सप्तरी, ९ असार । सप्तरीको पश्चिमवर्ती सुरुङ्का नगरपालिका– ३ दौलतपुर विषनरियाको बाँझो खेतमा एक युवकको शव भेटिएको छ । शव स्थानीय बरीलाल मण्डलका जेठो छोरा १९ वर्षीय फूलचन कुमार मण्डलको रहेको इलाका प्रहरी कार्यालय भेडियाले जनाएको छ ।

प्रहरीका अनुसार शवको छेउमा नाम नभएको विषको बट्टा समेत भेटिएकाले आत्महत्या भएको हुन सक्ने आशंका गरिएको छ । यद्यपि पोष्टमार्टमको प्रतिवेदन प्राप्त भएपछि मात्र मृत्युको कारण यकिन गर्न सकिने जनाइएको छ । शवको कुनै पनि भागमा आलो घाउ चोटपटक, निलडाम नभेटिएकाले बढी आत्महत्याकै आशंका गरिएको छ ।

सामान्य आर्थिक अवस्थामा मण्डल बुधबार साँझ गाउँ नजिकै रहेको कडहर्वा बजारमा चार÷पाँच जना साथीहरुसँग चटपटे खाएर ‘घर जान्छु भन्दै फर्किएको भाई गुलचन मण्डलले बताए । उनी वैदेशिक रोजगारीका लागि खाडी मुलुक कतार लागेका थिए । भिसा समेत आइसकेका कारण उनी एक हप्तापछि कतार जाने तयारीमा थिए । ‘विदेशबाट कमाएर फर्किएपछि विवाह गर्छु भन्थे, स्थानीय गाउँलेहरुले सुनाए । विदेश जाने अन्तिम तयारीमा रहेको शव भेटिएपछि परिवारमा रुवाबासी चलेको छ ।
