
अनुगमनका क्रममा ६ किराना पसलबाट म्याद गुज्रिएको पिठो, खाने तेल, अखाद्य वस्तु, सुर्तीजन्य पदार्थ जफत गरिएको छ । निरीक्षण अधिकृत राजेन्द्रलाल कर्णका अनुसार अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्रीवितरणमा संलग्न १४ पसललाई सचेत गराइएको छ । लहानका होटेलहरूले समेत कच्चा सामग्रीमा मिसावट गरी बिक्रीवितरण गर्दै आएको भेटिएको छ ।
लहान बजार क्षेत्रका बिक्रेताले विभिन्न किसिमका मालसामानलाई आकर्षक तथा स्वादिष्ट बनाउन खाद्य–पदार्थमा मिसावट गर्दा उपभोक्ता हैरान भएका छन् । सिरहाका बजारमा यो समयमा व्यापारीहरूले खाद्य–पदार्थमा अखाद्य वस्तुको मिश्रण गर्ने, मिति नाघेका उपभोग्य वस्तुको बिक्रीवितरण गर्ने, मिठाई तथा भोजनमा कपडामा लगाउने रङ प्रयोग गर्ने, चामलको तौल बढाउन माटाका कनिकाको मिश्रण गर्ने गरेको उपभोक्ताको गुनासो छ ।
‘बजार, होटल हरेक स्थानमा मिसावट नगरिएको सामानै पाइँदैन, अझ त्यसमा पनि म्याद सकिएको सामग्री पसलेले बिक्री गरिराखेका हुन्छन,’ राष्ट्रिय उपभोक्ता मञ्च नेपाल सिरहाका अध्यक्ष रामानन्द गुप्ताले भने, ‘पसलेले कम लागतमा मिसावटयुक्त पदार्थको प्रयोग गरी बढी मुनाफा आर्जन गर्न खोज्दा उपभोक्ताको स्वास्थ्यमा खेलवाड भएको छ ।
बजार अनुगमनमा सरकारी उदासीनताका कारणा बजारमा मिसावटयुक्त खाद्य–पदार्थको बिक्रीवितरण हात्तै बढेको थियो ।
