रंगेलीमा फोरम नेपालको उम्मेदबार शहीद पत्नी

प्रकाशित समय 10:41:00 AM
मोरङ, २२ जेष्ठ । संघीय समाजवादी फोरम नेपालले मधेश आन्दोलनको शहीद परिवारका सदस्यलाई उम्मेदबार बनाएको छ । रङ्गेलीको घटनाका शहीद महादेव ऋषिदेवकी पत्नी सीतादेवी ऋषिदेवलाई फोरम नेपालले स्थानीय तहको दोस्रो चुनावमा उम्मेदबार बनाएको हो ।
सुनवर्षी नगरपालिका वडा नम्बर ७ को महिला दलित सदस्यमा शहीद पत्नी सीतादेवीलाई चयन गरिएको छ । २०७२ साल माघ ७ गते मधेश आन्दोलनमा प्रहरीको गोलीले महादेव शहीद भएका थिए । मधेशी मोर्चाको विरोधको बावजूद एमाले महासचिव ईश्वर पोखरेले रङ्गेलीमा सभा गर्न खोजे पछि भएको तनावमा प्रहरीले गोली चलाउँदा तीन जना शहीद भएका थिए ।
संघीय समाजवादी फोरम नेपालले शहीद परिवारलाई सम्मान स्वरुप प्राथमिकता दिने नीति अनुसार मोरङमा शहीद पत्नी सीतादेवीलाई उम्मेदबार चयन गरेको फोरम नेपाल मोरङका स्थानीय नेता प्रकाश यादवले जानकारी दिए । यसअघि, फोरम नेपाल सिरहाले मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोकी आमालाई गाउँपालिकाको उम्मेदबार बनाउने निर्णय गरिसकेको छ । शहीद पत्नी सीतादेवीको चयनसँगै फोरम नेपाल मोरङले सुनवर्षी नगरपालिका वडा नम्बर ७ का सबै उम्मेदवारहरुको टुंगो लगाएको छ ।
सुनवर्षी नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा प्रकाश यादवलाई उम्मेदवारको रुपमा अघि सारिएको छ । अर्को महिला सदस्यमा चिन्तामणिदेवी राजवंशीलाई उठाइएको छ । अन्य दुई खुल्ला सदस्यहरुमा सुवर्ण सिंह र जमुना दासलाई उम्मेदवार बनाइएको छ । सुनवर्षी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवार बनेका यादव पार्टीको पनि वडा समितिका अध्यक्ष हुन् । वडामा उम्मेदवारहरुको टुंगो लगाइसकिएकाले आपूmहरु चुनावी अभियान र घरदैलो कार्यक्रममा होमिएको उनले बताए ।
वडाको विकासका लागि झपडतलदेखि बडंगा हुँदै भारतीय सीमासम्म कालोपत्रे सडक निर्माण गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको उनले बताए । ‘बडंगाका जनताको जीवनस्तर उकास्नका लागि कृषि प्रणालीलाई आधुनिकिकरण गर्नुपर्छ,’ यादवले भने, ‘यहाँका दलित तथा गरिब जनता आधारभूत स्वास्थ्य सेवाबाट समेत बञ्चित भएकाले अब स्वास्थ्य र शिक्षा क्षेत्रलाई मैले प्राथमिकतामा राखेको छु ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »