सुगमको दुःखी ‘झल्ला’

प्रकाशित समय 6:23:00 PM
सिरहा १५
, असार । तराई, मधेसलाई सुगम मानिन्छ । तर, मधेसभित्रको अति दुर्गम पहाडी बस्ती हो सिरहाको उतरवर्ती गाउँ ‘झल्ला’ । हरेक मानवको आधारभूत आवश्यकता गाँस, बाँस र कपास । झल्लाका बासिन्दाले यो अनुभूत गर्न भने पाएका छैनन् ।
तामाङ, मगर, क्षत्री, ब्राह्मण समुदायको बसोबार रहेको झल्ला बस्ती नगरपालिकामै परेको छ । सरकारले २०७२ असोज १ मा बस्तीलाई धनगढीमाई नगरपालिका बनायो । चुरेको खोंचमा अवस्थित यो बस्ती नगरपालिकाको १३ नम्बर वडामा दर्ज भयो ।
साबिक विष्णुपुरकट्टी गाविसदेखि नगरपालिकामा परिणत हुँदासम्म बस्तीमा राज्यको उपस्थिति पाइँदैन । बस्ती सर्रेखोलाको घेराबन्दीमा छ । ‘एकातिर सर्रेखोला हाम्रा लागि अभिशाप छ, अर्काेतिर वरदान पनि,’ ७१ वर्षीय नन्दलाल मगरले भने, ‘वर्षामा अन्य बस्तीसँग विच्छेदमा रहन्छौं, अर्काेतिर तीन महिना अघिसम्म प्राण त्यही सर्रेको पानीले धानेका थियौं ।’
बस्तीमा पुग्ने सडक छैन । यहाँ बिजुली छैन । रात टुकीकै भरमा बिताइन्छ । केही घरमा भने सोलार जोडेर वैकल्पिक ऊर्जाको प्रयोग गरिएको छ । ‘तीन महिनाअघिसम्म घरमा आउनेलाई पानी माग्दा दिन सक्ने अवस्था थिएन,’ पाहुना र आफू सुत्नका लागि थाकलको पातबाट दलानमा चटाई (गुन्द्री) बनाउँदै गरेकी ५७ वर्षीया सकुमाया पाँचेले भनिन, ‘सरकारले नै होला भू–संरक्षण अफिस भन्थे खोलामै ट्युबबेल जडान गरिदिएकाले पानी भर्न सजिलो भाछ, नभए यतिखेर तपाईंहरूले पनि सर्रेखोलाकै पानी पिउनुपथ्र्याे ।’
यहाँका लागि सरकारी उपस्थिति भू–संरक्षण कार्यालय मात्र रहेछ । पानी मुहान संरक्षण कार्यक्रमअन्तर्गत भू–संरक्षणले ८५ हजार रुपैयाँमा खोलाकिनारमै खानीपानीका लागि ट्युबबेल जडान गरिदिएको उपभोक्ता समिति अध्यक्ष सन्तोष पूर्वछानेले सुनाए ।
यहाँ पुगेपछि खानेपानीको समस्या देखेपछि टयुवबेल जडान गरिदिएको भूसंरक्षण लहानका प्रमुख हरि योन्जनले बताए । ‘असारेका झल्लावासी समस्या छन,’ उनले भने, ‘धेरै समस्या भए पनि आफ्नो कार्यालयले गर्नसक्ने काम खानेपानीको व्यवस्था गर्न सफल भयौं, अन्य निकायले पनि झल्लावासीलाई हेर्न जरुरी छ ।’
अधिकांश मजदुरीमा झल्लावासीको गुजाराको माध्यम खेतीपाती नै हो । उनीहरू अधिकांश खेतीपातीमा आश्रित छन् । केही युवा भने भारतमा गई मजदुरीसमेत गर्छन् । ७१ वर्षीय नन्दलाल मगरका ४ भाइ छोरामध्ये जेठा ठकन दिल्लीमा मजदुरी गर्छन् भने माहिलासहित अन्य छोरा गाडी चालक हुन् । जमिनका नाममा नन्दलालको पाखोबारी १० कठ्ठा मात्रै छ तर परिवारको सदस्य संख्या १२ । पाखोबारीले वर्षभरिको गुजारा टर्दैन । छाक टार्न पनि बाहिर कमाउन नगई हुँदैन उनले भने । वडा सचिव अनिल डोटेलले धनगढीमाईको १३ र १४ नम्बर वडा उत्तरवर्ती उदयपुरको चुरेक्षेत्रमा जोडिएकाले यहाँका बासिन्दा राज्यको स्रोत साधनबाट पछि परेको बताए । जनप्रतिनिधि निर्वाचित भएपछि प्याकेजका कार्यक्रम लिन जानुपर्ने आवश्यकता रहेको उनले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »