इटहरी कांग्रेसमा असन्तुष्टी, ‘नो भोट’ भन्दै तालाबन्दी

प्रकाशित समय 7:29:00 PM

  इटहरी, २६ जेष्ठ । उम्मेदवार बनाएको बिषयमा असन्तुष्ट नेपाली कांग्रेसका कार्यकर्ताले कांग्रेस इटहरी उपमहानगरपालिकाको कार्यालय र क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। पार्टीमा खासै सक्रिय नभएको व्यक्तिलाई उम्मेदवारको टिकट दिएको र पार्टीमा योगदान दिनेलाई वेवास्ता गरेको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको असन्तुष्ट पक्षले जनाएको छ । असन्तुष्ट कांग्रेसका कार्याकर्ताहरुले जिल्ला पार्टी कार्यालयमा समेत तालबन्दी गर्ने तयारी गरेका छन् ।  नेपाली कांग्रेसले इटहरी उप महानगरमामा मेयरमा रोहित प्रसाईलाई उम्मेद्वार बनाउने निर्णय बिहीबार गरेको थियो । उहाँसँगै मेयरका लागि नगरका पार्टी सभापति हमेकर्ण पौडलेले समेत आकांक्षा राख्नु भएको थियो । तर पौडेललाई उम्मेदवार नबनाएर प्रसाईलाई उम्मेदवार बनाएको भन्दै निर्णय खारेज गर्न पौडेल पक्षधर कार्याकर्ताहरुले माग राखेका छन् । कार्यकर्ताहरुले बिहीबार नै पौडेलको घरमा गएर बागी भए पनि मेयरको उम्मेद्वार बन्न सुझाव दिएका छन् । उम्मेद्वारको बिषयमा अहिले कांग्रेस भित्र व्यापक असन्तुष्टी बढेको छ । असन्तुष्टहरुले सामाजिक सञ्जालमा नो भोट भन्दै अभियान सुरु गरेका छन् ।
इटहरी कांग्रेसमा रोहितले मारे बाजी, हेमकर्ण रिङ्गबाट आउट
इटहरी उप महानगरपालिकामा हेमकर्ण पौडल र रोहित प्रसाई मध्ये कसले मेयरको टिकट पाउने भन्ने कांग्रेसमा आन्तरिक रुपमा तिब्र प्रतिस्पर्धा थियो । तर स्थानीय तहको दोस्रो चरणको निर्वाचन आउन १९ दिन बाँकी रहँदा अन्ततः नगर सभापति हेमकर्ण पौडेललाई पछि पार्दै प्रसाईले बाजी मार्नु भएको छ । उहाँलाई कांग्रेसले इटहरीको मेयर उठाउने निर्णय गरेपछि कांग्रेसमा आन्तरिक रुपमा भाँडभैलो भएको हो ।
हेमकर्ण पौडेलले भने उम्मेद्वारको टुङ्गो नलागे पनि आफूलाई मेयरको रुपमा सामाजिक सञ्जालमा १५ दिन अगावैबाट भोट माग्न थाल्नु भएको थियो । त्यसो त इटहरीका कांग्रेसी मध्ये धेरैले हेमकर्णले नै टिकट पाउने बताउँदै आएका थिए तर धेरैको अपेक्षा विपरीत रोहितको उम्मेद्वारी पक्का भएपछि सामाजिक सञ्जालमा बिरोध भएको  छ ।
इटहरीमा कांग्रेसका मेयरका उम्मेद्वार रोहित उद्योग बाणिज्य संघ इटहरीमा दुई कार्यकाल अध्यक्ष भइसक्नु भएको छ । उहाँ विद्यार्थी राजनीतिबाट आउनु भएको हो । उहाँ पछिल्लो समय देउवा निकट नेताका रुपमा चिनिनु भएको हो । हेमकर्ण पौडेलले भोट माग्न थाले पनि अहिलेसम्म रोहितले भने मेयरका रुपमा भोट माग्नु भएको थिएन ।
उहाँलाई मेयरको रुपमा उम्मेद्वार बनाउन बिद्यार्थी नेताहरु बिकास केसी र राजिब ढुङ्गानको महत्वपूर्ण हात रहेको बताइन्छ । पटक पटक पार्टी सभापति शेरबहादुर देउबालाई भेट गरेको तस्विर सामाजिक सञ्जालमा आएका थिए । हेकमकर्णलाई भने रामचन्द्र पौडेल निकटका रुपमा चिनिन थालेको थियो । रोहितले टिकट पाउनमा देउवा  र पौडेलको भागबण्डा भएको भन्दै टिप्पणी समेत भइरहेको छ ।
धरान र इटहरी उपमहानगरमा दुई खेमाका बिचमा भागबण्डा मिलाउन प्रसाईलाई टिकट दिइएको कांग्रेस श्रोतले जनाएको छ । धरानमा पौडेल निकटका तिलक राईले मेयरको टिकट पाउनु भएको छ । उहाँको प्रतिस्पर्धामा देउवा खेमाका किशोर राई हुनुहुन्थ्यो । धरान र इटहरी दुवै ठाँउमा पौडेल निकटकालाई मेयरमा उठाउन नहुने भन्दै देउवा खेमाले अडान लिएपछि हेमकर्ण यस पटक मेयरको दौडबाट बाहिरनु भएको बताइन्छ ।
धरान उपमहानगरमा टिकट पाउने तिकल राई भने तरुण दलको राजनीतिबाट आउनु भएको हो । उहाँ धरान नगरको कांग्रेस सभापति समेत हो । उहाँले मेयरका अर्का आकांक्षी किशोर राईलाई भारीमत अन्तरले हराएर नगर सभापति बन्नु भएको हो । तिलक राई गल्फ खेलको खेलाडी समेत हुनुहुन्छ । उहाँले धरानमा फुटबलको बिकासमा समेत महत्वपूर्ण योगदान गर्नु भएको छ ।
यस्तो छ रोहित प्रसाईको राजनीतिक यात्रा
रोहित प्रसाई नेपाल विद्यार्थी संघको राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा आउनु भएको हो । उहाँ नेपाल विद्यार्थी संघको सुनसरी सभापति हुनुभएको थियो । लामो समय विद्यार्थी संघबाट राजनीति गरे पनि उहाँ पछिल्लो समय भने उद्योग बाणिज्य संघको राजनीतिमा उदाउनु भएको थियो । उहाँ उद्योग बाणिज्य संघ इटहरीको दुई पटक अध्यक्ष बन्नु भयो । पहिलो पटक ६७ सालमा उद्योग बाणिज्य संघ इटहरीको अध्यक्ष भएपछि अर्को कार्यकाल पनि उहाँले नै निर्वाचन जित्नु भयो । त्यसपछि दुई पटक उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य निर्वाचन हुनु भएका प्रसाई अहिले पनि केन्द्रिय सदस्यको रुपमा काम गरिरहनु भएको छ ।
प्रसाईलाई नेपाली कांग्रेसको नेता भन्दा पनि व्यापारीको नेता भनेर इटहरीका केही कांगे्रसीहरुले नै विरोध गर्दै आएका थिए । प्रसाईले कांग्रेसका तर्फबाट उम्मेद्वार पाएको बिषयमा भने चिठ्ठी आई नसकेकाले अहिले नै आफ्ना प्राथमिकता र एजेन्डा सार्वजनिक नगर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘इटहरीका नागरिकले रोहित प्रसाईलाई चिनेकै छन् ।  म भाषण होइन काम गर्ने नेता हो । त्यसैले मेरा एजेन्डा पनि कामकै हुन्छन् ।’ उहाँले केही दिनमै आफ्ना एजेन्डा सार्वजनिक गर्ने बताउनु भयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »