महोत्तरी, ७ असार । महोत्तरी प्रहरीले जलेश्वरमा सञ्चित तीन अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सई प्रदिप भगत नेतृत्वको टोलीले जलेश्वर–४ मा सञ्चालित तीन वटा मदिरा भट्टी नष्ट गर्नुका साथै उक्त भट्टीबाट तयारी मदिरा र कच्चा पदार्थ समेत बरामद गरेका छन् । प्रहरीले उक्त मदिरा भट्टिबाट पाँच सय लिटर तयारी मदिरा र २ हजार ५ सय लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी राजकुमार लम्सालले बताए ।

महोत्तरी प्रहरीले जिल्ला भरी सञ्चालित अवैध मदिरा भट्टी नियन्त्रण गर्ने उद्देश्य साथ विशेष टोली नै परिचालन गरेको र टोली परिचालन गरेपछिको यो पहिलो सफलता हात लागेको एसपी लम्सालले बताए । ‘हामीलाई सूचना आए हामी जिल्लाको जुन सुकै ठाउँमा सञ्चालित अवैध मदिरा भट्टीमा छापामारी यसै गरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिदैं जाने छौँ,’ एसपी लम्सालले भने । महोत्तरी जिल्लामा तीन दर्जन भन्दा बढी अवैध मदिरा भट्टी सञ्चालनमा रहेको स्रोतको दाबी गरेको छ ।
