सिरहाका १ सय ४६ निजी विद्यालय कार्बाहीमा

प्रकाशित समय 7:30:00 PM
शम्भु यादव 
लहान, २५ जेष्ठ । वर्षौदेखि कानून विपरित अवैध रुपमा सञ्चालनमा रहेका निजी विद्यालयहरुमाथि जिल्ला शिक्षा कार्यालय सिरहाले कार्बाही प्रक्रिया अगाडी बढाएको छ । अनुगमनको क्रममा ३८ वटा विद्यालय बिना अनुमति नै सञ्चालनमा रहेको फेला परेपछि उनीहरुमाथि कार्बाही प्रक्रिया अगाडी बढाइएको हो ।
अनुगमनका क्रममा १ सय ८ वटा विद्यालयले अुनमति विना नै माथिल्लो कक्षा सञ्चालन गरिरहेको फेला परेको छ । जसमध्ये ३३ वटा विद्यालयल कक्षा ९ र १०, ५१ वटा विद्यालयले कक्षा ६, ७, ८ र २४ वटा विद्यालयले कक्षा ५ सम्म अनुमति बिनै कक्षा सञ्चालन गरेको पाइएको हो ।
यी १ सय ४६ कानून विपरितका निजी विद्यालयलाई स्थानीय प्रशासन ऐन अन्तर्गत कार्बाही गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा शिक्षा कार्यालयले प्रतिवेदन बुझाएको छ । जिल्ला शिक्षा अधिकारी अरविन्द लाल कर्णले अनुगमनका क्रममा अनुमति बेगर सञ्चालन भइरहेका विद्यालय पत्ता लागेका र उनीहरुमाथि कानूनी कार्बाही शुरु गरिएको जानकारी दिनुभयो ।
‘हामीले अनुगमन प्रतिवेदनसहित कानून विपरितका निजी विद्यालयलाई कार्बाहीका लागि प्रशासनसँग अुनरोध गरेका छौं ।’ जिशिअ कर्णले भन्नुभयो ‘अनुगमनको क्रममा १ सय ४६ निजी विद्यालय कानून विपरित कार्य गरेको भेटाइएका र ती विद्यालयलाई बन्द गर्न दिएको निर्देशनलाई अटेर गरेकोले स्थानीय प्रशासन ऐन बमोजिम कार्बाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई लिखित रुपमा अनुरोध गरिएको छ ।’
अवैध रुपमा सञ्चालन रहेका निजी विद्यालयहरुले एकातिर सरकारको राजश्व र अर्को्तिर विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेको शिक्षा कार्यालयको ठहर छ । बजार र ग्रामीण क्षेत्रका टोलटोलमा जथाभावि अवैध रूपमा संस्थागत विद्यालय खुल्ने क्रम बढेपछि शिक्षामा विकृति रोक्न शिक्षा कार्यालयले कार्बाही थालेको हो ।दर्ताबिनै सञ्चालित त्यस्ता विद्यालयले कुनै निजी तथा सामुदायिक विद्यालयबाट विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदै आएको भेटिएको छ । अनुमतिबिना सञ्चालित निजी विद्यालयले कक्षामा पढ्ने विद्यार्थीलाई कोचिङ कक्षाको नाममा झुक्याउने प्रयास गरेको र तिनले छुट्टै रजिस्टर राखी ठगी धन्दा गरेको समेत अनुगमन क्रममा भेटिएको शिक्षा अधिकारी कर्णले बताउनुभयो ।
कर्णका अनुसार, अनुगमनमा दर्ताबिना सञ्चालनमा भेटिएका विद्यालयका विद्यार्थी हाजिरी रजिस्टर, खातापाता कब्जामा लिएर अनुसन्धान गरिँदैछ । कतिपय नाम चलेका निजी विद्यालयले कम कक्षाको अनुमति लिएर माथिल्लो सञ्चालन गरेको पाइएको छ । ‘यस्ता धेरै यहाँका निजी स्कुलका प्रिन्सिपलहरूले सामुदायिक विद्यालयका प्रअलाई प्रभावमा पारेर आफ्ना विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदै आएका पायौं,’ कर्णले भन्नुभयो ‘त्यस्ताको हाजिरी रजिस्टर जफत गरेका छौं, सामुदायिक विद्यालयमा विद्यार्थीको नाम टायल गरी नाम मिलेमा यसमा संलग्न निजी र सामुदायिक विद्यालय दुवैलाई कार्बाहीको दायरामा ल्याउँछौं ।’
शिक्षा अधिकारी कर्णका अनुसार अनुमति नलिई अवैध सञ्चालित विद्यालयले पहिलोपटकको निर्देशन अटेर गरे स्थानीय प्रशासन ऐनअन्तर्गत २५ हजार जरिवाना हुनेछ । दोस्रो पटकमा १ लाख जरिवाना र ६ महिना कैद तथा तेस्रो पटकमा सम्पत्ति जफत हुने प्रावधान छ । यता, निजी विद्यालयको छाता संगठन प्याब्सनले पनि गैरकानुनी रूपमा सञ्चालित विद्यालयलाई कार्बाही माग गरेको छ । प्याब्सन सिरहाका सचिव उमेश यादवले अवैध विद्यालयमा विद्यार्थी पढ्न गइरहँदा दर्ता भई नियम कानुनअनुसार सञ्चालन रहेका निजी विद्यालयहरू मारमा परेको भन्दै कार्बाहीको माग गरेका हुन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »