सधैं समस्यामा महानगरका सुकुम्बासी

प्रकाशित समय 6:34:00 PM
मोरङ, ८ असार ।  ६० वर्षीय भगलु ऋषिदेवको विराटनगर १२ बखरीमा ४ पुस्ता अगाडिदेखि बसोबास छ । त्यो भन्दा पनि अगाडि आफ्ना पुर्खा उक्त ठाउँमा जंगल फाँडेर बसेको बाबुबाजेले भनेको उनी अझै सम्झन्छन् ।
थोरै परिवारबाट ऋषिदेव (मुसहर) जातिको अहिले बखरीस्थित ४ टोल भएको छ । एकातिर ऋषिदेवहरूको पुस्ताले जंगल फाँडेर बनाएको उब्जाउ जग्गा हुनेखाने वर्गले हडपेर जग्गाधनी पुर्जा बनाइसकेका छन् । पुर्खौंदेखि बसेको उनीहरूको जग्गा भने ऐलानीमा दरिएको छ । माटोलाई देउता मान्ने ऋषिदेव समुदाय अहिले बसेको बस्ती सुकुम्बासीमा परिणत भएको छ ।
बर्सेनि मुसहर समुदायले असार महिनामा माटो दिवस मनाएर सामूहिक रूपमा पूजा गर्छन् । दुर्भाग्य उनीहरूको आफ्नो माटो भने छैन । कि त जमिनदारको कि सरकारको माटो पूजा गर्छन् । आफूहरूको जातीय पेसा पनि माटो काट्ने नै भएको र त्यसैबाट जीवन गुजारा चल्ने गरेकाले पूजा गर्ने गरेको उनले बताए । भगलुले आफ्ना बाबुबाजेले २००४ सालमा जग्गाको नापनक्सा गराएन र आफूहरूले ०३० सालतिर गराइएन ।
मुलुकको दोस्रो सहर विराटनगरमा सुकुम्बासी बस्तीको अवस्था बेहाल छ । उनीहरूको टोलमा सडक, बाटो, खानेपानी, सरसफाइ, शौचालयलगायत विकासको न्यूनतम पूर्वाधारसमेत देखिएन । ‘जीउभरि लुगा र पेटभरि खाना नभएपछि के हुन्छ ?,’ उनले प्रतिप्रश्न गरे । ३० वर्षीय विजय ऋषिदेवले आफ्ना पुर्खाले जंगल फाँडेर बसेको जग्गा अनेक जालझेल गरेर पटबारीले हडपेको भन्दै आक्रोश पोखे । ‘आफूहरूको अवस्था जस्ताको त्यस्तै छ । प्रगति शून्य । ऐलानी जग्गामा बस्न बाध्य छौं,’ उनले भने, ‘आफूहरूको प्रमुख समस्या सुकुम्बासी नै हो ।’
विराटनगर महानगरपालिकाले सडक विस्तारका लागि छेउमै भएका घर भत्काउन दिएको सूचनाले १० परिवार चिन्तित छन् । स्थानीय सावित्री ऋषिदेवलाई घर र जग्गा दुवै सडकमा जाने भएकाले बाहिर कतै पनि १ धुर जग्गा नभएको अवस्थामा कहाँ गएर बस्ने भन्नेले पिरोलेको छ । ‘खुला ठाउँमा अरूको जग्गामा शौच गर्न जाँदा जग्गाधनीको गालीसँगै प्रहरीबाट समेत प्रताडित छौं,’ उनले भने, ‘खुला ठाउँमा शौच गर्दा अनेक किसिमको घटनाका साथै लोकलाचसमेत पचाउन बाध्य छौं ।’ स्वास्थ्यमा समेत उनीहरूको पहुँच पुग्न नसकेकाले घरमै प्रसूति गराउँदै आएको छ । उनले आफूहरूलाई कहाँ लग्नुपर्ने थाहा पनि छैन र अस्पतालमा लगे पनि पैसा धेरै लाग्ने भएकाले आर्थिक अभावमा घरमै प्रसूति गराउनुपर्ने बाध्यता सुनाए ।
४५ वर्षीय उमेश ऋषिदेवले यहाँका समुदायमा अझै पनि उपल्लो र तल्लो जात भनेर छुवाछूत कायमै रहेको गुनासो पोखे । ‘पसलहरूमा छुवाछूत नमाने पनि सामाजिक रूपमा भने कायमै छ,’ उनले भने, ‘पहाडी र मधेसी समुदायको मिश्रित बसोबास रहेको विराटनगरमा साम्प्रदायिक द्वन्द्वको समेत सिकार भएका छौं र यसको असर आफूहरूको जीवनको हरेक पक्षमा परिरहेको छ ।’
उनले आफूहरूलाई मधेसी भनेरसमेत सम्भ्रान्त वर्गले हेप्ने गरेको सुनाए । ‘किन मधेसी, भैया, इन्डियन भन्छन, के आफूहरू नेपाली होइन ? नेपाली नागरिकता छ, तर किन यस्तो भेदभाव ?’ उनले भने, ‘यहाँ पहाडी र मधेसी दुवैले एकअर्कालाई भित्रभित्रै दुस्मनको नजरले हेर्छ यो समाजको प्रगतिमा राम्रो होइन । हामी मजदुरीमा किन विभेद ?’
उनले घर सँगै जोडिएको विद्यालयमा शिक्षकले बालबालिकालाई राम्ररी नपढाएकै कारण टोलमा अहिलेसम्म एक जनाले पनि एसएलसी पास गर्न नसकेको गुनासो पोखे । ‘शिक्षक किन पैसा खान्छ ? बच्चालाई समातेर, फकाएर, डराएर, तर्साएर र नभए कुटेर भए पनि पढाउनुपर्छ तर केही गरिँदैन । गफ चुटेर बस्छन,’ उनले भने । विद्यालयमा राम्रो शिक्षा नपाउँदा छोराछोरी पनि आफूहरूजस्तै रक्सी खान थाल्छन् । उनीहरू हामीलाई नै हेरेर सिक्छन् । शिक्षकहरूले राम्रो शिक्षा नदिएकै कारण किन सिकाउँदैनन् ।’
यस्तै पीडा बखरीस्थित ४ वटै ऋषिदेव टोलका २ सय ६० परिवारको छ । बखरी सिमहारही टोलका झरी ऋषिदेवले आफूहरूको बसोबास बाटामै भएको र त्यहाँ बाह्रै महिना हिलो रहने सुनाए । ‘फुरफुरी नदीमा आएको बाढीले आफूहरू बर्सेनि वर्षामा २ महिना विराटनगरको सडकमा बास बस्न बाध्य छौं,’ उनले भने, ‘यहाँ ऐलानी जग्गा अझै धेरै छ तर हुनेखानेको अतिक्रमणले अभाव भएपछि बाटो छेउमा बस्न बाध्य भयौं ।’
यहाँका सांसद अमृत अर्यालको जग्गामा बसोबास गर्दै आएका १५ परिवारलाई फुरफुरी खोला किनारमा ५÷१० धुरको जग्गा दिएर बस्ती सारेको उनले सुनाए । उनले आफूहरू सदियौंदेखि सडकछेउ बस्दा समस्या थिएन तर नदी किनारमा बसेपछि बाढीले बगाउने त्रास भएको गुनासो पोखे । सांसद अर्यालको जग्गाको मुखमा भएको बस्ती सारेपछि अहिले उनको जग्गा करोडौं मूल्यको भएको छ ।
यस्तै, विराटनगर १८ शिवटोलका महतो, कामत, कायस्थलगायतको ६० सुकुम्बासी परिवारको पनि अवस्था उस्तै छ । स्थानीय ६० वर्षीय मर्नु महतोले कोइराला परिवारको घर विराटनगरमा निर्माण भएपछि घोघहा नदीको मुहान नदी उकास जग्गामा सुकुम्बासी परिवार बिस्तारै घर बनाएर बस्न थालेको बताए । पिछडावर्गका मोरङ अध्यक्ष जयनारायण महतोले जताजतै सुकुम्बासी बस्ती रहे पनि अहिलेसम्म राज्यको ध्यानाकर्षण नभएको बताए । उनले यहाँ सुकुम्बासी समस्या समाधानका लागि ठोस योजना जिल्लादेखि नगरसम्मले ल्याउन नसकेको जानकारी दिए ।
विराटनगर महानगरपालिकाले सुकुम्बासीका लागि प्रभावकारी काम गर्न सकेको छैन । सुकुम्बासीका लागि योजना तथा कार्यक्रमसमेत केही छैन । अहिले स्थानीय तहको निर्वाचनका लागि विराटनगर महानगरमा १४ जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् तर कुनै दल र उम्मेदवारको चुनावी एजेण्डा ‘सुकुम्बासी समस्या’ परेन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »