भई नियम कानुनअनुसार सञ्चालन रहेका निजी विद्यालयहरू मारमा परेको भन्दै कारबाहीको माग गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »