राजपाले बुझाएन हस्ताक्षर

प्रकाशित समय 6:10:00 PM

आयोगले दिएको म्याद सकियो

काठमाडौं, २९ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले उम्मेदवारी मनोनयन प्रयोजनका लागि निर्वाचन पदाधिकारीको नाम र हस्ताक्षर विवरण फेरि पनि निर्वाचन आयोगमा बुझाएन । आयोगले उक्त विवरण बुझाउन दिएको थप समय सोमबार सकिएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मधेस तराई फोरम र लोकदलले मात्रै निर्धारित तीन दिनको अवधिमा उम्मेदवारी मनोयन प्रयोजनका लागि पदाधिकारीको नाम र हस्ताक्षर विवरण बुझाएको बताए । 
सरकारले राजपालाई चुनावमा सहभागी गराउने उद्देश्यले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेको थियो । तर, जसका लागि संशोधन गरियो, त्यो दलले आयोगको सूचनालाई फेरि बेवास्ता गरेको छ । राजनीतिक दलबाट उम्मेदवार हुनेले दलको औपचारिक पत्र समेत मनोनयनसँगै पेस गर्नुपर्ने कानुनी प्रावधान छ । ऐनमा मनोनयन दर्ता भन्दा १५ दिन अगावै मनोयन प्रयोजनका लागि पदाधिकारीको नाम र हस्ताक्षर बुझाउनुपर्ने प्रावधान थियो । त्यसका लागि आयोगले चैत मसान्तसम्मको समय दिएर सूचना निकालेको थियो । आयोगले पहिलो चरणको निर्वाचनका लागि बैशाख १९ को मनोनयनको दिन भन्दा अगाडि हस्ताक्षर बुझाउन ३ दिन समय थपेको थियो । तर, त्यस अवधिमा राजपामा आवद्ध ६ मधेसवादी दलमध्ये कुनैले उक्त विवरण नबुझाएपछि कानुनी जटिलता आएको थियो ।
ऐनमा दफा १८ मा रहेको ‘१५ दिन अगावै’ भन्ने वाक्यको स्थानमा संशोधनगरी ‘आयोगले तोके अनुसार’ को प्रावधान राखियो । ऐन संशोधनपछि आयोगले हस्ताक्षर नमुना बुझाउन जेठ २७, २८ र २९ गतेको समय दिएको थियो । तर, जसलाई लक्षित गरी कानुन संशोधन र थप समय दियो, त्यही राजपाले आयोगको सूचनालाई बेवास्ता ग¥यो । किन त ? राजपाका महासचिव केशव झाले मुद्दाको सम्बोधन नभएसम्म आफूहरु चुनावमा नजाने भएकाले चुनावी प्रक्रियामा सहभागिताका लागि निकालिएको सूचनाको कुनै अर्थ नरहेको बताए । ‘हामी आन्दोलनमा गइसकेका छौं, संविधान संशोधन, स्थानीय तहको संख्या थप जस्ता राजनीतिक मुद्दाको सम्बोधनपछि मात्रै चुनावको कुरा हुन्छ,’ उनले भने, ‘राजनीतिक स्तरमा सहमतिपछि मात्रै चुनावसँग सम्बन्धित प्राविधिक पक्षमा ध्यान दिने हो ।’
अध्यक्षहरु जिल्ला जाने
राजपा अध्यक्ष मण्डलको सोमबार बसेको बैठकले घोषित आन्दोलनलाई सशक्त बनाउने निर्णय गर्दै त्यसका लागि अध्यक्षहरु जिल्ला जाने निर्णय गरेको छ । महासचिव झाले भने ‘सम्भवतः आज (मंगलबार) नै ६ जना अध्यक्षहरु तराईका विभिन्न जिल्ला पुग्नु हुनेछ । अन्य पदाधिकारीहरुलाई पनि आफ्नो गृह जिल्ला जान भनिएको छ ।’ राजपाले आन्दोलन परिचालन समिति समेत बनाउने निर्णय गरेको छ । तर, त्यसमा रहने व्यक्तिहरुको नाम टुङ्गयाउन बाँकी रहेको झाले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »