नमुना नेपाल बनाउँदै धुर्मुस सुन्तलीले भने, सरकारले सहयोग नगरे पनि पूरा गर्छौं

प्रकाशित समय 10:40:00 AM
काठमाडौं, २२ जे
ष्ठ । धुर्मुस सुन्तली फाउण्डेसनबाट विभिन्न जिल्लामा तीनवटा नमूना बस्ती बनाएका कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले नमुना नेपालको अवधारणा अघि सारेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डसनले ‘नमुना नेपाल’ योजनाको अवधारणा सार्वजनिक गरेको हो ।
‘नमुना नेपाल’ नेपाल भित्रको नेपाल अर्थात ‘मिनी नेपाल’ हुने फाउण्डेसनका अध्यक्ष तथा चर्चित हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले बताए । उनले आफूहरूले भूकम्पले तहस नहस भएका बस्तीहरूको पुनर्निमार्ण गरेर सरकारलाई सघाएको बताए । यसअघि भूकम्पप्रभावितका लागि सिन्धुपाल्चोकको गिरानचौर र काभ्रेको पहरी बस्तीमा फाउण्डेसनले नमुना बस्ती निर्माण गरेको थियो । त्यस्तै महोत्तरीको बर्दिबासमा मुसहर समुदायका लागि पनि फाउण्डेसनले नमुना बस्ती निर्माण गरेको थियो । यो नमुना नेपाल फाउण्डेसनको चौथो महत्वाकांक्षी योजना हो । ‘सोलुखुम्बुबाट १७ सय रुपैयाँ बोकेर राजधानी आएको म र मेरो परिवारलाई पाँच अर्ब रकम निकै नै ठूलो होला तर सबैको साथ र सहयोग पाएमा यो रकम जुट्न कठिन हुँदैन’ कट्टेलले भने ।  
‘नमुना नेपाल’ बनाउनका लागि पाँच सयदेखि एक हजार रोपनी जग्गा चाहिने र पाँच अर्ब रुपैयाँ लाग्ने कट्टेलले बताए । सरकारले जग्गा मात्रै उपलब्ध गराइदियो भने नमुना नेपाल निर्माणमा धेरै सहयोग हुने भन्दै सरकारलाई जग्गा उपलब्ध गराइदिन उनले आग्रह गरे । ‘सरकारको सहयोग पाइएन भने पनि हामी आफैले पहल गरेर यो योजनालाई जसरी भएपनि पूरा गर्छौँ’ उनले भने ।
नमुना नेपालमा पचहत्तरै जिल्लाबाट छानिएका विभिन्न समुदायका परिवारलाई बसालिनेछ ।  त्यस्ता परिवार निम्न आय भएका र घर जग्गा नभएकाहरू हुनेछन् । नमुना नेपाल एउटा सिंगो नेपालको झलक दिने समावेशी बस्ती हुने कट्टेलले बताए । नेपाल आएका पर्यटकहरू एकपटक नमुना नेपाल घुम्न अवश्य जाने भन्दै यसले नेपाललाई विश्वसमुदायमा परिचित गराउने उनले बताए । नमुना नेपाल परिसरभित्र मठ मन्दिर, मस्जिद, चर्च, धरहरा, भ्यू टावर, संग्रालय तथा विविध सांस्कृतिक तथा जातीय विविध झल्किने संरचनाहरू निर्माण हुनेछ । आफूले कलाकारिताबाट राम्रै पैसा र इज्जत कमाए पनि आफूलाई देशसेवा गर्दा अझ खुशी मिल्ने भएकाले समासेवामा लागेको उनले बताए ।
कार्यक्रममा फाउण्डेसनकी उपाध्यक्ष तथा हाँस्यकलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले हामी सबै नेपाल आमाका सन्तान भएकाले नेपालको विकासमा एक ढिक्का भएर लाग्नुपर्ने बताए । ‘म त मेरी सानी छोरी पनि पछि नेपाल आमाको सेवामा लागुन भन्ने चाहन्छु’ भन्दै सबैलाई यस योजनालाई सफल बनाइदिन आग्रह गरे । कार्यक्रमा नमुना नेपाल निर्माणका लागि केही निजी संस्थाहरूले सहयोग घोषणा पनि गरेका थिए । अल्का अस्पतालले २५ लाख र मुक्तिनाथ विकास बैंकले १० लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »