राजपा नेता कार्यकर्ता फोरम छिरेपछि यादव उत्साहित

प्रकाशित समय 10:08:00 AM
सन्जिब बगाले
काठमाडौं, ११ असार । दोस्रो
चरणको चुनावमा भाग लिएको मधेसको एक प्रमुख पार्टी संघीय समाजवादी फोरम र चुनाव बहिस्कार गरेको राष्ट्रिय जनता पार्टी (राजपा) बीचको तिक्तता सार्वजनिक रूपमा पोखिने क्रम जारी छ । केही समयअघिसम्म सँगै मधेस आन्दोलन गरेका यी दुई सहयात्रीबीच बाटो छुट्टिएपछि कटुता बढ्नु अस्वभाविक होइन । तर यो कटुताको जड चुनावमा भाग लिने वा नलिने विवाद मात्र होइन भन्ने बिस्तारै खुल्दै छ ।
उपेन्द्र यादव नेतृत्वको फोरमले अरू पार्टीसँगै राजपाका धेरै नेतारकार्यकर्ता आफ्नो पार्टीमा तानेपछि मनमुटाव झनै बढ्दै गएको देखिन्छ । पछिल्लो समय फेरममा जति नेता कार्यकर्ता प्रवेश गरेका छन, त्यसमा सबैभन्दा धेरै राजपाकै छन् । जुन रफ्तारमा मधेसबाट अन्य पार्टीका नेतारकार्यकर्ता फोरम प्रवेश गरेका छन, सायद त्यो पनि यादवको चुनावप्रतिको उत्साहको एउटा कारण हो ।
फेरमको तथ्यांकअनुसार राजपामा आवद्ध पार्टीबाट अहिलेसम्म तीन जना पदाधिकारी फेरममा प्रवेश गरेका छन् । राजपा छोडेर  फोरममा जानेहरूमा राजपाका केन्द्रीय सचिव प्रयाग राय यादव, अर्का केन्द्रीय सचिव कैलाश पटेल र सहमहामन्त्री राजु गुप्ता रहेका छन् ।
त्यस्तै आधा दर्जन केन्द्रीय सदस्य फेरम प्रवेश गरेको सो पार्टीले जनाएको छ । राजप परित्याग गरेर फोरम प्रवेश गर्नेहरूमा नन्दकिशोर वर्मा,रामनारायण मेहता, महाजन यादव, भरत साह,भिमराज यादव र पूर्वसांसद आत्मराम साह रहेका छन् । राजपाका सिराहा सचिव अरविन्द यादव,जिल्ला नेता भगनी यादव र कपिलवस्तुका जिल्ला नेता रामचन्द्र जयसवाल पनि फोरम प्रवेश गरेका छन् । फेरमले केन्द्रीय र जिल्ला तहका नेतासँगै राजपाका थुप्रै कार्यकर्ता पार्टी प्रवेश गरेको दाबी गरेको छ ।
अन्य पार्टीबाट पनि फोरममा प्रवेश गर्नेहरूको संख्या उल्लेख्य छन् । नेपाली कांग्रेसबाट जिल्ला तहका एक जना नेता फोरम प्रवेश गरेका छन्  । बाँके कांग्रेसका पूर्वजिल्ला अध्यक्ष विजय यादव प्रवेश गरेको फोरमले जनाएको छ । अहिलेसम्म एमालेबाट केन्द्रीय तहका एक नेता र एक पूर्वसांसद फोरम प्रवेश गरेका छन् । एमाले केन्द्रीय सदस्य प्रल्हाद गिरी र पूर्वसांसद प्रद्युम्न चौहान फेरम प्रवेश गरेको सो पार्टीले जनाएको छ । एमाले सिरहाका नेता रामबाबु यादव र सप्तरीका नेता दचित्र रन्जन यादव पनि फोरम प्रवेश गरेका छन् । कपिलवस्तुमा एमालेका ७ जना पूर्वगाविस अध्यक्ष, सिरहाका पनि १४ जना पूर्वगाविस अध्यक्ष र सप्तरीमा एक  पूर्वगाविस अध्यक्ष फोरम प्रवेश गरेका छन् ।
विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रीय स्तरका नेता र मन्त्री भइसकेका समेत समाजवादी फोरम प्रवेश गरका छन् । लोकतान्त्रिक फेरमका केन्द्रीय सदस्य मोहनलाल यादव, दीपक यादव, महेन्द्रप्रसाद चौधरी, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य शत्रुधन महतो समाजवादी फोरम प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका सिरहा सदस्य रामएकवाल मण्डल समाजवादी फोरममा आवद्ध भएका छन् । राप्रपाका केन्द्रीय सदस्य असेश्वर यादवसहित सिरहा कार्यसमितिका अधिकांश सदस्य फोरम प्रवेश गरेका छन् ।
