मधेसका शहीद परिवार भन्छन्, भावनामा बगेर भोट हाल्दैनौं

प्रकाशित समय 7:23:00 PM

सिरहा, २६ जेष्ठ । दोस्रो चरणको स्थानीय तह निर्वाचनले प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरुलाई छपक्कै छोपेको छ। सहरदेखि गाउँसम्म चुनवाी प्रचार प्रसार फैलिँदो छ। तर मधेस आन्दोलनको क्रममा शहीद भएकाहरुको गाउँमा उम्मेदवार र दलनका नेताहरु भोट माग्न पाइला टेक्न सकेका छैनन्।
फागुन २३ गत्ते पाँच जनाको ज्यान जाने गरी भएको सप्तरीको मलेठ घटनाले स्तब्ध यो गाउँमा चुनावी चहलपहल शून्य छ। कारण उम्मेदवार र दलका नेताहरु यहाँ चुनावी प्रचारका लागि आएका छैनन्। यो गाउँमा मात्र सो घटनामा तीन जना निर्दोषले ज्यान गुमाएका थिए। मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोको गाउँ मझौरा हो। छिमेकका गाउँहरुमा चुनावी प्रचार प्रसार तुफनी गति लिएका बेला यो शहीद टोलमा भोट माग्न न उम्मेदवार आएका छन् न दलका नेताहरु नै।
सोही आन्दोलनमा शहीद प्रमोद सदायको गाउँ हो–मिर्जापुर । छिमेकी गाउँहरुमा नेताहरु चुनावी सभामार्फत प्रचार प्रसार अगाडी बडाए पनि यो मुसहर टोलमा भोट माग्न कोही पसेको छैन। गाउँमा चुनावी चर्चा छ तर नेताहरुको प्रचार प्रसार छैन। चुनावको मिति नजिकिदा शहीदको गाउँमा नेताहरुको चुनावी प्रचार प्रसार किन हुन नसकेको?  मधेस केन्द्रित दलका नेता र उम्मेदवार समेत किन शहीद गाउँ र परिवारसँग भोट माग्न किन पुग्न सकेका छैनन? नागरिकन्युजले यी जवाफ सप्तरीको राजविराज–९ मलेठ, सिरहाको सखुवानन कारकट्टी गाउँपालिका–३ मिर्जापुर र नवराजपुर गाउँपालिका–९ फुलवरिया मझौराका शहीद परिवारसँग खोतल्ने प्रयास गरेको छ। मधेस आन्दोलनमा परिवार सदस्य गुमाएकाहरु यसपालीको चुनावमा दल वा भावनामा बगेर होइन उम्मेदवारको व्यक्तित्व, इमान र उतरदायित्वको आँकलन गरेर मात्र छाप हान्ने मुडमा देखिए। धेरै पटक भावनामा बगेर निर्वाचन चिन्हमा छाप लगाएकोमा उनीहरुलाई पश्चताप रहेछ।
‘अब भावनामा बगेर मत खेर फाल्दैनौं’, उनीहरुको बुझाइ छ। ‘मत माग्न आउनेसँग पहिला म मेरा केही सवालहरुको जवाफ खोज्नेछु’ उनको सवाल छन, ‘छोरो गुमाएर मैले के पाएँ? स्थानीय समाजले के पायो?’ छोरा रमेशको स्मृतिमा गाउँमै शहीद रमेश महतो स्मृति माध्यमिक विद्यालय छ। रमेशका माइला छोरा बालकृष्ण यो विद्यालयमा कल्र्क जागिरे थिए। पछि उनलाई हटाइयो। ‘तीन वर्षको तलब सुविधा नदिएर हटाइयो’, उनी भन्छन्।
गाउँमा स्मृतीमा शहीद रमेश महतो स्मृती ट्रष्ट छ। तर रमेश परिवारबाट यो ट्रष्टमा कसैको उपस्थिति छैन। ‘छोराको स्मृतिमा सञ्चालित ट्रष्टमा कति बजेट आउँछ, कसरी खर्च हुन्छ, हामीलाई कुनै जानकारी दिइँदैन’, रबीले गुनासो गरे, ‘छोरा र बुहारी उच्च शिक्षा पढेर घरमै छन् तर उनीहरुलाई न विद्यालयमा जागरिको गुन्जाइस छ न ट्रष्टमा नै।’ ‘हामी बलिदानी दिएर कहिलेसम्म नेताहरुको जिन्दगी गुल्जार बनाइरहने? शहीद परिवार कहिलेसम्म अपहेलना सहेर अवसरबाट बञ्चित भइरहने ?’, रबीको प्रश्न छ।
छोराको बलिदानीको सिँढी चढेर धेरै अपरिचित अनुहार नेता बनेको र मन्त्री भएको तर आफ्नो परिवारले सरकारी क्षतिपूर्ति बाहेक केही नपाएको उनको भनाइ छ। ‘सरकारबाट प्राप्त दश लाखबाट नेताहरु एक लाख सापटी लए। त्यो रकम रकममध्ये ७० हजार अझै फिर्ता गरेका छैनन’, उनी भन्छन्।
‘०६३ देखि ०७२ सम्म मधेस अधिकारको नाममा आन्दोलन गरेर दर्जनौले सहादत दिए तर मधेसले के पायो?’, आक्रोश मिश्रित श्वरमाले उनले भने, ‘यसपाली भोट माग्न आउने मधेसी नेतासँग बलिदानीको हिसाबकिताब माग्छु।’ गत फागुन २३ गते मलेठमा शहीद भएका सञ्जन मेहताको पिता लक्ष्मण मधेस नेताहरुले मधेस अधिकारका नाममा भिडन्त गराएर छोरा ‘खोसेको’ बताउँछन्। ‘मधेस अधिकारको नाममा भिडन्त गराएर मधेसी नेताहरु हाम्रो परिवारको सहारा छोरा खोस्यो’, भक्कानिँदै उनले सुनाए, ‘मधेस आन्दोलनले मेरो परिवार बर्बाद बनाइदियो।’
छोरा सञ्जनको मारिएसँगै नवविहिता बुहारी घर छोडेर माइततिर लागिन्। छोरालाई सरकारले शहीद घोषणा गरेर दिएको दश लाख क्षतिपूर्तिको निर्णय ग¥यो। तर शहीद सञ्जन मेहता परिवारको त्यो चेक अहिलेसम्म जिल्ला प्रसाशन कार्यालय सिरहामै थन्केको छ।
घर छोडेर गएकी बुहारीले क्षतिपूर्ति रकममा दाबी गरेपछि जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई चेक दिएको छैन। सरकारले दिएको क्षतिपूर्ति रकमले परिवार चिरा पारिदिएको छ। चुनावी माहोलले नछोएको यो गाउँका शहीद पिता लक्ष्मण भन्छन, ‘मधेसी नेताले सधैँ ढाडस मात्र बाँढे शहीद परिवारको घाउमा मलम लगाउने काम गरेनन्। यस्तो आन्दोलनको के काम जस्ले हामी जस्ता गरिबको पीडामा थप पीडा थपिरहेको छ ?’
मधेस आन्दोलन, चुनाब र परिवारको स्थितिबारे सोधीखोजी गर्दा उनी भावुक बने। आँखाभरि आँसु पार्दै प्रश्न गरे, ‘निर्दोषको लास भजाएर कहिलेसम्म राजनीतिको दाउ लगाउने? यती धेरै मधेसी युवाको बलिदानीले मधेसी समाजमा के परिवर्तन ल्यायो ?’ भोट माग्न आउने मधेसी नेताका लागि प्रश्नको लामै लिस्ट मनभित्र राखेको उनले सुनाए । ‘मेरो छोराको राजनीतिसँग कुनै साइनो थिएन। मधेसी नेताहरुले गरेको आन्दोलनले निम्त्याएको भिडन्तले मैले काबिल छोरा गुमाउन पुगेँ। जे माग राखेर आन्दोलन गरिएको गरिएको थियो त्यो पुरा त भएन’, उनी भन्छन्।
भोट माग्न आउनेसँग निर्दोष मधेसी बलिदानीको हिसाब माग्ने उनको तयारी छ। सिरहा मिर्जापुरका शहीद प्रमोद सदायकी आमा धनमादेबी आगामी चुनाबमा मधेसी राजनीति गर्नेलाई भोट नदिने सोचमा पुगेकी छिन्। ‘छोराको बलिदानीले धेरै नेताको मुहार फेरियो तर हाम्रो दुःख उस्तै छ’, उनको बुझाइ छ, ‘यती धेरै मधेसका आमाले सहारा गुमाउँदा पनि मधेस र मधेसीले के पाए?’ अबको चुनावमा मधेसीको नाममा भोट नदिने उनले बताइन्। ‘हाम्रो दुख दूर गर्ने, खाना र छानाको बन्दोबस्त गर्दिनेलाई भोट हाल्छु’, उनले भनिन्।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »