नगरपालिकाको कर्मचारीले नक्कली कार्ड बनाई गरे रकम दुरुपयोग

प्रकाशित समय 8:16:00 PM
राकेश यादव
रौतहट, १६ असार । गौर नगरपालिका कार्यालय रौतहटका कर्मचारीहरुले मिलोमतो गरी नेपाल सरकारले जेष्ठ नागरिक, दलित, महिला तथा अपांगलाई सामाजिक सुरक्षा वापत उपलब्ध गराउँदै आएको रकम व्यापक दुरुपयोग गरेको रहस्य खुलेको छ । कार्यालयको सामुदायिक विकास शाखाका कर्मचारी विनोद पासवान र त्यसका लागि तोकिएका फोकल पर्सन सरोज लाल दास आर्थिक प्रलोभनमा परी उमेर नै नपुगेका करीव ५ सयभन्दा बढी बृद्ध महिला एवं पुरुषलाई वृद्ध भत्ताको कार्ड बनाई प्रमाणित गरी वितरण गरेपछि सो रहस्य खुलेको हो ।
७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक, ६० वर्ष पुगेका दलित, एकल महिला एवं अपांगहरुलाई सम्बन्धित कार्यालयका कर्मचारीले सक्कल नागरिकता हेरी सोही अनुसार व्यहोरा प्रमाणित गरेर कार्ड बनाई दिने कानुनी व्यवस्था रहेको छ । नेपाल सरकारले कडा रुपमा कार्यवाही नगर्दा रौतहटमा सबै सरकारी तथा गैरसरकारी संघ सस्थामा भ्रष्टाचारी चरम सीमा नाघेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यको रकम हिनामिना गर्ने माथी कार्यवाही गर्ने भनि विश्वास गरी उजुरी दिँदा पनि उचित कार्यवाही नहुँदा उजुरीकर्तामा पनि ह्रास आउन थालेका छन् ।
उमेर नै नपुगेकाहरुले आर्थिक बर्ष २०७०÷०७१, ०७१÷०७२ र ०७२÷०७३ सालको सामाजिक सुरक्षा भत्ता वापतको रकम निर्वाध रुपमा बुझ्दै आएकोमा नगरपाकिाका कर्मचारीले नक्कली सामाजिक सुरक्षाको कार्ड बनाई करोडौं रकम दुरुपयोग गरेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडास्थित क्षेत्रीय कार्यालयमा परेको उजुरीको आधारमा वास्तविकता पत्ता लगाई सम्वन्धित कागजातसहित जानकारी गराउन अख्तियारले पत्र पठाएपछि उक्त कार्य माथि अहिले कार्यालयद्वारा छानविन हुँदा करिव ५ सयको हाराहारीमा किर्ते हस्ताक्षर र उमेर नै नपुगेकाहरुको कार्ड वितरण भएको प्रमाण फेला परेको हो ।
कर्मचारीले नै गरे अधिकृतको नक्कली हस्ताक्षर
ज्येष्ठ नागरिक, वृद्ध तथा एकल महिलाहरुको भत्ता कार्ड जारी गर्ने जिम्मेवारी पाएका सामुदायिक विकास शाखाका कर्मचारी पासवानले उमेर नै नपुगेका व्यक्तिहरुको उमेर पुगेको भन्दै नक्कली कागजातहरु बनाइ शाखाका फोकल पर्सन एवं त्यस कार्यालयका सूचना अधिकृत सरोजलाल दाससँग प्रमाणित गराएको पाइएको छ । जारी गरिएको कतिपय कार्डमा फोकल पर्सन दासको हस्ताक्षर समेत किर्ते गरेको पुष्टि भएको छ ।
केहीमा फोकल पर्सनले झुर्किएर हस्ताक्षर गरेको छ भने कतिपयमा उनको किर्ते हस्ताक्षर गरी कार्ड वितरण भएको सो कार्यालयबाट बुझिएको छ ।
यस कार्यमा फोकल पर्सन सरोज लाल दासको समेत संलग्नता हुन सक्ने श्रोत बताउछ । तर दासले भने आफूलाई झुक्याएर अन्य कागजातहरुसँग मिसाएर हस्ताक्षर गराएको र अधिकांश कार्डमा किर्ते हस्ताक्षर भएको बताएका छन् ।
भत्ता पाउनु पर्ने उमेर भएकाहरु दैनिक रुपमा धाउदा पनि कार्ड नबाइदिने कर्मचारी पासवानले प्रतिव्यक्ति रकम उठाएर नक्कली कागजातको आधारमा उमेरै नपुगेकाहरुको कार्ड बनाएको र कार्यालयका कर्मचारी नातागोताका मान्छेहरु लाई पनि सो सुविधा उपलब्ध गराएर राज्यबाट पाएको सेवा सुविधाको दुरुपयोग गरेको बुझिएको छ ।
सामाजिक सुरक्षाको रकम दुरुपयोग भएकोमा अख्तियारबाट पुनः जेठ २९ र असार ३ गते गौर नगरपालिकालाई पत्र पठाएर अविलम्ब उक्त कार्यको जानकारी माग गर्दा समेत अहिलेसम्म संलग्न व्यक्तिहरुलाई जोगाउन त्यस कार्यालयबाट पत्रको जवाफ नदिएको नगरपालिका श्रोतले जनाएको छ । आवश्यक कागजातहरु संकलन गरी पेश गर्ने कर्मचारी पासवान गत शुक्रवार देखि नै कार्यालयमा अनुपस्थित रहेका छन् । घटनाको छानबिन शुरु भएदेखि नै उनी कार्यालय आएका छैनन ।
प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले सरकारबाट निश्चित उमेर पुगेका महिला तथा पुरुषहरुलाई प्रोत्साहन स्वरुप समाजिक सुरक्षा वापतको रकम उपलब्ध गराउदै आएकोमा केही कर्मचारीको मिलोमतोमा निश्चित उमेर नपुगेकालाई प्रमाणित गरी कार्ड राज्यकोषको दुरुपयोग भएको बताए । यस कार्यमा संलग्न रहेका कर्मचारीलाई आवश्यक अनुसन्धान गरी भ्रष्टाचार ऐन अन्तर्गत कारवाही तथा निश्चित उमेर नपुगेर रकम लिएकाहरुलाई पहिचान गरी उक्त रकम फिर्ता गराउन तर्फ सम्बन्धित कार्यालयलाई निर्देशन दिने उनले बताएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »