सिरहाको ४० गाविस र धनुषाका ३६ गाविसमा सिँचाइ गर्ने सरकारी लक्ष्य बजेट अभावका कारण नहर व्यवस्थापन र निर्माण कार्य पूरा नभएको स्थानीय बासिन्दाको भनाइ छ । कमला नदीको व्यवस्थापन नहँुदा बर्सेनि आउने बाढीले सिरहा, धनुषा र सीमावर्ती क्षेत्र भारतको बिहारमा डुबान हुनुका साथै धनमालको ठूलो क्षति हुने गरेको बताइन्छ । तर विगत तीन वर्षदेखि सिँचाइ मन्त्रालयले योजनावद्ध रुपमा बजेटको व्यवस्था गर्दा कमला नहरको निर्माण कार्य एवम् प्रभावकारी रुपमा व्यवस्थापन कार्य अगाडि बढाइएको कमला हर्दिनाथ सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय पोर्ताहाले जनाएको छ ।
अहिले मूल नहरको लम्बाइ ३० किलोमिटिर, आठ नहर शाखा तथा १७ पुराना शाखा रहेको सो नहरबाट प्रत्येक वर्ष धान र गहुँखेतीका लागि दुई पटक पानी छर्ने गरिएको र आवश्यकता परे पानी छाडिदै आएको डिभिजनका प्रमुख गौतम ठाकुरले बताउनुभयो । नहर सिञ्चित क्षेत्रमा प्रतिकठ्ठा पाँच मन धान र तीन मन गहुँ उत्पादन भइरहेको छ । जिल्ला कृषि विकास कार्यालय सिरहाका अनुसार कमला नहरबाट सिँचाइमा धेरै सुविधा पुगेको र यसलाई थप व्यवस्थित गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।
