लागुऔषधसहित दुई युवक र एक बालक पक्राउ

प्रकाशित समय 10:35:00 AM
गोलबजार, २२ जेष्ठ । सिरहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका–४ स्थित दुर्गा मन्दिर नजिकबाट आइतबार प्रहरीले प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। जसमा एक बालक पनि छन्।
इलाका प्रहरी कार्यालय लहानका अनुसार पक्राउ पर्नेमा लहान नगरपालिका ५ बस्ने २२ वर्षीय सनाहुल हक, २४ वर्षीय मोहमद अस्लम र ११ वर्षीय बालक अबराल सेख रहेका छन्। भारतीय सीमावर्ती बजार लौकहामा खरिद गरी नेपालको ठाडी हुँदै उत्तरतिर आउने क्रममा प्रहरीले शंका लागेर शरीर खानतलासी गर्दा प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले लागूऔषध डाइजीपाम २० एम्पुल, लुपिजेसिक १० एम्पुल र फेनारगन २९ एम्पुल बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ।  प्रहरीले लागूऔषध ओसारपोसारमा कडाइ गरेको भए पनि लागूऔषध कारोबारीहरुले महिला, बालबालिका र बेरोजगार युवाहरुलाई आर्थिक प्रलोभन दिएर लागूऔषध ओसारपोसारमा संलग्न गराइरहेको पाइएको छ।
नेपालमा स्वास्थ्यको दृष्टिकोणले प्रतिबन्धित औषधिहरु सीमावर्ती भारतीय बजारमा खुलमखुल्ला पाइने भएकाले तस्करहरुले प्रहरीको आँखा छलेर प्रतिबन्धित औषधिलाई लागूऔषधको रुपमा कारोबार गर्ने गरेका छन्। सिरहा प्रहरीले चालु आर्थिक वर्षको पछिल्लो ९ महिनाको अवधिमा ३९ जनालाई पक्राउ गरी लागूऔषध कारोबारअन्तर्गत मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »