असार १० गतेदेखि अनिश्चितकालिन आमहडताल सहित गठबन्धनको आन्दोलन कार्यक्रम घोषणा

प्रकाशित समय 4:28:00 PM
काठमाडौं, १० जेष्ठ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दोस्रो स्थानीय तहको निर्वाचनमा भाग नलिने जनाउँदै आमहड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार पार्टी संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले सो घोषणा गरेको हो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आगामी असार १० गतेदेखि अनिश्चितकालिन आमहड्तालको घोषणा गरेको छ ।
संघीय गठबन्धनको ब्यानरमा आइतबार पत्रकार सम्मेलन गरी राजपा अध्यक्षमण्डलका सदस्य तथा संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरले जेठ २९ गतेदेखि चुनावविरोधी चरणबद्ध आन्दोलनको कार्यक्रमको घोषणा गरेका हुन् ।
घोषित आन्दोलनको कार्यक्रमअनुसार जेठ २९ गते देशभरकारका जिल्ला सदरमुकाममा मसाल जुलुस प्रदर्शन गर्ने, जेठ ३० , ३१ तथा असार १ र २ गते मधेस, थरुहट र लिम्बुवान बन्द गर्ने घोषणा गरिएको छ । सोहि बीचमा हरेक स्थानीय तहमा निर्वाचनविरुद्ध माइकिङ गर्ने, तालाबन्दी गर्ने र लाठी जुलुस प्रदर्शन गर्ने समेत तय गरिएको छ ।
पत्रकार सम्मेलनमा ठाकुरले असार ३ र ४ गते सबै निर्वाचन केन्द्रहरुमा सहिदहरुको तस्बिर प्रदर्शन गर्ने, ५ गते सबै जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने तथा असार ६ देखि १४ गतेसम्म निर्वाचनसम्बन्धी सबै कार्यक्रम र गतिविधिलाई अवरुद्ध पार्ने तय गरिएको समेत जानकारी दिए ।
यसैगरी असार ८ गते सबै जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल ¥याली निकाल्ने तथा ९ गते मसाल जुलुस निकाल्ने तय गरिएको छ भने १० गतेदेखि अनिश्चितकालिन आमहड्ताल गरिने ठाकुरले बताए । सत्तारुढ दलले असार १४ गतेको दोस्रो चरणको स्थानीय तह चुनावअघि राजपाको माग पूरा गर्न नसकिने प्रष्ट पारेपछि राजपाले आन्दोलनको घोषणा गरेको हो ।
राजपाले संविधान संशोधन गरिनुपर्ने, स्थानीय तहको संख्या बढाइनुपर्ने, मधेस आन्दोलनमा घाइते भएकालाई निशुल्क उपचार गरिनुपर्ने, मृतकलाई सहीद घोषणा गरिनुपर्ने, बन्दीको रिहाई र झुटा मुद्दा फिर्ता लिइनुपर्ने लगायतका माग राखेको छ ।
आइतबारमात्रै पनि राजपालाई मनाएर चुनावमा जाने प्रयासमा सत्तारुढ दलले वार्ता बोलाएपनि छलफल निष्कर्षविहिन भएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »