मधेशलाई घेराबन्दीमा पार्ने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको षडयन्त्रमा राष्ट्रिय जनता पार्टीको दिशाहीनताले सहयोग गरेको यादवले प्रतिक्रिया दिएका छन् ।
विराटनगरस्थित आफ्नै निवासमा विहीबार, १ असारमा सञ्चारकर्मीसँग कुरा गर्दै फोरम नेपालका अध्यक्ष यादवले भने, ‘कांग्रेस र माओवादीले पहिलेदेखि नै दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा होस् भन्ने चाहन्थे त्यसैले अरु ठाउँमा निर्वाचन सम्पन्न भइसकेपछि दुई नं. लाई घेराबन्दी गर्न सजिलो हुने योजना उनीहरुले बनाएका हुन् ।’
उनले राजपाको दिशाहीनता र अपरिपक्व रवैयाले गर्दा कांग्रेस र माओवादीको योजना सफल भएको टिप्पणी गरे । भने, ‘तीन चरणको चुनावले मधेशलाई नै घाटा हुन्छ । चुनाव जति लम्बिँदै गयो मधेशलाई त्यती नै क्षति पुग्छ ।’ राजपालाई दिशा र गन्तव्य बिर्सेर अनिर्णयको बन्दी बनेको टिप्पणी गर्दै अध्यक्ष यादवले राजपाले आन्दोलनको नाममा मधेशमा अराजकता मच्चाउने कार्य गरिरहेको आरोप लगाए ।
‘पहाडमा एमालेसँग पराजय भोगेका कांग्रेस माओवादीलाई पहिलेदेखि नै थाहा थियो मधेशमा पनि पराजय निश्चित छ’, यादवले भने, ‘त्यही डरले उनीहरुले आठ जिल्लाको निर्वाचनलाई स्थगित गरेका हुन् ।’ यादवले आठ जिल्लामा मात्रै तेस्रो चरणमा निर्वाचन गर्ने सरकारी निर्णयले सिङ्गो मधेशको अस्तित्व माथि ठाडो प्रहार भएको दाबी गरे ।
‘मेचीदेखि महाकालीसम्म २० जिल्लाको तराई–मधेशलाई आठ जिल्ला सीमित पार्ने षड्यन्त्र भएको छ । आठ जिल्लाको भूभाग मात्रै मधेश हो भन्ने मान्यता उनीहरुले स्थापित गर्न खोजेका हुन’, यादवले भने ।
