जन्ती चढेको बस बिजुलीको खम्बामा ठोक्किदा...

प्रकाशित समय 6:46:00 PM
गोलबजार, ५ असार । जन्ती लिएर फर्किंदै गरेको बस बिजुलीको खम्बामा ठोक्किँदा छ जना घाइते भएका छन । सिरहाको लहान नगरपालिका–१५ भित्री सडक खण्डमा पर्ने शोभापुरमा सोमबार साँझ साढे ६ बजेतिर भएको दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र बाँकी चार जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
घाइते सबैको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक हीराबहादुर पाण्डेले जानकारी दिए। बिजुलीको खम्बा ढलेर करेन्ट लाग्दा बसको छतमा रहेका सर्लाही परवानीपुर– २ का १९ वर्षका बुद्ध दोङ र सोही ठाउँका २० वर्षका संजय वाइवाको छातीको भागमा जलेर गम्भीर घाइते भएका छन्।
त्यस्तै,  परवानीपुरकै १५ वर्षका विशेष स्याङ्तानको बायाँ खुट्टा भाँचिएको छ भने २४ वर्षका अर्जुन तामाङको हातमा चोट लागेको छ। जन्ती आएका १६ वर्षका लालबहादुर बुढाथोकी र १६ वर्षका सुरेश बम्जनलाई भने सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ।  लहान– १५ मोहनपुर खोरिया टोलबाट दुलही लिएर सर्लाहीको लालबन्दी नगरपालिका– १७ परवानीपुर जान लहान आउँदै गरेको ना२ख ५८९७ नम्बरको बस बिजुलीको खम्बामा ठोक्किएर तार लत्रिँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।  बसमा रहेका अन्य जन्ती र दुलहा–दुलहीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। बस अहिले घटनास्थलमै रहेको छ भने प्रहरीले घटनास्थलको अनुसन्धान गरिरहेको जनाएको छ। घटनास्थल लहानबाट करिब पाँच किलोमिटर उत्तर भित्री सडक खण्डमा पर्दछ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »