ट्राइसाइकलले धानेको जीवन

प्रकाशित समय 10:10:00 AM

रौतहट, ११ असार । गौर नगरपालिकाको झुनखुन्वाका ६५ वर्षीय बदरी मियाँको जीवनको सहारा बनेको छ एउटा ट्राइसाइकल (तीन चक्के सवारी साधन) । अपाङ्गता भएका मियाँको दैनिकी गुजाराको खर्च उनको ट्राइसाइकलले धानेको छ । उनको एउटा खुट्टा अपाङ्ग छ ।
बदरी मियाँ र उनकी श्रीमती सबिदा खातुन दुवैको उमेर ६० वर्ष भन्दा माथि छ । तर, अझै पनि दुवै दम्पती दैनिक पाँच किलोमिटर टाढा रहेको भारतीय बजार बैरगनिया पुग्छन र बिस्कुटका केही प्याकेटहरु बोकेर झुनखुन्वा फकन्छन । बिहान सबेरै सात बजेबाट शुरु हुने मियाँ दम्पतीको जीवन निकै संघर्षपूर्ण छ ।
पाँचदेखि सात प्याकेटसम्म बिस्कुटका काटुन रिक्साको अगाडि र पछाडि बाँधेर मियाँ ट्राइसाइकलमा बस्छन र हातले पाइडल घुमाउन थाल्छन । रिक्साको पछाडिबाट सबिदा सकिनसकि रिक्सा ठेल्छिन ।
पर्वको बेला छ काम नगरे गुजारा चल्दैन ः बदरी मियाँ
गौर भन्सार क्षेत्रमा भेटिएका बदरी मियाँलाई बुढेसकालमा पनि मिहनेत गरेको देखेर उनको कामको बारेमा सोध्दा आफ्ूले नसकेपनि मजबुरीमा सामान क्यारियरको काम गरिरहेको बताए । ‘ईदको बेला छ, दिनभरी व्रत गर्छौ त्यसैले बिहान र बेलुका केही बेर बिस्कुटका प्याकेटहरु बैरगनियाबाट ल्याएर गौर र आफ्नै गाँउको चोकमा रहेको पसलेलाई बेच्छौं ,’ ट्राइसाइकलमा सामान मिलाउदै गर्दा मियाँले भने ‘काम नगरे पर्वका बेला के खाने ? जकात पनि दिनुपर्छ त्यसैले केही रकमको जोहो गर्दैछु ।’
रमजान महिनाको व्रत समेत गरेका दुवै दम्पतीले दिनभरीमा पाँच सय जति कमाउने गरेको बताए । ‘झण्डै २० किलोमिटर दैनिक हिडदा हात खुट्टा गल्छ । उहाँ साइकलमा बसेर हृयाण्डल समाउनु हुन्छ । म बिस्तारै साइकल ठेलेर गुडाउछु ,’ आफ्ै पनि वृद्धा भइसकेकी सबिदा भन्छिन,’बजार टाढा छ । सामान ल्याउन गाह्रो छ तर पेट पाल्न काम गरिरहेका छौं ।’
गरिब परिवारका यी दुई दम्पती नै एक अर्काका लागि सम्पत्ती बनेका छन । सन्तान नभएका कारण आफ्ूहरुलाई बुढेसकालमा गाह्रो भएको र अरु कुनै आयश्रोतको सहारा नभएकाले ट्राइसाइकलमा सामान ओसारेर जीवन चलाउनु परेको उनीहरुले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »