अनुमति बिनाका निजी विद्यालयहरु बन्द गराउन शुरु

प्रकाशित समय 10:03:00 AM

शम्भु यादव 
लहान, ११ असार । सिरहामा वर्षौदेखि नियमविपरीत सञ्चालनमा रहेका निजी विद्यालयहरु धमाधम बन्द गराउन थालिएको छ । पटक–पटक बन्द गर्ने निर्देशन दिएपनि अटेर गर्ने विद्यालयहरुलाई आइतबारदेखि बन्द गराउन थालिएको हो ।शिक्षा समितिको बैठकबाट निर्णय गरी दर्ता नभएको निजी विद्यालयहरुलाई बन्द गर्ने अभियान चलाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
आइतबार शिक्षा कार्यालयका विद्यालय निरिक्षक भवानी कट्टेलको नेतृत्वमा खटिएका टोलीले लहान रेन्बो इन्टरनेशनल एकेडमी, प्रिन्सटल स्कुल, वस्तीपुरको मेरी चिल्ड्रे एकेडमीका संचालकलाई विद्यालय बन्दको शिलबन्दी मुचुल्का स्थानीय अभिभावकहरुको रोहवरमा पत्र थमाएका छन् । विनि कट्टेलको नेतृत्वको टोलीमा सञ्चारकर्मी, अभिभावक संघ, प्याब्सन, एनप्याब्सन तथा प्रहरी  प्रशासनका प्रतिनिधि पनि सहभागी थिए ।
बन्द गराएका विद्यालय लहान रेन्वो कक्षा ९ सम्म, प्रिन्सटन कक्षा ७ तथा मेरी चिल्ड्रेन कक्षा ६ मा विना दर्ता सञ्चालनमा रहेका थिए । बन्द गरिएका विद्यालयहरुबाट विद्यार्थीहरुलाई घर पठाइएको छ । केही महिना अघि नै शिक्षा अधिकारी अरविन्द लाल कर्ण नेतृत्वको अनुगमन टोलीले जिल्लामा दर्ता बिनाका ३६ वटा निजी विद्यालयहरु पत्ता लगाएको थियो ।
अनुगमनको प्रतिवेदन शिक्षा समितिमा पेश गरी अवैध विद्यालय बन्द गर्ने निर्णय भएको छ । कानून विपरीतका विद्यालयहरुले सरकारको कर छली गरेको छ । बालबालिकाको भविष्यमाथि पनि खेलवाड गरेको जिशिकाको ठहर छ । विनिको नेतृत्वमा टोली बनाई सिरहाका प्रत्येक स्रोत केन्द्रमा अवैध रुपमा सञ्चालनमा रहेका विद्यालयहरुलाई बन्द गराउने अभियान चलाइएको जिशिअ कर्णले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »