आँखामा आँसु ओभाइसकेको छैन उनको । आठ, सात र साढे दुई वर्षका तीन छोरी र पाँच वर्षका एक छोरा छन् । २३ फागुन ०७३ मा सप्तरीको मलेठमा मधेसी मोर्चा र प्रहरीबीचको झडपमा घाइते भई दुई दिनपछि मृत घोषित वीरेन्द्र महतोकी पत्नी रञ्जनाकुमारी माथि परिवारको जिम्मेवारी आइलागेको छ ।

मलेठमै मारिएका सञ्जन मेहताका पिता लक्ष्मण अहिले कोही नयाँ मान्छे भेट्यो कि रुन थालिहाल्छन् । उनले भने, ‘मेरो छोरोको मूल्य १० लाख रुपैयाँ हो ? छोरो त गयो, अब मैले को–सँग के माग्ने ? जिन्दगीको कुनै भर्पाइ छ ?’ ससुरा–बुहारीबीच असमझदारी सिर्जना भएपछि सरकारले निकाशा गरेको रु. १० लाख अहिलेसम्म कसैको हात परेको छैन ।
मण्डलकी श्रीमती सोनी त यस संवाददातासँग बोल्न पनि सकिनन् । दुई छोरा र दुई छोरी छन, मण्डलका । जेठा भोलाप्रसादले घरायसी जिम्मेवारीका कारण हालै पढ्दै गरेको ९ कक्षा छाडे । आफ्नो जग्गामा मण्डल परिवारलाई कटेरो बनाउन दिएका स्थानीय कपिलेश्वर यादवले भने, ‘घर बनाउन केही जग्गा र परिवारको कुनै एक सदस्यलाई जागिर दिए यो परिवारलाई ठूलो राहत हुन्थ्यो ।’
मधेस आन्दोलनको सुरूवाती चरणमा एक दशकअघि ५ माघ ०६३ पछिका दिनमा जीवन गुमाएका शहीद परिवारको पीडा पनि उस्तै छ । उनीहरूलाई दिइएको आश्वासन अहिलेसम्म पनि सम्बोधन भएको छैन । ६ वटा मधेसवादी दलको मोर्चा राष्ट्रिय जनता पार्टी (राजपा) ले दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्ने गरी लाठी जुलुसदेखि आम हड्तालसम्मका आन्दोलन घोषणा गरेदेखि यी शहीद परिवारका आँखामा जीवन गुमाएका आफन्तको अनुहार नाच्न थालेको छ । फरक यथार्थ के भने, जसले जीवन गुमाए केही मुद्दामा सहमत भए पनि आन्दोलनकारी दलसँग उनीहरूको प्रत्यक्ष सम्बन्ध थिएन ।
मलेठकै कुरा गर्दा स्नातक सकेका सञ्जन सरकारी जागिरका लागि लोकसेवाको तयारी गर्दै थिए । अर्का मृतक वीरेन्द्र महतो मलेठस्थित ससुरालीमा बस्दै आएका थिए । छोराछोरीहरूका लागि चकलेट लिन बाहिर निस्केका बेला उनी मारिए । मलेठमै मारिएका वरिष्ठ अहेव आनन्द साह पोलियो थोपा खुवाउने अभियान सकेर घर फर्कंदै थिए । साह कांग्रेसनिकट स्वास्थ्यकर्मीको जिल्लास्तरीय संगठनमा आबद्ध थिए । ५६ वर्षे पीताम्बर मण्डल ठेला चालक थिए भने इनरदेव यादव किसानी गर्थे । इनरदेव चाहिं पिता मुनरदेव यादवको मृत्युसंस्कारको निम्तो दिन घरबाहिर निस्किएका थिए । उनका पिताको मृत्यु भएको ९ दिन मात्रै भएको थियो ।

गुमाउनुको पीडा छँदैछ, आन्दोलनकारी दलहरूको बेवास्ता र व्यवहारले पनि परिवारजनको मन दुःखाएको छ । अनिशकी आमा बिल्टुन खातुनका अनुसार सरकारले दिएको रु. १० लाखबाट पनि छोराको सालिक बनाउने भनेर आन्दोलनकारी दलहरूले रु. १ लाख लिएर गए । किरियाकर्म र पैसाका लागि काठमाडौं आउजाउ गर्दा अर्को रु. १ लाख सकियो । छोराको पढाइ छुट्यो । श्रीमान्रुलाई कुनै जागिर दिए पनि घर चलाउन सजिलो हुन्थ्यो’, खातुनले भनिन, ‘अरू सबै शहीदका नाममा स्कूल छ, मन्दिर छ, गोलघर बनाएको छ । हाम्रो छोराको नाममा केही पनि छैन ।’ पाँचै जना शहीद परिवारबाट तत्कालीन मधेस आन्दोलन संघर्ष समितिले रु. १–१ लाख उठाएर लहान बजारमा सालिक बनाएको छ । विभिन्न विद्यालयको नामको अगाडि अन्य चार शहीदको नाम जोडिएको छ । रमेशको नाममा त ‘मधेसी शहीद रमेशकुमार महतो स्मृति प्रतिष्ठान’ नै छ ।
विडम्बना न विद्यालय, न प्रतिष्ठानमै सम्बन्धित परिवारको प्रतिनिधित्व छ । रमेशका भाइ बालकृष्ण भन्छन, ‘स्कूलमा तीन वर्ष क्लर्कको जागिर दिए तर पैसा नदिई निकालिदिए ।’ बुवा रवि महतो त नेताहरूको व्यवहारबाटै आजित छन् । मधेसका ठूला नेताहरू नवराजपुर गाउँपालिका–५ मझौडा गाउँस्थित उनकै घरको बाटो काटेर जान्छन् तर पस्दैनन् । ‘चुनावमा भोट माग्न त आउलान, त्यसबेला मेरो छोरोको सहादतको हिसाब माग्छु’, उनले भने । अर्का छोरा बालकृष्णलाई जागिर मात्र दिए पनि ठूलो राहत हुने आमा रानोदेवीले बताइन् । पीडित परिवारको हितमा कुनै काम नभएको परिवारजनको गुनासो छ । प्रतिष्ठानको आर्थिक हिसाब–किताब पारदर्शी नभए पनि एक करोड रुपैयाँभन्दा बढी आएको तर त्यो रकम स्मारिका प्रकाशन र डकुमेन्ट्री बनाएर सीडी वितरणमै सकियो ।

सालिक बनाउन भनेर रु. १ लाख लगे, किरियाकर्म र पैसाका लागि धाउँदा थप रु. १ लाख जति नै खर्च भयो’, उनले भने । प्रमोदकी आमा धनमादेवी सदाय आफूहरूलाई गरिब र तल्लो जातको भनेर पनि नेताहरूले बेवास्ता गरेको ठान्छिन् । भन्छिन, ‘कमजोर अवस्था छ, मुसहर समुदायबाट छौं । सानो जाति भनेर पनि हामीलाई हेलाँ गरे ।’
हरेक वर्ष माघ ५ गते नेताहरू लहानस्थित शहीदको सालिकमा जम्मा हुन्छन् । ‘बलिदानी दिवस’ मनाउँछन, भाषण गर्छन् र फर्कन्छन् । ‘माघ ५ गते नेताहरू बजारमा आउँछन, त्यहीं गएको बेला भेट हुन्छ । अरू बेला आउँदैनन’, प्रमोदका पिता बालेश्वरले भने ।
शुरूका केही वर्ष माघ ५ गतेको कार्यक्रममा शहीद परिवार आकर्षणका केन्द्र हुन्थे । कार्यक्रममा उनीहरूलाई महत्व दिइन्थ्यो । यादव भन्छन, ‘हिजोआज उनीहरूलाई कसैले वास्ता गर्दैन । आफैं आउँछन्, आफन्तका सालिकमा माला, अबिर लगाइदिन्छन् र फर्कन्छन् ।’
६ महीनापछि नै नेताहरूले वास्ता गर्न छाडे । उनले भनिन, ‘आफ्नो छोराको सालिक छ । नेताहरूले नबोलाए पनि माघ ५ गते त्यहाँ पुगेर माला लगाइदिएर फर्कन्छौं ।’ आन्दोलनको प्रसंगमा उनले भनिन् ‘अब फेरि लडाइँ–झगडा नहोस् । आन्दोलन नहोस् । शान्ति होस् ।’
मुस्तकिन त निकै आक्रोशित थिए । उनले भने, ‘शहीदको नाममा आएको सबै पैसा नेताहरूले खाएका छन् । फेरि किन आन्दोलन गर्ने ? आन्दोलनमा गरीबका छोराहरू मर्छन, नेताहरूलाई पद मिल्छ । पैसा कमाउँछ । नेताको छोरो अमेरिकामा पढ्छ, डाक्टर बन्छ । यता सोझा जनता मर्छन् । हडताल गर्न, कुटाइ खान किन जाने हामी ? अब फेरि कसैको रगत नबगोस् !’
अधिवक्ता हिम्मत सिंह पनि यतिखेर प्राप्त उपलब्धि रक्षा गर्दै अघि बढ्नु नै मधेसवादी दलको हितमा हुने बताउँछन् । ‘भुइँको टिप्न खोज्दा पोल्टाको नखसोस् भन्नेमा मधेसवादी दल सचेत हुनुपर्छ । निरन्तरको आन्दोलनले मधेस कमजोर बन्दै गएको छ’, उनले भने ।

सरकारमा जानुभयो, त्यहाँ हुँदा चाहिं तराईका मुद्दा किन ओझेल पर्छन् ? उनले थपे, ‘सरकारमा रहँदा पनि हामीले आवाज उठायौं । मैले बोल्दा मन्त्री भएर यस्तो बोल्ने ? भनेर पुत्ला जलाइयो । शरतसिंह भण्डारीले रक्षामन्त्रीबाट राजीनामा नै दिनुप¥यो । त्यसैले संविधान संशोधन भएर मधेसका माग पूरा नहुँदासम्म आन्दोलन रोकिन्न ।’
