निर्वाचन मिति सर्दैन: प्रमुख निर्वाचन आयुक्त यादव

प्रकाशित समय 7:33:00 PM

राजपालाई चुनाव चिन्ह दिन नमिल्ने

मोरङ, २६ जेष्ठ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सबै दलसँग छलफल गरी असार १४ गते तोकिएको निर्वाचन मिति कुनै पनि हालतमा नसर्ने बताएका छन् ।  विराटनगरमा पत्रकारसँगको कुराकानीमा उनले निर्वाचनको लागि व्यवस्थापकीय रुपमा सबै काम अगाडि बढिसकेकोले अब निर्वाचन मिति सर्ने कुनै वहाना नचल्ने बताएका हुन् । 
दोस्रो चरणको निर्वाचन सफल बनाउन सबैलाई सहयोग गर्न उनले आग्रह गरे । उनले राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता नभएकोले चुनाव चिह्न दिन नमिल्ने प्रष्ट पारे । ‘निर्वाचन ऐन संशोधनले दलहरुलाई टिकट वितरणमा आधिकारिक हस्ताक्षरको लागि मात्रै समय दिएको हो किनकि राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा आधिकारिक हस्ताक्षर बुझाएको थिएन,’ उनले भने, ‘६ वटा दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टीलाई उक्त दलहरुमध्ये नै कुनै दलको चुनाव चिन्ह रोजेर निर्वाचनमा भाग लिनु पर्ने अवस्था छ र त्यसको लागि नेताहरुले पटक पटक आफूसँग समेत छलफल गरेर गइसकेका छन् ।’ स्थानीय तहको निर्वाचनमा सबैको ठूलो आशा रहेकोले राष्ट्रिय जनता पार्टीलाई सहभागी भएर निर्वाचन माहोल बनाउन उनले आग्रह गरे ।
उनले भरतपुर महानगरपालिकामा जनताले खसालेको मत पत्र च्यातिने काम प्रजातान्त्रिक मूल्यमान्यताविपरीत भएको बताए । ‘भरतपुर बहुत् गलत घटना भएको हो, त्यसको जिम्मेवारी नागरिक, राजनीतिक दलका नेता कार्यकर्ताले लिनुपर्छ,’ उनले भने, ‘राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता स्वयं प्रजातान्त्रिक हुनुपर्छ र भरतपुरमा भएको अपराधिक घटनालाई कानुनले निरुत्साहित गर्नुपर्छ र आफूले त्यही गरेको छु ।’ सबै राजनीतिक दलहरुलाई प्रजातान्त्रिक मूल्यमान्यताअनुसार निर्वाचन गराउन र अपराधिक कार्य नगर्न उनले आग्रह गरे । उनले दोस्रो चरणको मतगणना स्थल फरक किसिमबाट सुरक्षित रुपमा निर्माण गर्ने कार्ययोजना बनाएर काम अगाडि बढाइएको बताए । छिटो छरितो मतगणना गर्ने कार्यसमेत उक्त कार्ययोजनामा समावेश रहेको उनले सुनाए । उनले मतगणना सहज र छिटो गर्नका लागि नै मतदान गर्ने स्वस्तिक चिह्न रातो रंगको निर्धारण गरिएको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »