छाता बोकेर मतदान स्थलमा जान मतदातालाई सुझाव
काठमाडौं, ११ असार । आगामी बुधबार हुन लागेको मतदानका क्रममा चुनावका सामाग्री नभिजाउने गरी मतदान केन्द्रको व्यवस्था गर्न मौसमविदहरुले सरकारलाई सुझाव दिएका छन् । दोस्रो चरणमा १, ५ र ७ नम्बर प्रदेशका जिल्लाहरुमा असार १४ गते चुनाव हुँदैछ । तर, असार १२ गतेदेखि १४ गतेसम्म पानी पर्ने मौसमविदहरुको पूर्वानुमान छ ।
बाढी र पहिरोको समेत जोखिम
पूर्वनिर्धारित जून १० तारिखभन्दा दुई दिन ढिला गरी पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको मनसुन अहिले मध्य नेपालसम्म आइपुगेको छ । अब यो विस्तारै पश्चिमी क्षेत्रमा फैलिने क्रममा छ । मनसुन पूर्णरुपमा सक्रिय हुन भने अझै केही दिन लाग्ने मौसमविद कँडेलले जानकारी दिइन् ।
दलका कार्यकर्ताहरुले मत माग्ने क्रममा नै झरीको सामना गर्नुपरिरहेको छ । पानी पर्ने क्रम यसरी नै बढेमा बाढी र पहिरोको समेत जोखिम हुने भएकाले मतदान स्थल र मतदाताको सुरक्षामा ध्यान दिनुपर्ने उनले बताइन् । ‘सोमबार, मंगलबारदेखि नै पानी पर्ने क्रम बढ्ने हुनाले पहिरोको जोखिम पनि देखिन्छ,’ मौसमविद कँडेलले भनिन् ।
कुन–कुन नदी वा खोलामा बाढी आउँछ र कुन क्षेत्रमा पहिरो जान्छ भनेर अहिल्यै भन्न नसकिए पनि सबै क्षेत्रमा सजगता अपनाउन उनले सुझाव दिइन् । त्यस्तै खोलो तरेर भोट हाल्न जाने मतदाताहरुले पनि सतर्क हुनुपर्ने र सकभर छाता बोकेर जानु उपयुक्त हुने मौसमविदको सुझाव छ । बैशाख ३१ गते भएको पहिलो चरणको चुनावमा पनि पानी पर्दा काठमाडौंका केही मतदान केन्द्रमा निर्वाचन सामाग्री भिजेका थिए ।
