वैदेशिक रोजगारीका क्रममा ठगिएका २ सय ३८ जनाले क्षतिपूर्तिसहित न्याय पाए

प्रकाशित समय 7:53:00 PM
रामप्रमेश मण्डल
सप्तरी, २५ जेष्ठ । सप्तरीमा वैदेशिक रोजगारीका नाममा ठगिएका २ सय ३८ जनाले क्षतिपूर्तिसहित न्याय पाएका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी) हेल्भेटास नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजले गरेको कार्यक्रममा सूचना केन्द्रमा ठगिएका ३ सय १७ जनाले निवेदन दिएकोमा २ सय ३८ ले क्षतिपूर्तिसहित न्याय पाएको सूचना केन्द्रले जानकारी दिएको हो ।
गएको असोज १५ गतेदेखि अहिलेसम्म उनीहरुलाई क्षतिपूर्ति स्वरुप १ करोड १९ लाख ९७ हजार ४ सय १३ रुपैयाँ दिएको सूचना केन्द्रले जनाएको छ । यो अवधिमा विदेशमा ज्यान गुमाएका ६ जनालाई क्षतिपूर्ति दिइएको केन्द्रले जनाएको छ । त्यस्तै ३२ जनालाई सीप सिक्न सिफारिस गरिएको केन्द्रले जनाएको छ ।
‘वैदेशिक रोजगार सम्बन्धी समस्या तथा चुनौति न्युनिकरण तथा न्यायमा पहुँच अभिबृद्धि गर्न हाम्रो भूमिका’ विषयक अन्तरक्रियामा सहभागी सप्तरीका स्थानीय राजनीतिकहरुले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दलहरुले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पहल गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् । उनीहरुले विदेश जानेहरु बढेसँगै चेतना र सीपको अभावमा  स्वदेशमा ठगिने अनि विदेशमा अलपत्र पर्ने, दुर्घटनामा परी अंगभंग हुने, भने अनुसारको काम र तलव नपाउने, ज्यान जाने, पारिवारिक कलह हुने जस्ता समस्या आएको भन्दै ती समस्या न्युनिकरणका लागि पहल गर्ने बताएका हुन् ।
सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा २३ वटा राजनीतिक दलका प्रमुख तथा प्रतिनीधिसँगै जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत नवराज खड्का, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्याम सुन्दर यादव, सामी हेल्भेटास नेपालका जिल्ला परियोजना संयोजक देव नारायण चौधरी, सबल नेपालका चन्दन यादव सहित जम्मा ४७ जना सहभागी थिए ।
सामी हेल्भेटास नेपालका जिल्ला परियोजना संयोजक देवनारायण चौधरीले वैदेशिक रोजगारीको अवस्था बारे जानकारी गराएको कार्यक्रममा परियोजनाको कार्यक्रम अधिकृत चन्दन यादवले विद्यालय तथा आम सञ्चार कार्यक्रम र हालै सञ्चालनमा ल्याइएको सुरक्षित टोल अभियानका बारेमा बताउनुभएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »