स्थानीय युवकलाई सईले कुटेको विरोधमा प्रहरी कार्यालयमा तोडफोड

प्रकाशित समय 7:11:00 PM
जनकपुर, १० असार । जनकपुरको सीमावर्ती फूलगामावासीले आफ्नै गाउँमा रहेको ईलाका प्रहरी कार्यालयमा शनिबार तोडफोड गर्नुका साथै प्रहरी विरुद्ध उग्र प्रदर्शन समेत गरेका छन् । नगराइन नगरपालिका–३ स्थित इलाका प्रहरी कार्यालय, फूलगामाका सव–ईन्सपेक्टर(सई) धर्वेन्द्र सिंहले गए राति स्थानीय एक युवकलाई निर्घात कुटपिट गरेको आरोप लगाउँदै ईप्रकामा तोडफोड गर्नुका साथै टायर बालेर उग्र प्रदर्शन गरेका हुन् ।
स्थानीय विरेन्द्र राउतका अनुसार शुक्रबार राति ईप्रका भवन अगाडिको रुखको चौतारामा सुतिरहेका १८ वर्षीय रंजीत मुखियालाई सव–ईन्सपेक्टर सिंह नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिई निर्घात कुटपिट गरेका थिए । प्रहरीको कुटाईबाट मुखिया घाइते भएका थिए । प्रहरीको कुटाईले बेहोस भएका मुखियालाई प्रहरीकै सहयोगमा जनकपुर अंचल अस्पताल भर्ना गराइएको थियो । मुखियाको उपचार अस्पतालमा अझै पनि जारी छ ।घटना सार्वजनिक हुनै बित्तिकै बिहानैदेखि स्थानीयवासीहरु ईप्रका अगाडि भेला हुन थालेका थिए । आक्रोशित स्थानीयले ईप्रकामा ढंगामुढा गर्नुका साथै ईप्रकाको मुख्य ढोका समेत भत्काएका छन् । स्थानीयवासीहरुले निर्दोष युवकलाई मरणासन्न हुने गरी कुटपिट गर्ने सई धर्वेन्द्र सिंहमाथि विभागीय कारबाही र अविलम्ब सरुवा तथा पीडित युवकलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
घटना अनियन्त्रित हुन थाले पछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक रामकिशोर साह नेतृत्वमा थप टोली पठाउनु परेको थियो । प्रनि साह नेतृत्वको टोलीले स्थानीयवासीसंग आरोपी सईमाथि कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे पछि बल्ल सई सिंहलाई बाहिर निस्किन दिइएको थियो ।
यता प्रहरी उपरीक्षक लालमणि आचार्यले रंजीत मुखियालाई प्रहरीले हातपात नगरेको स्पष्टीकरण दिएका छन् । संचारकर्मीसंगको फोन सम्पर्कमा उनले भने, ‘अत्यधिक मादक पदार्थ सेवन गरेको कारण ऊ आफै भुईमा लडेका हो । प्रहरीले उपचारमा सहयोग पो गरेको छ ।’ एसपी आचार्यले घटना छानविन गर्न प्रहरी निरीक्षक रामकिशोर साहको नेतृत्वमा छानविन समिति गठन गरिएको जानकारी दिए । छानविन समितिले दिएको प्रतिवेदन अनुसार कारबाही गरिने उनले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »