जिल्ला प्रशासन कार्यालय चितवनले सर्वाेच्चले माग गरेको तत्कालीन अवस्थाको प्रहरीको प्रतिवेदन पनि टोलीसँगै पठाएको छ । यसअघि मंगलबार बिहान दलका प्रमुख र प्रतिनिधि एवम् उम्मेदवारको रोहवरमा च्यातिएको मतपत्र मतपेटिकामा राखेर सिल गरिएको थियो । सो मतपत्रलाई प्रहरीको स्कर्टिङमा भरतपुर विमानस्थलसम्म पु¥याइएको प्रहरी प्रमुख दीपक थापाले बताए ।
सर्वाेच्च अदालतले भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र एक साताभित्र झिकाउन असार ६ गते मंगलबार आदेश दिएको थियो । कायममुकायम प्रधानन्याधीश गोपालप्रसाद पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले मतपत्र झिकाउन आदेश दिएको हो । फैसलाको भोलिपल्ट मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र आएकाले पत्र पाएको सातौँ दिन आज कागजपत्र र मतपत्र पठाइएको हो । भरतपुर महानगरपालिका–९ को मतगणना जारी रहेको बेला दलका कार्यकर्ताले मतपत्र च्यातेपछि यो विवाद सर्वाेच्चमा पुगेको हो । महानगरका २९ वटामध्ये २७ वटाको गणना सम्पन्न भएको छ भने १९ को अन्योलमा रहेको छ । वडा नं २० को मतगणना बाँकी रहेको छ । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएका छन् भने नेकपा (एमाले)ले मतगणना जारी राख्नुपर्ने माग गर्दै सर्वाेच्च पुगेको हो । निर्वाचन आयोगले वडा नं १९ मा पुनः मतदान गर्न निर्देशन गरेपछि सो मुद्दा सर्वाेच्च गएको हो ।