पर्सामा उद्योगपति विजय सरावगी, पप्पु कन्स्ट्रक्शनका व्यापारी हरी नारायण रौनियार,उद्योगपति रमेश अग्रवाल लगायत दर्जनौं उद्योगी व्यापारी पार्टी प्रवेश गरेको समाजवादी फोरमको दाबी  छ । फोरममा प्रवेश गर्नेहरूमा अधिकांश राष्ट्रिय जनता पार्टीका नेता तथा कार्यकर्ता रहेका छन् । कतिपय नेताहरू राजपा बनेकोमा असन्तुष्ट बनेर पार्टी छोडेका छन, भने कतिपयले राजपाले लिएको चुनाव विरोधी लाइनबाट असन्तुष्ट भएर पार्टी छोडेका छन् ।
समाजवादी फोरममा प्रवेश गर्नेहरूको यो तथ्यांक माघयताको भएको फेरमको प्रचारप्रसार विभागले जनाएको छ । फोरमको प्रचार विभागका अनुसार पार्टी प्रवेश गर्नेहरु मध्ये ९० प्रतिशत भन्दा बढी फोरमले निर्वाचनमा लिने निर्णय गरेपछिको आएकाहरू छन् । राजपा बन्नुभन्दा पहिला पनि राजपामा आवद्ध दलहरुमा असन्तुष्ट बनेर फोरम प्रवेश गर्नेहरुको संख्या पनि ठुलो रहेको छ ।
तमलोपामा रहेको ‘जातीय अहंकारवाद’का कारणले आफ्ू समाजवादी फोरममा प्रवेश गरेको तमलोपाका पूर्वकेन्द्रीय सदस्य महाजन यादवले बताए । ‘तमलोपामा नातावाद कृपावाद हावी भयो त्यसैले मैले पार्टी छोडेँ,’ उनले भने,‘मधेसको समस्या फोरमको नेतृत्वमा समाधान हुन्छ भनेर म यो पार्टीमा प्रवेश गरेको हुँ ।’ विधि,पद्धति र कार्यशैली मुख्य कारणले आफ्ू पार्टी छोडेर समाजवादी फोरममा प्रवेश गरेको सद्भावना पार्टीका पूर्वसह–महामन्त्री राजु गुप्ताले बताए।
वैशाख ७ गते तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, नेपाल सदभावना पार्टी, तराई मधेस सदभावना पार्टी,राष्ट्रिय मधेस समाजवादी पार्टी र फोरम गणतान्त्रिक पार्टीबीच एकता भएर राजपा बनेको थियो । राजपा आधिकारिक रूपमा निर्वाचन आयोगमा अहिलेसम्म दर्ता भएको छैन । राजपाले एकीकृत कार्यसमितिको सूची नबनाएकोले राजपामा कति केन्द्रीय सदस्य र पदाधिकारी छन् भन्ने  एकिन नभएको राजपा नेता मनिष सुमनले बताए ।
राजपामा अहिले अध्यक्ष मण्डलमा रहेका ६ जना बाहेक कुनै पनि नेताको पद तोकिएको छैन । यद्यपी, पार्टी एकता हुने बेलामा ६ वटा पार्टीमा जुन हैसियतमा नेताहरू रहेका थिए, त्यही हैसियतमा राजपामा रहने सहमति भएको छ । राजपा नेताहरु भने आफ्ना कार्यकर्ता मात्र फोरममा नगएको बरू फोरमबाट पनि थुप्रै नेता कार्यकर्ता राजापा आएको  दाबी गर्छन् ।
‘एक,दुई नेता कार्यकर्ताले पार्टी परित्याग गरेर अरू पार्टीमा गएका हुन सक्छन् तर राजपा छोड्ने भन्दा राजपामा आवद्ध हुनेको संख्या ठूलो छ,’ राजपा नेता केशव झाले भने, ‘पार्टीले निर्वाचनमा भाग नलिने भएपछि पार्टीको एजेण्डाभन्दा पनि निर्वाचनको पछि लाग्ने केही नेता कार्यकर्ताहरूले पार्टी छोडेका छन् ।’ यो संविधानलाई परिमार्जनसहित संशोधन गरेर कार्यान्वयन गरेर अघि बढ्ने योजना भएकाले संघीय समाजवादी फोरममा आवद्ध हुनेको संख्या उल्लेख्य रहेको फोरमका प्रमुख सचेतक शिवजी यादवको तर्क छ । उनले जनताले कांग्रेस,एमाले र माओवादीको वैकल्पिक शक्ति खोजेको र त्यो शक्ति समाजवादी फोरमलाई बनाउन चाहेको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »