विराटनगर, १२ असार । मतदाता परिचयपत्र लिन लाइनमा बसेका नागरिकले ढिलागरी मतदाता परिचयपत्र वितरण शुरु गर्दा समस्या भएको बताएका छन् । विराटनगरमा मतदाता धेरै भएका स्थानमा शनिबारनै मतदाता परिचयपत्र वितरण गर्नुपर्नेमा सोमबारदेखि मात्र वितरण सुरु गर्दा समस्या भएको स्थानीय बासिन्दाले गुनासो गरेका गरेका हुन् ।
विराटनगरको वडा नम्बर १० मा रहेको भानु आधारभुत विद्यालयको मतदान स्थलमा ६ हजार ८५ जना मतदाताले मतदान गर्नेछन् । यो मतदान स्थल विराटनगर कै सबै भन्दा धेरै मतदाता रहेको मतदान स्थल हो । यहाँ मतदाता परिचयपत्र लिनको लागि आइतबारदेखि नै मतदाता आएका हुन् । आइतबार परिचयपत्र वितरण नभएपछि उनीहरु खाली हात फर्किएका थिए । परिचयपत्र वितरण गर्ने काम व्यवस्थित नहुँदा समस्या भएको मतदाता देवु मण्डलले बताए ।
परिचयपत्र लिनकै लागि मतदाता लामो समय लाइनमा बस्नुपरेको उनले गुनासो गरे । कतिपयको भने मतदाता परिचयपत्र सिरियल नम्बरको आधारमा फेला नपारेको गुनासो गरेका छन् । स्थानी मतदाता सुमिध पोखरेलले आफ्नो परिवारको सबै मतदाताको परिचयपत्र खोज्न दुईदिन लाग्ने अवस्था आएको उल्लेख गरे । अघिल्लो चुनावमा भन्दा यो पटक मतदाता परिचयपत्र लिन सजिलो गराएको निर्वाचन आयोगले जनाएपनि परिचयपत्र लिन भने अप्ठ्यारो भएको स्थानीय बासिन्दाले बताएका छन् ।

